काठमाडौ । कोरोना संक्रमणका कारण आज बिराटनगरमा मात्र एकै दिन सात जनाको मृत्यु भएको छ । आइतबार बेलुकादेखि सोमबार बिहानसम्मको अवधीमा बिराटनगरका पाँच वटा अस्पतालमा उपचाररत सात जना कोरोना संक्रमितको मृत्यु भएको हो ।

कोशी अस्पताल कोभिड–१९ उपचार केन्द्रमा तीन तथा न्युरो अस्पतालको कोभिड १९ अस्पताल, विराट नर्सिङहोम, नोबेल र विराट मेडिकल कलेजको आइसोलेसनमा एक–एकजना कोरोना संक्रमितको मृत्यु भएको छ । मृतकमध्ये पाँच महिला र दुई पुरुष छन् ।

READ

मोरङ कटहरी गाउँपालिका–२ आदर्श टोलकी २१ वर्षीया युवतीको बिहान ५ः३० बजेतिर कोशी कोभिड उपचार केन्द्रमा मृत्यु भएको छ । केन्द्रका व्यवस्थापक ज्ञानबहादुर बस्नेतका अनुसार पीसीआर परीक्षण गराउँदा आइतबार रिपोर्ट पोजेटिभ आएकी उनलाई त्यही दिन उपचारका लागि भर्ना गरिएको थियो ।

विराटनगर महानगरपालिका–१२ की ६४ वर्षीया वृद्धाको कोशीमै बिहान ४ः४५ बजेतिर मृत्यु भएको छ । उनलाई सोमबार उपचारका लागि भर्ना गरिएको थियो ।

सुनसरीको इटहरी उपमहानगरपालिका–५ का ३८ वर्षीय पुरुषको सोमबार साँझ ६ः३० बजेतिर कोशी कोभिड अस्पतालमा मृत्यु भएको छ । श्वासप्रश्वासमा समस्या भएपछि उनलाई सोमबार दिउँसो कोभिड अस्पताल भर्ना गरिएको थियो ।

यसैगरी विराट नर्सिङ होममा मोरङको रंगेलीका वृद्धको मृत्यु भएको छ । रंगेली नगरपालिका–३ का ८५ वर्षीय वृद्धको उपचारका क्रममा मृत्यु भएको हो । असोज २८ गते पीसीआर परीक्षण गराउँदा उनको रिपोर्ट पोजेटिभ आएको थियो । उनको सोमबार राति १२ बजेतिर मृत्यु भएको अस्पतालले जनाएको छ ।

न्युरो अस्पतालमा उपचाररत एक वृद्धाको मंगलबार बिहान मृत्यु भएको छ । विराटनगर महानगरपालिका–१० की ६४ वर्षीया वृद्धाको बिहान ५ बजे मृत्यु भएको अस्पतालले जनाएको छ । असोज १५ गते कोरोना पुष्टि भएकी उनलाई असोज २४ गते न्युुरोको कोभिड अस्पतालमा भर्ना गरिएको थियो ।

यसैगरी नोबेल मेडिकल कलेजमा विराटनगर महानगरपालिका–७ की ६९ वर्षीया वृद्धा महिलाको मृत्यु भएको छ । असोज २६ गते कोरोना पोजेटिभ देखिएकी महिलालाई शनिबार अस्पताल भर्ना गरिएको थियो । उपचारका क्रममा आज बिहान ८ बजेतिर उनको ज्यान गएको अस्पताल प्रबन्धक नारायण दाहालले जानकारी दिए ।

यस्तै झापा विर्तामोड–४ की ७६ वर्षीया संक्रमित वृद्ध महिलाको मोरङको बूढीगंगा गाउँपालिकामा रहेको विराट शिक्षण अस्पतालको आइसोलेसनमा मृत्यु भएको छ । अस्पतालको आइसोलेसन इन्चार्ज सुनिल देवका अनुसार मंगलबार बिहान करिब साढे ८ बजे उनको मृत्यु भएको हो । कोरोना पुष्टि भएपछि वृद्धालाई उपचारका लागि असोज ३० गते अस्पतालमा भर्ना गरिएको थियो ।

यता बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा एक जनाको मृत्यु भएको छ । इटहरी सुनसरीका ५६ वर्षीय पुरुषको मृत्यु भएको प्रतिष्ठानका सहप्रवक्ता डाक्टर आशिष श्रेष्ठले जानकारी दिए । मृतकमा १ कात्तिकमा कोरोना पोजेटिभ देखिएको थियो । सोमबार बीपी प्रतिष्ठान भर्ना भएका उनको राति करिब साढे ९ बजे मृत्यु भएको हो

READ MORE NEWS

कोरोना संक्रमण बढेपछि गृह मन्त्रालयले जारी गर्यो निर्देशन, जिल्ला नछाड्न सिडिओलाई आदेश

काठमाडौ । गृहमन्त्रालयले चाडबाडको समयमा कोभिड–१९ को सङ्क्रमण थप बढ्नसक्ने भएकाले सचेत रहन मातहतका सुरक्षा निकाय तथा प्रशासन कार्यालयलाई निर्देशन दिएको छ ।

मन्त्रालयले कोरोना सङ्क्रमण नेपालमा तीव्ररूपमा फैलिरहेकाले यसको रोकथाम, नियन्त्रण, उपचार र व्यवस्थापनमा चुनौती थपिँदै गएको अवस्थामा चाडबाडमा यसले थप जोखिम निम्त्याउन सक्नेतर्फ मातहतका निकायको ध्यानाकर्षण गराएको हो ।

निकट रहेको बडादशैँ, तिहार, छठ, नेपाल संवतलगायतका चाडपर्वमा मानिसको आवतजावत बढ्न जाँदा सङ्क्रमण थप बढ्न सक्ने जोखिम देखिएको हुँदा जोखिम थप बढ्न नदिन दशैँ बिदाको अवधिमा पनि प्रमुख जिल्ला अधिकारी तथा सुरक्षा निकायका प्रमुखलाई जिल्ला नछाड्न मन्त्रालयले निर्देशन दिएको छ ।

जोखिम नियन्त्रणका लागि समन्वयात्मकरूपमा हरसम्भव उपायहरू अवलम्बन गर्न र गराउन मातहत सबै सुरक्षा निकाय तथा प्रमुख जिल्ला अधिकारीलाई निर्देशन दिइसकिएको मन्त्रालयका प्रवक्ता चक्रबहादुर बुढाले जानकारी दिनुभयो ।

कोभिड–१९ को सङ्क्रमणबाट जोगिन स्वीकृत स्वास्थ्य मापदण्डअनुरूप दूरी कायम गर्ने, भीडभाड नगर्ने, मास्क अनिवार्य लगाउने, नियमितरूपमा साबुनपानीले हातधुने वा स्यानिटाइजर प्रयोग गर्नेजस्ता क्रियाकलापलाई नै भरपर्दो उपाय मानिएको मन्त्रालयले सोमबार जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

साथै अतिआवश्यक काम नपरी घरबाट बाहिर ननिस्कन, घुमफिर नगर्न, चाडपर्वमा भेला, जमघट तथा भोजभतेर नगर्न पनि मन्त्रालयले अनुरोध गरेको छ । यस वर्षको चाड जो जहाँ छौँ त्यहीँ बसी मनाउन र स्वास्थ्य सुरक्षाका निर्धारित मापदण्ड अनिवार्यरूपमा पालना गर्न र गराउनसमेत अनुरोध गरिएको छ ।

चाडपर्वको अवसरमा चाडपर्व केन्द्रित सुरक्षा योजना बनाई कुनै पनि अशान्ति, झैझगडा, चोरी, लुटपाट, डकैती, ठगी, कृत्रिम अभाव, कालोबजारीलगायतका अवाञ्छित तथा आपराधिक गतिविधि हुन÷गर्न नदिइ भरपर्दो एवं विश्वसनीय सुरक्षा व्यवस्था मिलाउन, सुरक्षा निकायलाई मन्त्रालयले निर्देशन गरेको छ ।

कानूनविपरीतका गतिविधिमा संलग्न हुनेलाई तत्काल कारवाही गर्न मातहत सुरक्षा निकाय तथा सबै प्रमुख जिल्ला अधिकारीलाई निर्देशन दिइएको मन्त्रालयले जनाएको छ ।

 


Your Views
Related News