पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा ६४ प्रतिशत भौतिक प्रगति भएको छ । आर्थिक प्रगति ४७ प्रतिशत छ ।

पोखरा — निर्माणाधीन पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको उत्तरतर्फबाट आउने नहर र बर्खाको भेलले पारेको असरबारे अध्ययन गर्न आयोजनाले कार्यदल बनायो ।निर्माणाधीन पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको टर्मिनल भवन । तस्बिर : दीपक परियारगत साता गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङ र भौतिक पूर्वाधार विकासमन्त्री रामशरण बस्नेतसमक्ष अध्ययन कार्यदलले प्रतिवेदन प्रस्तुत गर्‍यो । प्रतिवेदनमा प्रायः समस्या प्रदेश सरकार मातहतको जलस्रोत तथा सिँचाइ डिभिजन कार्यालयले हल गर्नुपर्ने उल्लेख थियो ।प्रतिवेदन सुनिसकेपछि मन्त्री बस्नेत कार्यदलमा प्रदेश सरकारलाई सामेल नगरेको भन्दै कड्किए । प्रदेश सरकारको संलग्नताबिनै बनेको प्रतिवेदन मात्रै समस्याको समाधान नभएको उनले बताए । ‘समस्या परेपछि मात्रै प्रदेश सरकारलाई खोजेजस्तो भयो,’ उनले भने, ‘तीन तहको सरकार छ । एउटालाई बिर्सनेबित्तिकै समस्या समाधान हुँदैन ।’ स्थानीयको माग र धारणा बुझेर निकास निकाल्नुपर्ने उनको भनाइ थियो । बर्खामा उत्तरपट्टि ४ किलोमिटर परबाट मणिपाल, सेती नदी र काहुँखोलादेखिको नहर, पृथ्वी राजमार्ग तथा भित्री सडकको नाला र सिँचाइ नहरबाट बगेर आउने पानी एकत्रित भई विमानस्थलभित्र पस्ने कार्यदलका संयोजक एवं आयोजनाका उपप्रबन्धक कृष्णप्रसाद पौडेलले बताए । उक्त भल बाढीले विमानस्थलभित्रका संरचनामा क्षति पुर्‍याउँछ । त्यहीं पानीले विमानस्थलको धावनमार्गको पूर्वतर्फ पहिरो खसालिरहेको छ ।दुई कुलोको मुहानमा निर्मित विजयपुर खोलाको बाँधसम्मको लिंक नहर एवं गेट पूर्ण क्षमतामा सञ्चालित छैन । उक्त मुहानदेखि दक्षिणतर्फको नहर पनि पूर्ण क्षमतामा सञ्चालन भएको छैन । गेट मर्मत गरी दुई नहर पूर्ण क्षमतामा चलाउन सके विमानस्थलतर्फ आउने पानी घट्ने प्रतिवेदनमा उल्लेख छ । विजयपुरमा रहेको टास्क हाइड्रोपावरले नहरमा बढी भएको पानीको व्यवस्थापन गर्ने सर्त भए पनि कार्यान्वयन गरेको छैन ।

चाउथेको बीपी मार्गतिर नहर मिचेर स्थानीयले घर बनाएका छन् । नहर साँघुरिँदा बर्खाको भेल धान्न सक्दैन । बढी भएको पानी विमानस्थलतिरै सोझिन्छ । कुँडहर चोकदेखि विजयपुर खोलासम्म पृथ्वी राजमार्गको दायाँबायाँको नालाको क्षमता बढाउन सके बर्खामा बढी हुने पानी तर्काउन सकिने कार्यदलले सुझाएको छ । विमानस्थलको उत्तरमा टुंगिने केही नहरका शाखा, प्रशाखामा आवश्यकताभन्दा बढी पानी बग्दा जोखिम बढाएको छ । तर विमानस्थलको पश्चिमतिरका स्थानीयको खेतमा सिँचाइ गर्न लगिएको नहरमा भने पर्याप्त पानी उपलब्ध छैन ।केही नहरमा पानीको परिणाम घटाउने र केहीको पानी डाइभर्सन गर्नुपर्ने कार्यदल संयोजक पौडेलले बताए । ‘समस्या समाधान गर्न सिँचाइ डिभिजन कार्यालय, पोखरा महानगरपालिका र सडक विभागलाई विभिन्न विकल्प दिएका छौं,’ उनले भने, ‘पानीको व्यवस्थापन नहुने हो भने विमानस्थलमा क्षति पुग्छ ।’ विभिन्न नहर, नाला र बर्खाको पानी व्यवस्थापन नगर्ने हो भने पूर्वतिरको कटान बढेर धावनमार्गसम्मै आउन सक्ने आयोजनाका कन्सल्ट्यान्ट इन्जिनियर भूपेन्द्र गौचनको भनाइ छ ।विमानस्थलको जलाधार क्षेत्र ५ सय हेक्टर छ । विमानस्थल आफैंमा होचो ठाउँमा छ । पोखरामा पानी अत्यधिक पर्ने भएकाले पनि बगेर विमानस्थलतिर सोझिन्छ । प्राकृतिक खोल्साखोल्सी र नहर अतिक्रमण भएर बन्द हुँदा भएभरको पानी विमानस्थलतिर सोझिने गरेको आयोजना प्रमुख विनेश मुनकर्मी बताउँछन् । सञ्चालन भएका नहरलाई मर्मतसम्भार गरी पूर्ण क्षमतामा चलाउन सिँचाइ डिभिजन कार्यालयमा पटकपटक पत्राचार गरिएको उनले सुनाए । ‘गत वर्षको साउनमा भएको बैठकमा सिँचाइ कार्यालयले अध्ययन गरी प्रतिवेदन बनाउने निर्णय भएको थियो,’ उनले भने, ‘अहिलेसम्म कुनै रिपोर्ट प्राप्त भएको छैन । यस विषयमा उहाँहरू गम्भीर देखिनुभएन ।’ उनले मुख्यमन्त्री र भौतिक पूर्वाधार विकासमन्त्रीलाई त्यसबाहेक अन्य समस्या पनि सुनाए । विमानस्थलभित्र आयल डिपो निर्माण गर्न आयल निगमले कुनै काम अगाडि बढाएको छैन । धावनमार्गको पूर्वतर्फ निजी जग्गाधनीले रिट्ठेपानी डाँडा काट्न सुरु गरे पनि सरकारी वनतर्फ कटान सुरु भएको छैन । कोभिड–१९ का कारण भारतीय नाका पूर्ण रूपमा सञ्चालन नहुँदा बेलाबेलामा सिमेन्ट, अन्य आयातित उपकरण ल्याउन अवरोध हुने गरेको छ । रसुवागढी सीमा नाकामा दुई कन्टेनर सामान ७ महिनादेखि रोकिएको छ । थप जग्गा अधिग्रहण गर्न चैत १० मा सूचना प्रकाशन भए पनि मुआब्जाका लागि स्थानीयको पर्याप्त निवेदन परेको छैन । राष्ट्रिय गौरवको आयोजना भएकाले यसअघि समस्या पहिचान गरेर सीधै प्रधानमन्त्री कार्यालयमा पठाउने गरेको उनले बताए । ‘प्रदेश सरकारको पनि भूमिका हुनुपर्ने कुरालाई हामीले आत्मसात् गरिसकेका छौं,’ उनले भने, ‘अब यहाँ आइपर्ने समस्या प्रदेश सरकारलाई पनि जानकारी गराउँछौं ।’ समस्या समाधानमा सहयोग पुर्‍याउने मुख्यमन्त्री गुरुङको भनाइ छ । ‘संघीय सरकारको बजेट भए पनि हाम्रो राजधानीमा बनिरहेको छ । बेवास्ता गर्दैनौं,’ उनले भने ।विमानस्थलमा हालसम्म ६४ प्रतिशत भौतिक प्रगति भएको छ । आर्थिक प्रगति ४७ प्रतिशत छ । रन वे, ट्याक्सी वे, आइसोलेटेड पार्किङ, ह्यांगर एप्रोन, फ्लड लाइट र ट्रान्सफर्मर बक्स जडानका काम सकिएका छन् । टर्मिनल, एटीसी टावर, ह्यांगरलगायत १४ भवनका संरचना ठडिएका छन् । सजावट, फिनिसिङ र विद्युतीकरण बाँकी छ । विमानस्थलमा हाल १ सय ६५ चिनियाँ र एक सय नेपाली कामदार कार्यरत छन् ।

गाउँ छाड्नेवित्तिकै वडाध्यक्षहरूलाई भ्रमण भत्ता


Your Views
Related News