कोरोनाभाइरस संक्रमण महामारीका कारण पर्यटन क्षेत्र थलिएको सात महीनापछि १ कात्तिकदेखि पदयात्रा र पर्वतारोहण खुला गरिएको छ। सरकारले २९ भदौमा गरेको निर्णय अनुसार पर्वतीय र पदयात्रा पर्यटनको लागि मात्रै पर्यटकलाई नेपाल आउन खुला गरिएको हो। तर, पर्यटन व्यवसायीहरू पर्यटक ल्याउनै समस्या देखिएको बताउँछन्। विदेशी पर्यटक नेपाल आउँदा पालना गर्नुपर्ने सरकारी मापदण्ड नै व्यावहारिक नभएकाले पर्यटक बोलाउन समस्या भएको उनीहरूको गुनासो छ। सरकारले ‘पर्वतारोहण तथा पदयात्रामा नेपाल आउँदा पालना गर्नुपर्ने शर्त सम्बन्धी मापदण्ड २०७७’ जारी गरेको छ। यो मापदण्डमा पर्यटक आएपछि एक साता होटलमा क्वारेन्टिन अनिवार्य बस्नुपर्ने, कोरोना नेगेटिभ भएको ७२ घण्टा अगाडिको पीसीआर रिपोर्ट पेश गर्नुपर्ने प्रावधान छ। साथै, नेपाल आउन भीसा वा पूर्वस्वीकृतिको कागजात र प्रतिव्यक्ति पाँच हजार अमेरिकी डलर (करीब रू.६ लाख) को बीमा हुनुपर्ने पनि अनिवार्य गरिएको छ।”सरकारले तोकेको मापदण्डमा ७२ घण्टा अगाडिको पीसीआर रिपोर्ट लिएर आए पनि फेरि सात दिन होटल क्वारेन्टिनमा बस्नुपर्ने मापदण्ड अव्यावहारिक छ। पदयात्रा र पर्वतारोहण खोल्ने बित्तिकै यो कोरोना–कालमा पर्यटक ह्वारह्वारी आइहाल्ने अवस्था नभएकाले आउने जतिलाई सहजीकरण गर्दैै जानुपर्छ।” – राजेन्द्रप्रसाद सापकोटा,  पर्यटन व्यवसायी

सरकारले तोकेको मापदण्डमा ७२ घण्टा अगाडिको पीसीआर रिपोर्ट लिएर आए पनि फेरि सात दिन होटल क्वारेन्टिनमा बस्नुपर्ने मापदण्ड नै अव्यावहारिक भएको पर्यटन व्यवसायी राजेन्द्रप्रसाद सापकोटा बताउँछन्। उनी भन्छन्, “पर्यटकले एक–दुई दिन अघि नै स्वाब दिएका हुन्छन्, ७२ घण्टा अगाडिको पीसीआर रिपोर्ट लिएर नेपाल आइपुग्दा ४ देखि ५ दिन भइसक्ने हुँदा त्यो पर्यटकलाई तीन दिन मात्रै क्वारेन्टिनमा बस्नुपर्ने व्यवस्था गर्नुपर्छ।” पर्यटक आएपछि तीन दिनभित्रै फेरि पीसीआर परीक्षण गरेर पर्यटकीय गतिविधिमा पठाउनुपर्ने व्यवसायीहरूको माग छ। पर्यटकका लागि नेपाल खुला भएको सन्देश दिंदै आगमन बढाउने गरी सहजीकरण गर्नुपर्ने भएकाले तीन दिन मात्रै होटल क्वारेन्टिनमा बस्ने व्यवस्था मिलाउन सरकारसँग आग्रह गरिएको सापकोटा बताउँछन्।उनी भन्छन्, “पदयात्रा र पर्वतारोहण खोल्ने बित्तिकै यो कोरोना–कालमा पर्यटक ह्वारह्वारी आइहाल्ने अवस्था नभएकाले आउने जतिलाई सहजीकरण गर्दैै जानुपर्छ। जसले गर्दा सकारात्मक सन्देश प्रवाह हुन्छ र पर्यटक आगमन पनि बढ्दै जान्छ।”

हिमाली क्षेत्रको पदयात्रा ।
सात महीनादेखि पर्यटक नआएर पर्यटन क्षेत्र ठप्प भएको यो बेला अबको दुई–तीन महीनामा १० हजार पर्यटक मात्रै आए पनि कम्तिमा पाँच हजार मजदूरले काम पाउने पर्यटन व्यवसायीहरूको आकलन छ। त्यति संख्यामा पर्यटक आए औसत १२ दिनको बसाइले पनि होटलको कम्तिमा ६० हजार कोठा उपयोग हुन्छन्। त्यसैले पर्यटन चलायमान बनाउँदै आर्थिक गतिविधि बढाउन पर्यटकलाई एक साता होटल क्वारेन्टिनमा राख्नुपर्ने समय घटाउनुपर्ने पर्यटन व्यवसायी सापकोटाको तर्क छ।

औसत बसाइ नै सात दिन

नेपाल एशोसिसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) का अध्यक्ष अच्यूत गुरागाईंका अनुसार, एशियाली पर्यटकको नेपाल बसाइ औसतमा सात दिनको हुन्छ। तर, मापदण्ड अनुसार सात दिन नै होटल क्वारेन्टिनमा बस्नुपर्ने व्यवस्था स्वतः अव्यावहारिक भएकाले तत्काल परिमार्जन गर्न सरकारसँग आग्रह गरिएको उनी बताउँछन्। गुरागाईंका अनुसार, सरकारले क्वारेन्टिनमा बस्नु नपर्ने, पीसीआर रिपार्ट लिएर आउनेको विमानस्थलमा पुनः परीक्षण गरे पुग्ने, अनअराइभल भीसा सहजीकरण गर्नेसहितको विषयलाई सम्बोधन गर्न सकारात्मक रहेको बताएको छ। तर, अहिलेसम्म औपचारिक निर्णय नआउँदा व्यवसायीहरूलाई पर्यटक बोलाउन असहज भएको उनी बताउँछन्। “एशियाली पर्यटकको नेपाल बसाइ औसतमा सात दिनको हुन्छ। तर, मापदण्ड अनुसार सात दिन नै होटल क्वारेन्टिनमा बस्नुपर्ने व्यवस्था स्वतः अव्यावहारिक भएकाले तत्काल परिमार्जन गर्न सरकारसँग आग्रह गरेका छौं।” – अच्यूत गुरागाईं, अध्यक्ष, नेपाल एशोसिसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) ट्रेकिङ एजेन्सिज एशोसिएसन अफ नेपाल (टान) का पूर्व अध्यक्ष नवराज दाहाल पनि पर्यटकले पीसीआर रिपोर्ट लिएर आइसकेपछि सात दिनसम्म होटल क्वारेन्टिनमा राख्नुको औचित्य नै नहुने बताउँछन्। पर्यटकहरू होटलमा बस्न नआउने बताउँदै उनी भन्छन्, “पर्वतारोहण र पदयात्रा एकान्तमा हुने पर्यटकीय गतिविधि हो, यति भईकन पनि स्वास्थ्य मापदण्ड चाहिं पालना गराउँदै पर्यटक आउन चाहने गरी यसलाई व्यावहारिक बनाउनुपर्छ।”सरकारले पर्यटकीय गतिविधि खुलाएको घोषणा गर्ने तर नेपाल आउन निरुत्साहित गर्ने किसिमका मापदण्ड र नीतिले विरोधाभास भएको दाहालको टिप्पणी छ। पदयात्रा र हिमाली पर्यटन खुला गरिए पनि सरकारी मापदण्डकै कारण उत्साह मान्ने ठाउँ नरहेको ट्रेकिङ व्यवसायीहरू बताउँछन्। टानका अध्यक्ष खुम सुवेदी पर्यटकीय गतिविधि खुला भएपछि पर्यटकबाट सोधपुछ बढे पनि मापदण्ड व्यावहारिक नहुँदा भएको बुकिङ पनि फिर्ता लिने अवस्थामा पर्यटक रहेको बताउँछन्। “अहिलेको झन्झटिला प्रावधान परिमार्जन गरेर विमानस्थलमा नै पर्यटकको स्वाब संकलन गरी पीसीआर परीक्षण गर्ने र दुई घण्टाभित्रै रिपोर्ट दिने व्यवस्था मिलाउन सकिन्छ”, सुवेदी भन्छन्, “हामीले यस सम्बन्धी माग सरकारसामु गरेका छौं।”विभिन्न मुलुकमा आधा घण्टाभित्रै पीसीआर परीक्षणको रिपोर्ट आउने व्यवस्था भइसकेकाले सरकारले नेपालमा पनि पर्यटन क्षेत्रलाई चलायमान बनाउन सहजीकरण गर्दै जानुपर्ने सुवेदी बताउँछन्।

सगरमाथा आरोहण गर्दै आरोही ।
होटल संघ नेपाल (हान) का महासचिव साजन शाक्य पनि पीसीआरको नेगेटिभ रिपोर्ट लिएर आएका पर्यटकलाई होटलमा राखिरहनुभन्दा पर्यटकीय गतिविधिमा नै पठाउनुपर्ने बताउँछन्। उनी भन्छन्, “सरकारले भीडभाड नभएको क्षेत्रमा जान दिने गरी मात्रै नेपाल आउन खुला गरेको हो, त्यसैले सोही अनुसार तयारी गरेर आउने पर्यटकलाई एक सातासम्म होटलमा रोकेर राख्नुको अर्थ हुँदैन।” उनी ट्राभल र टूरसहितको पर्यटकलाई पनि बीमा शुल्क र प्याकेजमा सहजीकरण गर्न सके सकारात्मक सन्देश दिन सकिने बताउँछन्।

सिफारिश विनाका पर्यटकलाई फिर्ता पठाइने

सरकारले पदयात्रा र पर्वतीय पर्यटनको लागि मात्रै नेपाल आउन खुला गरेकाले त्यसबाहेकका पर्यटक आउन पाउँदैनन्। अन्य क्षेत्रका पर्यटक, कामदार, श्रमिक तथा अन्य प्रयोजनका लागि आउने विदेशी नागरिकले नेपाल आउनुको उद्देश्यबारे सम्बन्धित सरकारी निकायको सिफारिश अनिवार्य पेश गर्नुपर्ने व्यवस्था छ। अन्यथा सिफारिश नलिई आउनेलाई विमानस्थलबाटै फिर्ता पठाइने अध्यागमन विभागका महानिर्देशक रमेशकुमार केसी बताउँछन्। उनले भने “सरकारले स्वीकृति दिएका बाहेक अन्य क्षेत्रका पर्यटक आउन पाउँदैनन्, अनुमति नलिई आएका र सम्बन्धित क्षेत्रको सिफारिश नभएका पर्यटकलाई विमानस्थलबाटै फिर्ता पठाइनेछ।” सिफारिश आएका, पर्यटन मन्त्रालय र पर्यटन बोर्डले सिफारिश गरेका पर्यटकलाई मात्रै आउन दिने भनिएकोले पर्यटन व्यवसायीले त्यसै अनुसार समन्वय गर्नुपर्ने केसी बताउँछन्। “सरकारले स्वीकृति दिएका बाहेक अन्य क्षेत्रका पर्यटक आउन पाउँदैनन्। अनुमति नलिई आएका र सम्बन्धित क्षेत्रको सिफारिश नभएका पर्यटकलाई विमानस्थलबाटै फिर्ता पठाइनेछ।” – रमेशकुमार केसी, महानिर्देशक, अध्यागमन विभाग
अध्यागमन विभागका अनुसार, १ कात्तिकबाट नेपाल आउन अनुमति दिएपछि ३ कात्तिकसम्म दुई वटा पर्वतारोहण टोलीका १३ जना पर्यटक आएका छन्। पदयात्राका लागि पनि चार–पाँच वटा एजेन्सीको सिफारिश आएको छ।

माग सम्बोधन गर्न समन्वय गर्दै मन्त्रालय

पर्वतारोहण तथा पदयात्रामा आउने पर्यटकले पालना गर्नुपर्ने मापदण्ड संशोधन गर्न व्यवसायीले माग गरेपछि पर्यटन मन्त्रालयले त्यसका लागि पहल गरिरहेको छ। मन्त्रालयका प्रवक्ता कमलप्रसाद भट्टराईले मापदण्ड संशोधनमा सरकारले नै निर्णय गर्नुपर्ने र त्यसका लागि मन्त्रालयले समन्वय गरिरहेको बताए।प्रवक्ता भट्टराई तत्कालको अवस्थामा भने स्वास्थ्य मापदण्ड पालना गरेर पर्यटक भित्र्याउने कार्यमा मन्त्रालयले सहजीकरणको प्रयास गरिरहेको बताउँछन्। पर्यटन बोर्डका पूर्व सीईओ दीपकराज जोशी पनि हिमाली क्षेत्रको पर्यटन एकान्तमा हुने गतिविधि भएकोले पीसीआरको नेगेटिभ रिपोर्ट लिएर आउने पर्यटकलाई काठमाडौंमा रोकिरहन जरुरी नहुने बताउँछन्। “बरु पर्यटक काठमाडौं आउने बित्तिकै कोरोना परीक्षण गर्ने र पर्यटकीय गतिविधिमा जाने व्यवस्थामा सहजीकरण गर्नुपर्छ”, उनी भन्छन्।

 

 


Your Views
Related News