काठमाडौं ।

भौतिक पूर्वाधार तथा यातायात मन्त्री वसन्त कुमार नेम्वाङलाई कोरोना पुष्टि भएको छ । आज गरिएको पिसिआर परिक्षणमा उनलाई कोरोना पुष्टि भएको हो ।उनले आफ्नो सम्पर्कमा रहेका सबैलाई स्वास्थ्यको ख्याल गर्न र सर्तक रहन अनुरोध गरेका छन् । उनले फेसबुकमा आफूलाई कोरोना लागेको बताएका छन् ।यस अघि सरकारका २ मन्त्रीहरुमा कोरोना संक्रमण भएको थियो । संक्रमण भएका मध्ये पर्यटन मन्त्री योगेश भट्टराई र शिक्षा मन्त्री गिरिराजमणि पोखरेल छन् । नेम्वाङ कोरोना संक्रमित तेस्रो मन्त्री हुन् ।

 

कोरोना उपचारमा सरकारले किन हात उठायो ?

काठमाडौं । मीनभवनस्थिति सिभिल (नागरिक) अस्पतालको परिसरमा एउटा सूचना टाँस गरिएको छ– यस अस्पताल कोरोना संक्रमण भई उपचाररत बिरामीहरूले मिति २०७७ कात्तिक २ गतेदेखि लागु हुने गरी सम्पूर्ण खर्च बिरामी स्वयम्ले बेहोर्नुपर्ने जानकारी गराइन्छ । सिभिल अस्पतालले आफूखुसी नै यो निर्णय गरेको होइन । उसले स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको आदेश तामेली गरेको मात्रै हो ।केही दिनअघि बसेको मन्त्रिपरिषद् बैठकले कात्तिक दुई गतेदेखि कोभिड–१९ प्रमाणित भइ विभिन्न अस्पतालमा उपचाररत बिरामीहरूको उपचार खर्च नबेहोर्ने निर्णय गरेको थियो । त्यही अनुरूप अस्पताल प्रशासनले सूचना टाँस गरेको हो ।मुलुकव्यापी लकडाउन सुरु गर्नुभन्दा अघिल्लो दिन गत चैत १० गते कोरोना संक्रमितहरूको सम्पूर्ण उपचार गर्ने सरकारले निर्णय गरेको थियो । तालुकवालामन्त्री भानुभक्त ढकालले पत्रकार सम्मेलनमार्फत् जानकारी गराएका थिए । “कुनै व्यक्तिमा कोभिड–१९ पोजेटिभ देखिए हवाईमार्ग वा स्थलमार्गबाट संक्रमितको सुरक्षितरूपमा उद्धार गरी अस्पताल पुर्‍याएर उपचार गछौँ,” सरकारको तर्फबाट आस्वस्त पारेका थिए ।कोरोना नियन्त्रण तथा रोकथाम उच्चस्तरीय समन्वय समितिको नेतृत्व गरिरहेका ईश्वर पोखरेलले पनि त्यतिबेला त्यही बनेका थिए । कोरोना सङ्क्रमितको उपचार सरकारकै दायित्व भएकाले नपन्छने र सम्भव भएसम्मको उपचारको व्यवस्था गर्ने भन्दै नआत्तिन आग्रह गरेका थिए । तिनताका मुलुकमा कोरोना संक्रमितको संख्या दुई मात्रै थियो । पहिलो संक्रमित निको भई दैनिक जीवनमा फर्किइसकेका थिए । दोस्रो संक्रमित फ्रान्सबाट आएकी युवतीलाई टेकु अस्पतालको आइसोलेसन कक्षमा राखिएको थियो ।कोरोना संक्रमितको परीक्षण, कन्ट्याक्ट ट्रेसिङ र उपचार गर्ने पूर्ववर्ती निर्णयबाट सरकार पटि हटेको छ। र, नागरिकसँग गुहार मागेको छ ।यसो गर्नु गलत रहेको मन्त्रिपरिषद्का सदस्य बताउँछन् । “कोरोनाबाट आहत भएका जनतलाई राहत महसुस गराउनुको सट्टा आफैं उपचार गर भनेर उर्दी जारी गर्नु गलत हो । कि, हिजै सरकार र नागरिकका बीचमा सहकार्य गर्नुपर्ने हुनसक्छ । हुनेले तिर्ने, नहुनेले राज्यसँग सुविधा लिने व्यवस्था गरिनेछ भन्नुपर्थ्यो । हौसिएर आफैं निर्णय गर्ने, आफैं पछि हट्दा टिप्पणी त हुन्छ नि,” कोरोना नियन्त्रण तथा रोकथाममा खटिएका कोभिड–१९  संक्रमण सङ्कट व्यवस्थापन सञ्चालन केन्द्रमा रहेका एक मन्त्री भन्छन् ।उनले सरकारको तर्फबाट चालिएको गैरजिम्मेवार कदमका रूपमा बुझ्नुपर्ने उनको तर्क छ ।तर, परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली कोरोना नियन्त्रण, रोकथाम र उपचारमा निरन्तर लागिरहेकाले नागरिकप्रतिको दायित्वबाट सरकार पन्छियो भन्ने उपयुक्त नभएको बताउँछन् ।

“सरकारको जम्माजम्मी भनाइ के हो भने, राज्य र नागरिक दुवैले आ–आफ्नो ठाउँबाट योगदान गरौं भन्ने हो । हामीमध्ये केहीले बीमा (कोरोना र स्वास्थ्यबीमा) गरेका छौं । बीमा भनेको यस्तै सङ्कटको बेलामा पनि हो । बीमाको पैसा नागरिकलाई आउने पनि होइन,” उनी भन्छन्, “देश, नागरिक सङ्कटमा परेका बेला किन बीमाबाट पैसा खर्च नगर्ने भन्ने हाम्रो कुरा हो ।”बीमाको व्यवस्थापन पनि प्रकारान्तरले सरकारकै तर्फबाट गरिएको सहयोगका रूपमा बुझ्नुपर्ने उनको भनाइ छ । कतिपय विपन्न, न्यूनवित्त भएकाहरूको बीमाको प्रिमियम पनि सरकारले नै तिरिदिने हुनाले त्यो पनि सरकारले नै दिएको सहुलियतका रूपमा बुझ्नुपर्ने उनको भनाइ छ ।“अमुकअमुक नागरिकले पाउँदैन, निःशुल्क गरिदिँदैनौं भनेर सरकारले भनेको पनि छैन । भन्नु पनि हुँदैन,” उनी भन्छन्, “मुलुकको अर्बपति गएर म त सक्दिनँ । केही उपाय छैन भन्छ भने पनि सरकारले उपचार गर्दिनँ भनेको छैन । तर, जसले सक्छ उसले पैसा तिर उपचार गर्दा के बिग्रन्छ । यो सङ्कट सबै मिलेर पार लगाउनुपर्छ ।”
सङ्कटको बेला सरकाले नागरिकको साथ खोजेको रूपमा बुझ्न उनले सबैलाई आग्रह पनि गरे ।“सरकारले बोकेको भारि बाँडफाँट गरौं । सबैले आ–आफ्नो दायित्वबोध गरौं भन्न खोजेका हौं, सङ्कटमा सबैले आफ्नो दायित्व वहन गरौं मात्रै भन्न खोजेका हौं,” उनी आफ्नो तर्कमा उभिन्छन्, “गरिब, विपन्न, अग्रपंक्तिमा रहेर कोरोना रोकथाममा जुटेकाहरू, असहाय, अपाङ्गता भएकाहरूलाई राज्यले काँधमा बोकेर हिँडेको छ ।”
ज्ञवालीले सरकार कोरोना नियन्त्रण गर्न नसक्ने तहमा पुगेको हो कि भन्ने आशंका पनि देखा परेको बताउँदै त्यो रूपमा नबुझ्न आग्रह गरे । उपत्यका बाहिर क्रमशः नियन्त्रण हुँदै गएको र उपत्यका बढी जोखिममा रहेको उनको भनाइ छ ।“अहिले हटस्पट र मुख्य चुनौती भनेकै काठमाडौं हो । काठमाडौंको सवालमा हामीले बारम्बार नागरिकहरूलाई आग्रह गरिराखेका छौं । काठमाडौंमा सतर्कतामा कमी आएको छ । विभिन्न सन्दर्भमा भीडभाड हुने गरेका छन् । नित्य पूजा नरोक्नु भनेको मन्दिरमा दर्शनार्थीकै घुइँचो लागेको छ,” उनी भन्छन्, “मच्छिन्द्रनाथको रथ तान्ने क्रममा पनि त्यस्तै भयो । यसले चुनौती थपेको छ । तथापि सरकारले परीक्षणको दायरा बढाउँदै लगेको छ । ल्याबको व्यवस्थापन गरिरहेको छ । अस्पतालको व्यवस्थापन पनि चुस्त छ । उपचार गरेरै ९२ हजार १ सय ६६ जना निको भएका होलान् । हामीले यता पनि विचार पुर्‍याउनुपर्छ ।”सरकारले हुन सक्नेजति लगानी गरिरहेको र यसलाई निरन्तरता दिने उनले बताए ।  स्रोतको कमी भएर सरकार यो तहमा नपुगेको उनको जिकिर छ । “सरकारले अहिले पनि लगानी गरिरहेको छ । अस्पताल बनाउन, आइसोलेसन वार्डहरू थप्न, स्वास्थ्यकर्मीहरूलाई प्रोत्साहन गर्न, उनीहरूको बीमाको व्यवस्थापन गर्न, चिकित्सा सामग्री ल्याउन सरकार लागिरहेकै छ । प्रयोगशाला विस्तार भइरहेका छन् । तथापि राज्यसँग पनि सीमा छ । यसर्थ नागरिकसँग पनि साझेँदारी गरौं भन्ने अभिप्रायः हो,” उनी भन्छन् ।


Your Views
Related News