अशोक विनायकको जात्रा
राजा लक्ष्मीनरसिंह मल्लले मरु सत्तल बनाउनु अघि अशोक वृक्षमुनि गणेश स्थापना गरेकाले यो गणेशको नाम अशोक विनायक हुन गएको हो भनिन्छ । अशोक विनायकलाई मरु गणेश किन भनियो त ? भन्ने सन्दर्भमा मन्दिर निमार्ण गरी सकेपछि गजुर हाल्न लाग्दा त्यस कामदारलाई सपनामा गणेशले गजुर नहाल्नु भन्नुभएका रहेछन् तर त्यस कामदारले अरू कामदारहरूलाई सपनामको कुरा सुनाए तापनि गजुर हालेकाले उसको त्यसै दिन मृत्यु भएको र रातभरमा गजुर भत्केर मन्दिरमा ह्वांग प्वाल परेको थियो र त्यसरी गजुर भत्केकोले पुनः अर्को गजुर राख्न कामदारहरू डराई गजुर नराखेकाले गजुर नभएको गणेश भनी मरु गणेश भनिएको हो भने मरु टोलका गणेश भएकाले पनि मरु गणेश भनिएको हो भनिन्छ ।राजा लक्ष्मीनरसिंह मल्लको आज्ञा मुताविक तत्कालीन तान्त्रिक जामनः गुभाजुले बौद्ध तान्त्रिक पद्धतिअनुसार देवन्यास गरेर गणेशको जात्रा चलाएका हुन भनिन्छ । नेपाल सम्वत ९७१ मा गणेशको मूर्ति बनाइएको कुरा त्यहाँ स्थित शिलापत्रमा उल्लेख गरिएको छ । यो मूर्ति धर्मनारायण मानन्धरबाट बनाउन लगाइएको भनेर पनि उक्त शिलापत्रमा उल्लेख गरिएको पाइन्छ । राजाका अत्यन्तै इमानदार कर्मचारी धर्मनारायण मानन्धरलाई आज्ञा दिएकाले नै धर्मनारायणले मूर्ति बनाउन लगाएको हो भन्ने मान्यता रही आएको छ ।

आश्विन शुक्ल नवमीदेखि द्वादशीसम्म अन्नपूर्ण देवीको जात्रा चलाउने क्रममा ज्यापु गुथियारले नवमीकै दिन मध्यरात्रिमा देवीलाई राँगाको बली दिन्छन्

एउटा आख्यानअनुसार राजा लक्ष्मीनरसिंहका अत्यन्तै प्रिय कर्मचारी धर्मनारायण मानन्धर इमानदारी र कर्तव्य निष्ठाले गर्दा राजाले साह्रै नै मन पराउँथे । राजाले जुनसुकै काम अह्राए पनि धर्मनारायणले इमानदारीपूर्वक पूरा गर्दथे । राजाले धर्मनारायणलाई मन पराएको रानीलाई पटक्कै मन पर्दैनथ्यो । तर, रानीले राजाको सामु केही बोल्न सक्दैनथ्यो । एक दिन रानीलाई साथै लिएर राजाले धर्मनारायणको कार्यकक्षमा कामको निरीक्षण गर्न गए । राजा रानी जसै धर्मनारायणको कार्यकक्षमा पुग्छन् त धर्मनारायणलाई अशोक विनायकको रूपमा देख्छन् ।राजारानी आश्चर्य चकित हुँदै धर्मनारायणलाई गणेशको अवतार भएको ज्ञान भए पछि रानीले पनि धर्मनारायणलाई श्रद्धा गर्न थालिन् । राजा लक्ष्मीनरसिंहकै पालादेखि राजकीय विनायका रूपमा रही आएका अशोक विनायकलाई शाहवंशीय राजाहरूले अत्यन्तै श्रद्धाभक्तिपूर्वक मान्दै आएको देखिन्छ । शाह वंशीय राजाहरूले आफना पुत्र वा पुत्रीको अन्नप्रासनमा, व्रतबन्धमा, शुभविवाहमा र राज्यारोहणको बेलामा र राज्याभिषेक जस्ता महŒवपूर्ण महान शुभकार्यहरूमा सर्वप्रथम अशोक विनायककै पूजा अर्चना गरिन्छ । यसरी राजखलकले पूजा आजा गरिँदै आएका अशोक विनायकलाई राज गणेशको रूपमा पनि मान्दै आएको पाइन्छ ।अशोक विनायकको जात्राको शुभारम्भ गर्न प्रत्येक वर्ष फूलपातीको दिनमा गणेशको मूर्तिलाई सफा सुग्घर पारिन्छ । स्मरण रहोस् नेवार समुदायले फूलपाती मान्दैनन्, फूलपाती भिœयाउने चलन पनि छैन । पृथ्वीनारायणले नेपाल जितेपछि गोरखादेखि फूलपाती ल्याउन लगाई फूलापाती भिœयाउने चलन चलाएका हुन ।अष्टमीका दिन बेलुका नायखिं बाजा बजाएर थकालीलाई ल्याएपछि देवघरमै गणेशलाई खटमा राखेर थकालीले पूजा गर्छन् । थकालीले अम्बा, केरा, मुला, फूलको मालासहितले पूजा गरेर गणेशलाई तीनवटा बोका बलि दिएर खट जात्रा सुरु गर्छन् । गणेशको खट विभिन्न टोलमा परिक्रमा गराइन्छ । भक्तजनहरूले आफ्नो घरअगाडि नै आई पुगेका गणेशलाई श्रद्धा भक्तिका साथ पूजा गर्दछन् । यसरी अशोक विनायकको खट जात्रा गर्ने क्रममा श्री कुमारीको रथयात्रा गरिँदा कुमारीको रथ तान्ने बाटो माथिल्लो टोल असन र तल्लो टोल लगनसम्म खट लगिन्छ र भक्तजनहरूबाट पूजा ग्रहण गरिन्छ ।सोही दिन अर्थात् अष्टमीको रात्रिमा ३२ थरी अन्नहोम गरेर गणेशलाई राँगाको बलि दिइन्छ । नवमीका दिन अशोक विनायकलाई भक्तजनहरूले ठूलो संख्यामा भिड लागेर पूजा गर्दछन् । भक्तजनहरूले यो दिन विनायकलाई जाँड, रक्सी, समेबजी राखेर अन्डाको बलि दिएर पनि पूजा गर्दछ भने कसैले कुखुराको, कसैले बोकाको बलि दिएर पनि पूजा गर्दछन् । यही दिन बिहानैदेखि विनायकलाई खटमा राखी जात्रा गरेर यट्खा, कंकेश्वरी, तहबिल थकालीको घरमा धिमे, नायखिं बाजा बजाएर पूजा थाप्न जाने गरिन्छ साथै गुथियारका चेलीबेटीका घर घरमा गएर पनि पूजा थाप्ने चलन छ । त्यसपछि साँझ अशोक विनायकको खट राजदरबारमा दरबारिया पूजा गराउने चलन थियो भने हाल राष्ट्रपति निवासमा लैजाने गरिन्छ ।

अन्नपूर्ण देवीको जात्रा

हरेक वर्ष आश्विन शुक्ल नवमीदेखि द्वादशीसम्म असनको प्रसिद्ध अन्नपूर्ण देवीको जात्रा गरिन्छ । अन्नपूर्ण देवीलाई हिन्दूहरूले महाकाली, महालक्ष्मी र महासरस्वतीको प्रतीकको रूपमा मान्दै आएका छन् । बौद्धमार्गी नेवारहरूले भने अन्नपूर्णै देवीलाई बसुन्धरा, योगाम्वर, ज्ञानेश्वरी, महालक्ष्मी, अजिमा पिठ र महामयुरी देवीको रूपमा मान्दै आएका छन् । ने.सं. १०४४ अर्थात् वि. सं. १९८१ को शिलापत्रमा अन्नपूर्ण देवीलाई असंभलु अजिमा भनी उल्लेख गरिएको पाइन्छ ।अन्नपूर्ण देवी साक्षात् महालक्ष्मीका रूप हुन् । श्रीरूपी महालक्ष्मी अन्नपूर्ण देवीलाई अष्टलक्ष्मी स्वरूप, धान्य लक्ष्मी, धन लक्ष्मी, धैर्य लक्ष्मी, विद्या लक्ष्मी, जय लक्ष्मी, वीर्य लक्ष्मी, गज लक्ष्मी र सौभाग्य लक्ष्मीको रूपमा पनि पुजिन्छ । प्यागोडा शैलीको तीन तल्ले पित्तलको कलात्मक मन्दिरभित्र विराजमान भइरहेकी श्री अन्नपूर्ण देवीका आठ हात छन् । दाहिने चार हातमा खड्ग, बज्र, वरद मुद्रा र कचौरा छन् भने देब्रे हातमा बिन्दु मुद्रा, जपमाला, घण्टा र कलश समाती कमलको फूलको आसनमा बसिरहेकी र नर मुण्डको माला पहिरिएको देखाइएको छ । यस्तो चित्र मन्दिरको टुँडालमा कुँदिएको देखिन्छ ।

नेपालका नेवारहरूले दसैंलाई मोहनी नखः भनी मनाउँदै देवीदेवताका जात्रा पनि गर्दै आएका छन्

असनमा पहिला जंगल थियो । एकपटक एउटी घाँसी महिलाले नागार्जुन डाँडामुनि घाँस काट्दै डोकोमा राख्दै थिइन्, अन्नपूर्ण देवी नागरूपी भई उक्त घाँसको डोकोमा पस्नुभएछ । घाँसीले घाँस काट्न सकेपछि डोकोभरी घाँस राखेर बाक्दै आउँदा थकाइ लागेर असनमा अशोक वृक्षमुनि आराम गरिन् । पछि घाँसीले डोको उठाउन खोज्दा डोको त हलचल नै भएन । तान्त्रिकलाई देखाउँदा माता अन्नपूर्ण महालक्ष्मी नागको रूप लिई कलशमा सिद्ध भएकाले यस्तो भएको हो भनेपछि अन्नपूर्ण देवीलाई त्यही विराजमान गराइएको हो भन्ने भनाइ पाइन्छ ।यसरी अन्नपूर्ण देवी नागको रूप लिई त्यही सिद्ध भएकीले नाग अंकित कलश स्थापना गरिएको हो भनिन्छ, जुन यथावत् रही आएको छ । पछि चाँदीको मोलम्माले कलशलाई ढाकेर राम्रो बनाइएको हो भनिन्छ । त्यस कलशभित्र चामल, गहुँ, मकै, दुध, समेबजी, हाँसको अण्डा भर्ने चलन छ । कलश जसले पनि भर्नु हुन्छ । यसरी कलश भरेमा अन्नले दुःख नहुने, भोको पेट बस्नु नपर्ने, शुभलाभ हुने र मनको इच्छा पूरा हुने जन विश्वास छ ।आश्विन शुक्ल नवमीदेखि द्वादशीसम्म अन्नपूर्ण देवीको जात्रा चलाउने क्रममा ज्यापु गुठियारहरूले नवमीकै दिनमध्ये रात्रिमा देवीलाई एउटा राँगो बलि दिइन्छ । देवीलाई बलि दिएको हेर्न हुँदैन भनी देवीको मन्दिर जाने सबै बाटो बन्द गरिएको हुन्छ । साथै, पाल टाँगेर कसैले नदेख्ने गरी बलि दिइन्छ । अन्नपूर्ण देवीलाई दसैंंको समयमा भक्तजनहरूले व्यापक रूपमा पूजा गर्र्दै हाँस, बोका, हाँसको अण्डा मात्र भोग दिने गर्छन्, कुखुराको अण्डा र कुखुराको बलि दिइँदैन ।अन्नपूर्ण देवीको विशेष खट जात्रा आश्विन शुक्ल एकादशी र द्वादशी दुई दिन भव्य रूपमा गरिन्छ । अन्नपूर्ण देवीको खट ठूलो भएकाले ८–१० जना मानिसहरूले बोक्नुपर्ने हुन्छ । एकादशीको दिनमा बेलुकीतिर असनमा राखिएको देवीको मूर्तिलाई खटमा राखी न्हयःखा, त्यौड, ठँहिटी, कमलाक्षी, असन हँुदै बालकुमारी सम्म खट जात्रा गरिन्छ । बालकुमारी अन्नपूर्ण देवीको माइतीघर हो भनिन्छ ।त्यसपछि फेरि असन हुँदै भोटाहिटी स्थित देवीको घरअगाडि खट बिसाइन्छ । रातभर त्यही राखिन्छ । भोलिपल्ट पुनः अन्नपूर्णको खट जात्रा गर्ने क्रममा असन, बालकुमारी, इन्द्रचोक, न्युरोड, खिचापोखरी, ओमबहाल, लगन, ब्रम्हटोल आदि स्थानमा जात्रा गर्दै काठमागडौं गणेशस्थान, प्याफल, दमाई टोल, टेंगल, बांगेमुढा, ज्याठा, ठमेल, कमलाछी हुँदै असन भोटाहिटी देवघर देवीको घरमा फर्काइन्छ । यसरी सबै ठाउँमा जात्रा गर्दै पूजा गराउँदै आएपछि गुठियार सबैले देवीको राति पूजा गर्छन् र पूजा सकेपछि देवीको मूर्तिलाई खटबाट निकालेर साँचोले तानेर देवीलाई देवीकै घरको भण्डारमा लगेर राख्छन् र जात्रा विसर्जन गर्छन् ।

 


Your Views
Related News