काठमाडौँ, ४ कात्तिक । नवरात्रको चौथो दिन आज दशैँघर वा पूजाकोठामा नौ दुर्गामध्येकी चौथो चन्द्रघण्टा देवीको विधिपूर्वक पूजा आराधना गरिँदै छ ।प्रत्येक वर्ष आश्विन शुक्ल चतुर्थी अर्थात् दुर्गा पक्षको चौथो दिन कुष्माण्डा देवीको विधिपूर्वक पूजा आराधना गरिन्छ । नवरात्रको पहिलो दिन कात्तिक १ गते शनिबार दशैँघर वा पूजाकोठामा वैदिक विधिपूर्वक घटस्थापना गरी जौँको जमरा राखिएको थियो । त्यसै दिन घटस्थापना गरिएको स्थानमा नौ दुर्गामध्येकी पहिलो देवी शैलपुत्रीको आह्वान गरी विधिपूर्वक पूजा आराधना गरियो । दोस्रो दिन आइतबार पूजास्थलमा दोस्रो ब्रह्मचारिणी देवीलाई आह्वान गरी विधिपूर्वक पूजा आराधना गरिएको थियो भने तेस्रो दिन सोमबार चन्द्रघण्टा देवीको निष्ठाका साथ पूजा आराधना गरियो ।चौथो दिन आज कुष्माण्डा देवीको विधिपूर्वक पूजा आराधना गरिँदै छ । नवरात्रका नौ दिन घटस्थापना गरिएको स्थलमा दुर्गा सप्तशती (चण्डी), श्रीमद्देवी भागवतलगायत देवी स्तोत्र पाठसमेत गरिन्छ । नवरात्रका अवसरमा देवीको आराधना गरी पूजा गरेमा शक्ति, ऐश्वर्य र विद्या प्राप्त हुने धार्मिक विश्वास छ । यसै आधारमा वैदिक सनातन धर्मावलम्बीले प्रत्येक वर्ष आश्विन शुक्ल प्रतिपदादेखि नवमीसम्म दुर्गा देवीको विशेष आराधना गर्छन् । नौ दिनसम्म पूजा आराधना गरेको प्रसाद विजयादशमीदेखि कोजाग्रत पूर्णिमाका दिनसम्म लगाइन्छ । यसरी १५ दिनसम्म नेपालीले बडादशैँ पर्व मनाउँछन् ।

आध्यात्मिक, आधिभौतिक र आधिदैविक यी तीन तापलाई कुष्मा भनिन्छ । नवदुर्गामध्येकी चौथो देवी कुष्माण्डाले शरणमा आएका भक्तको तीनै ताप हरिदिने भएकैले यो नामाकरण भएको हो । कुष्माण्डाले सुराले भरिएका घडा तथा रगतयुक्त पात्र धारण गर्ने विभिन्न पुराणमा उल्लेख गरिएको छ ।दुर्गा पक्षसमेत भनिने दशैँको पहिलो दिन शैलपुत्री, दोस्रो दिन ब्रह्मचारिणी, तेस्रो दिन चन्द्रघण्टा, चौथो दिन कुष्माण्डा, पाँचौँ दिन स्कन्दमाता, छैटौँ दिन कात्यायनी, सातौँ दिन कालरात्रि, आठौँ दिन महागौरी र नवौँ दिन सिद्धिदात्रीको पूजा आराधना गर्ने गरिन्छ । यिनै नौवटा दुर्गाका रूपलाई नवदुर्गा पनि भनिन्छ ।नवरात्रमा देशभरका शक्तिपीठमा पूजा आराधना एवं दर्शन गर्ने भक्तजनको भीड लाग्ने गरे पनि यस वर्ष कोरोना भाइरस सङ्क्रमण फैलिरहेकाले धेरै मन्दिर बन्द छन् । भौतिक दूरी अपनाएर स्वास्थ्य सुरक्षाका विधिसहित केही मन्दिर भने खुला गरिएको छ । जहाँ भक्तजन पुग्ने गरेका छन् । कोरोनाबाट बच्न स्वास्थ्य सुरक्षाका विधि अपनाएर मात्र मठमन्दिर जाने, खानपिन गरी दशैँ, तिहारजस्ता चाडपर्व मनाउन समेत तीनै तहका सरकारले आह्वान गरेका छन् ।

READ MORE NEWS

विश्वका तीन करोड मानिसले जिते कोरोना भाइरस संक्रमणलाई

११ लाख २२ हजार कोरोना संक्रमितको मृत्यु

काठमाडौं, ४ कार्तिक । विश्वका तीन करोड बढी मानिसले कोरोना भाइरस संक्रमणलाई जितेका छन् । अहिलेसम्म विश्वमा ४ करोड ६ लाखमा कोरोना पुष्टि भएकोमा ३ करोड ३ लाख २९ हजार ७ सय जना निको भएका वर्ल्डओमिटरले जनाएको छ ।वर्ल्डओमिटका अनुसार गएको २४ घण्टामा मात्रै २ लाख २१ हजार ३ सय ६५ जना निको भएका हुन् । अहिले विश्वभर ९१ लाख ५१ हजार सक्रिय सङ्क्रमित छन् । जसमध्ये एक प्रतिशत अर्थात् ७२ हजारको अवस्था जटिल छ भने बाँकी ९० लाखको अवस्था सामान्य छ ।

११ लाख २२ हजारको भने कोरोना सङ्क्रमणका कारण ज्यान गएको छ । अहिलेसम्म सबैभन्दा धेरै संयुक्त राज्य अमेरिकामा ८४ लाख ४६ हजारमा कोरोना पुष्टि भएकोमा ५४ लाख ९३ हजार निको भएका छन् । २ लाख २५ हजारको भने ज्यान गएको छ । यस्तै ७५ लाख ९४ हजार सङ्क्रमित रहेका भारतमा ६७ लाख ३० हजारले कोरोना जितेका छन् । १ लाख १५ हजारको ज्यान गएको छ ।यसैगरी ५२ लाख ५० हजारमा कोरोना पुष्टि भएको ब्राजिलमा ४६ लाख ८१ हजार निको भएका छन् । ब्राजिलमा १ लाख ५४ हजारको ज्यान गएको छ । 

काभानीले पीएसजीविरुद्ध नखेल्ने

इंग्लिस क्लब म्यानचेस्टर युनाइटेडबाट उरुग्वेली भेट्रान फरवार्ड इडिन्सन काभानीको डेब्युको प्रतिक्षा लम्बिने भएको छ ।

युइएफए च्याम्पियन्स लिग पुर्व क्लब पेरिस सेन्ट जर्मेन (पीएसजी) विरुद्धको खेलबाट युनाइटेडबाट डेब्यु गर्ने सम्भावना रहेपनि टोलीमा नसमेटिएपछि उनको डेब्यु प्रतीक्षा लम्बिने भएको हो ।उनी युनाइटेडको टोलीमा नियमित प्रशिक्षणमा रहेपनि च्याम्पियन्स लिगको समूह चरणको पहिलो खेलको लागि फ्रान्सेली च्याम्पियन पेरिस भ्रमणको टोलीमा छैनन् । उनी अब क्लबको प्रशिक्षण स्थल क्यारिङटनमा नै प्रशिक्षणमा व्यस्त रहनेछन् ।समूह ‘एच’ मा रहेको युनाइटेडले आज मंगलबार राति पेरिसमा पीएसजीसँग प्रतिस्पर्धा गर्दैछ । खेल राति १२ः४५ बजे हुनेछ । पीएसजीका सर्वाधिक गोलकर्ता ३३ वर्षे काभानीले अर्काे साता ओल्ड ट्राफर्डमा चेल्सीविरुद्धको खेलबाट युनाइटेडबाट डेब्यु गर्ने सम्भावना रहेको छ । तर यो प्रशिक्षक ओले गनर सोल्सायरको निर्णयमा भर पर्नेछ ।

युनाइटेडले काभानीलाई समर ट्रान्सफरको डेडलाइन डेमा फ्रि एजेन्टमार्फत अनुबन्ध गर्न सफल भएको थियो । त्यसपछि उनी दुई साता अनिवार्य क्वारेन्टिनमा बस्दै केही दिन अघिदेखि मात्रै टोलीमा प्रशिक्षणमा सामेल भएका थिए ।यस्तै युनाइटेडले आफ्नो टोलीका कप्तान ह्यारी मगाएरलाई पनि टोलीमा समेटेको छैन । कप्तान मिगुएरले प्रिमियर लिगमा न्युक्यासल युनाइटेडविरुद्ध ४–१ को जित निकालेको खेलमा पहिलो रोजाईमा खेल्दै एक गोलसमेत गर्न सफल भएका थिए । टोलीको कप्तानी ब्रुनो फर्नान्डेसले गर्नेछन् ।

निजामती विधेयक पारित


Your Views
Related News