अमेरिकी अन्तरिक्ष वैज्ञानिक नील आर्मस्ट्रङले चन्द्रमामा पहिलो पाइला (पहिलो मानव पाइला) टेकेको इतिहास धेरै पुरानो भइसकेको छ । अपोलो– ११ अन्तरिक्ष यानमा सवार आर्मस्ट्रङले २० जुलाई १९६९ मा चन्द्रमामा पाइला टेकेका थिए । आर्मस्ट्रङको त्यो सफलतापछि विकसित राष्ट्रहरूका वैज्ञानिक हौसिए । उनीहरूले लगातार चन्द्रमामा विभिन्न प्रयोग गर्दै आइरहेका छन् । यस कार्यमा विशेषतः अमेरिकाको अनुसन्धानात्मक संस्था नासा अग्रस्थानमा छ । यही क्रममा नासाले अब चन्द्रमामा फोर–जी सुविधायुक्त इन्टरनेट चलाउन सक्ने जनाएको छ ।यो ऐतिहासिक अभियानको जिम्मा नासाले मोबाइल कम्पनी नोकियालाई दिएको छ । नोकियासँगको सहकार्यमा नासाले सन् २०२३ सम्ममा चन्द्रमामा पुग्ने वैज्ञानिकहरूले इन्टरनेट चलाउने सक्ने जनाएको छ । यस्तै, नासाले सन् २०२४ सम्ममा सर्वसाधारणले पनि चन्द्रमाको यात्रा गर्न सक्ने योजना सार्वजनिक गरेको छ । यी दुईवटा प्रमुख प्रोजेक्टमा नासाका वैज्ञानिकहरू दिनरात खटिरहेका छन् । चन्द्रमामा सेल्युलर नेटवर्क बनाउने जिम्मा पाएको नोकियाले नासाले भनेकै समयमा काम पूरा गर्ने प्रतिबद्धता जनाएको छ । नोकिया कम्पनीका अनुसन्धानकर्ता बेल लेब्सले सोसियल मिडियामा नासा र कम्पनीबीचको सम्झौताबारे जानकारी दिएका छन् । ‘चन्द्रमामा फोर–जी प्रयोग सम्बन्धमा नोकिया र नासाबीच सम्झौता भएको छ, अब चन्द्रमामा रोवर्स र नेभिगेसन वायरलेस हुनेछन्,’ उनले भने, ‘चन्द्रमामा यो वायरलेस जडानपछि भिडियो स्ट्रिमिङ गर्न सहज हुनेछ ।’

यस्तो छ नोकियाको योजना
नोकियाले चन्द्रमाको सतहमा सन् २०२२ सम्म अन्तरिक्षमा वायरलेस कम्युनिकेसन सिस्टम जडान गर्ने गरी पहिलो चरणको काम सुरु भएको जनाएको छ । यो योजना पूरा गर्न नोकियाले टेक्सास बेस्ड प्राइभेट स्पेस क्राफ्ट डिजाइन कम्पनीसँग सहकार्य गर्नेछ । नोकियाले स्पेस क्राफ्टको सहयोगबाट इन्टुएटिभ मेसिन निर्माणसम्बन्धी काम अगाडि बढाउनेछ । इन्टुएटिभ मेसिनको सहयोगमा चन्द्रमासम्म आवश्यक पर्ने सबैै डिभाइस तथा सामग्री पु¥याइनेछ । स्पेस क्राफ्ट डिजाइन कम्पनीले चन्द्रमासम्म नेटवर्क सिस्टम जोड्ने छ । त्यसपछि नोकियाले चन्द्रमामा फोर–जी कम्युनिकेसन सिस्टम स्थापित गर्नेछ । यो पहिलो प्रोजेक्टमा सफलता मिल्दा नोकियाले चन्द्रमामा फिक्वेन्सी परिवर्तन गरी फोरजीबाट फाइभ–जीसम्म सुविधा दिने योजना बनाएको छ । यसपछि अन्तरिक्ष वैज्ञानिकहरूले चन्द्रमाबाट भिडियो कम्युनिकेसन सहजै गर्न सक्ने नोकियाको दाबी छ । नोकियाले टेली मेट्रो र बायो मेट्रिक डाटा एक्सचेन्जसँगै थप सुधिवा दिनेछ । नोकियाले चन्द्रमामा यी सबै सिस्टम नियन्त्रण गर्न रोबोटिक डिभाइस र रिमोट कन्ट्रोल प्रविधि अपनाउनेछ ।

मुस्किल समयमा नेटवर्कले काम गर्ने
चन्द्रमामा नेटवर्किङ समस्या आउँदा अन्तरिक्षयात्रीले फोर–जी सिस्टमको सहयोग लिन सक्नेछन् । नोकियाकोे फोर–जी सिस्टमले चन्द्रमामा लन्च तथा ल्यान्डिङको वेला आउन सक्ने समस्याको समाधान गर्न पनि मद्दत गर्नेछ । सुरुमा नोकियाले फाइभ–जी नै चन्द्रमामा प्रयोग गर्ने जनाएका थियो । तर, अहिले फोर–जी (एलटिई) नै प्रयोग गर्न उपयुक्त भएको नोकियाको भनाइ छ ।

नोकियालाई १४.१ मिलियन डलर
चन्द्रमामा फोर–जी नेटवर्क स्थापना गर्न नोकियाले नासाबाट १४.१ मिलियन अमेरिकन डलर पाउनेछ । नासाले नोकियालाई यो रकम ‘टिपिङ प्वाइन्ट’ शीर्षकअन्तर्गत उपलब्ध गराउनेछ । दुई पक्षबीच सम्झौता भएपछि फोर–जी प्रोजेक्टको बजेट तीन सय ७० मिलियन डलर हुन आउनेछ । नासाले फोर–जीको सहयोगबाट चन्द्रमामा लामो दूरीसम्म पनि कम्युनिकेसन गर्न सकिने दाबी गरेको छ । मोबाइल कम्पनी नोकियाले चन्द्रमामा फोर–जी इन्टरनेट उपलब्ध गराउन लागेको यो पहिलोपटक होइन । यसअघि नोकियाले चन्द्रमामा एलटिई नेटवर्क लन्चको प्रयास गरेको थियो । सन् २०१८ मा नोकियाले जर्मन स्पेस कम्पनी पिटिएस साइन्टिस र भोडाफोन युकेसँगको सहकार्यमा चन्द्रमामा फोर–जी लन्च गर्न खोजेको थियो । त्यो वेला नोकियाले चन्द्रमाको १७ स्थानमा स्टेसन बनाउने तयारी बढाएको थियो । तर, नोकियाको यो योजना पूरा भएन । अब नोकियाले पुरानो गल्ती सच्याएर र सावधानीपूर्वक नासासँगको सहकार्यमा चन्द्रमामा फोर–जी सञ्चालनमा ल्याउने विश्वास गरेको छ ।

नासाको नयाँ योजना 
नासाले सन् २०२४ मा चन्द्रमामा पहिला महिला तथा त्यसपछि पुरुष उतार्ने योजना बनाएको छ ।
यससँगै चन्द्रमाको सहत पत्ता लगाउन नासाका वैज्ञानिकले विभिन्न प्रयोग गरिरहेका छन् । यो दुवै परियोजनाका निमित्त नासाले कमर्सियल तथा अन्तरिक्ष साझेदारी गरेको छ । सो योजनाअनुरूप चन्द्रमामा नयाँ क्षेत्र पत्ता लगाइनेछ । यद्यपि यसअघि चन्द्रमाका धेरै स्थान वैज्ञानिकले पत्ता लगाए पनि आर्टेमिसअन्तर्गत नयाँ खोज नै मुख्य उद्देश्य हो ।

READ MORE NEWS

सङ्क्रमित कर्मचारीलाई विदा दिने प्रस्ताव चाँडैनै मन्त्रिपरिषद्मा जाँदै

काठमाडौं । विश्वभर फैलिएको कोरोना भाइरसको सङक्रमण अहिले नेपालमा पनि दिनप्रतिदिन बढ्दै गएको सन्दर्भमा सङक्रमित कर्मचारीलाई विदा दिने विषयमा छलफल अगाडि बढाइएको छ । कर्मचारीलाई विदा दिनु पर्ने प्रस्ताव दुई रतीन दिन भित्र मन्त्रिपरिषद्मा लाने तयारी भएको छ ।सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले राष्ट्रसेवक सेवा प्रवाह गर्ने शिलशिलामा कोरोना संक्रमण पुष्टि भए, छुट्टै विदा दिने विषयमा छलफल अगाडि बढाएको छ । सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका प्रवक्ता वसन्त अधिकारी अहिले कोरोना संक्रमण देखिएका कर्मचारीलाई छुट्टै विदा दिने हाल कानुनी व्यवस्था नरहेकाले विदा दिनुपर्छ भनेर मन्त्रिपरिषदमा दुईतीन दिनमै प्रस्ताव लैजान तयारी गरेका बताए ।प्रवक्ता अधिकारीले यो विषय चाँडै मन्त्रिपरिषद्मा लैजाने र यसबारे चाँडै निर्णय आउने उहाँले गोरखापत्र अनलाइनलाई जानकारी दिए। हाल नेपालमा तीन तहमा गरी एक लाख ३८ हजार निजामती कर्मचारीको दरबन्दी रहेको छ । संघमा ५९ हजार, प्रदेशमा २२ हजार ५०० र स्थानीयमा ६७ हजार कर्मचारीको दरबन्दी रहेको मन्त्रालयका प्रवक्ता अधिकारी बताउँछन् ।निजामती कर्मचारीहरुको आधिकारिक ट्रेड युनियनका पूर्वअध्यक्ष पुण्यप्रसाद ढकाल निजामती कर्मचारी कार्यस्थलमा कामको शिलशिलामा कोरोना संक्रमण पुष्टि भएको अवस्थामा सरकारले अरु विदाबाट कट्टा नगरेर छुट्टै दिन आवश्यक रहेको बताउँछन् ।विशेष गरेर प्राविधिक स्वास्थ्य क्षेत्रमा, सुरक्षाको कार्यस्थल र बढी भीडभाड हुने कार्यालयमा बढी कोरोनाको संक्रमण देखा परेको ढकाल बताउँछन् । कोरोनाको जाखिममा पनि यस्ता राष्ट्रसेवकलाई विशेष सुविधा दिनु पर्छ भनेर सरकारसँग माग राखेको ढकाल बताए। अहिले कोरोना संक्रमण संसार भर फैलिएको छ भोलिको दिनमा कस्तो अवस्था रहने हो कर्मचारीमा बढ्दै गए कार्यालयमा उपस्थित नहुँदा सेवाप्रवाह कस्तो असर गर्ला भन्ने विषय रहेको उनी बताउँछन् ।निजामती कर्मचारी सवैको कोरोना सरकारले निःशुल्क विमा समेत गरेको उनी बताउँछन् । अहिले कोरोना संक्रमण देखा परेका कर्मचारी आइसोलेशनमा र संक्रमण नलागेको कर्मचारी आलो पालो गरेर धेरै ठाउँमा काम गरिरहेको पूर्वअध्यक्ष ढकाल बताउँछन् । गृह मन्त्रालयका सहसचिव चक्रबहादुर बुढाले गृहले अन्य पर्व लगायतका विदा हेर्ने भएकाले यसबारेमा संघीय मामिला मन्त्रालयले हेर्ने बताए।यता, कर्मचारी युनियनका यज्ञराज अर्याल नेपाल सरकारले कोरोना लागेको राष्ट्र सेवक कर्मचारीको हकमा कम्तीमा दुई हप्ताको विदा दिन आवश्यक रहेको उनी बताउँछन् ।घरायसी कामको लागि विदा नलिई कार्यस्थलमा जनताको सेवा गर्दा संक्रमण देखा पर्ने हुनाले छुट्टै विदा दिन आवश्यक रहेको उनी बताउँछन् ।


Your Views
Related News