राजविराज : थारू जातिको कला संस्कृति, रीतिरिवाज, परम्परा, भाषाको ज्ञानसँगै थारू जातिको जीवनशैली झल्काउने उद्देश्यले सप्तरीको कञ्चनरूपमा थारू सांस्कृतिक संग्रहालय उद्घाटन गरिएको छ। कञ्चनरूप नगरपालिका–६, जमुवामा होमस्टे सञ्चालनमा आएको साढे दुई वर्षपछि प्रदेश २ कै पहिलो थारू संग्रहालय उद्घाटन भएको हो। कोसी टप्पु वन्यजन्तु आरक्षका प्रमुख संरक्षण अधिकृत रामदेव चौधरीले संग्रहालय भवन उद्घाटन गरे।पूर्व पिप्रा धरमपुर घोघनपुर उपभोक्ता समितिका अध्यक्ष बच्चुलाल चौधरीका अनुसार वन तथा वातावरण मन्त्रालयबाट प्राप्त ५५ लाख रुपैयाँको आर्थिक सहयोग र जनश्रमदानको १३ लाख ७५ हजार गरी ६८ लाख ७५ हजारमा दुईतले भवन निर्माण भएको हो।चौधरीले भने, ‘थारू जातिको कला संस्कृति जीवित राख्ने उद्देश्यले बनाइएको संग्रहालयमा थारू जातिको मौलिक, पौराणिक र संस्कृति झल्कने सामग्री राख्ने छौँ।’ संग्रहालयमा थारू वाद्यवादन, आत्मसंरक्षण र सिकारका लागि प्रयोग गरिने हतियार, कृषि र फर्निचर निर्माणमा प्रयोग गर्ने सामग्री, अन्न, तेलहन भण्डारणका सामग्री, कुटानी पिसानी, नापतौलमा प्रयोग गरिने सामग्री, विवाहमा प्रयोग हुने सामग्री र थारू गरगहना राखिनेछ। संग्रहालयमा थारू जातिमा जन्मदेखि मृत्युसम्म प्रयोगमा आउने सामग्रीहरू सूचीकृत भइरहेको पानवती चौधरीले बताइन्।

कतै नपाइने अर्ना रहेको कोसीटप्पु वन्यजन्तु आरक्ष, नेपालकै पहिलो चन्द्र नहर, प्राकृतिक स्रोतले भरिपूर्ण चुरे क्षेत्र र सामुदायिक वन, २२ मौजाको राजाजी र मंगतगैया बाबाको मन्दिर, सप्तकोसी नदी, प्रसिद्ध धार्मिक स्थल बराहा र चतरानजिकै रहेको जमुवामा होमस्टे पनि सञ्चालनमा रहेकाले पर्यटन नगरीका रूपमा विकास गर्न संग्रहालय स्थापना गर्न लागिएको विष्णुदेव चौधरीले बताए। होमस्टे सञ्चालन गरेकी सीतादेवी चौधरीले भनिन्, ‘कोरोना भाइरस (कोभिड–१९)ले संसारकै जनजीवन प्रभावित र अस्तव्यस्त बनाएकाले कोभिडपछि चाँडै थारू संग्रहालय सञ्चालनमा ल्याउँछौँ।’उद्घाटनका अवसरमा कञ्चनरूप नगरपालिकाका प्रमुख वसन्त मिश्रले संग्रहालय व्यवस्थित र स्तरीय बनाउन आफ्नोतर्फबाट सक्दो सहयोग गर्ने प्रतिबद्धता जनाए। उनले प्रदेश २ मै पहिलो बालमैत्री नगर बनेको कञ्चनरूपमा पहिलो होमस्टे सञ्चालन भई पहिलो संग्रहालय सञ्चालन हुन लागेकोमा खुसी व्यक्त गरे। आरक्षका प्रमुख संरक्षण अधिकृत चौधरीले युवाहरूको सहभागिता बढाउन र उदयपुरसँग लिंक जोड्न आग्रह गर्दै प्रचारप्रसार बढ्दै गएपछि संग्रहालय र थारू सामुदायिक होमस्टे नमुना बन्ने दाबी गरे।राष्ट्रिय प्रकृति संरक्षण कोषका कार्यक्रम अधिकृत वीरेन्द्र गौतमले पूर्वाधारसँगै प्रचारप्रसार, विकास र विस्तारमा काम गर्नुपर्नेमा जोड दिए। ‘कुनै पनि समुदायको मौलिकता हराउँदै जानु भनेको उक्त समुदायको पहिचान मात्र नासिनु होइन, समग्र देशको पहिचान कमजोर हुनु हो’, बुद्धिजीवी गयानन्द चौधरीले भने, ‘आफ्नै भाषा, भेषभूषा, कला, संस्कृति भए पनि लोप हुँदै गइरहेको बेला जमुवामा स्थापना भएको होमस्टे र संग्रहालयले आशावादी बनाएको छ।’ उद्घाटनका अवसरमा थारूको मौलिक पोसाकमा सजिएका महिलाले फूल, अबिरले स्वागत गर्नुका साथै मौलिक कला संस्कृति झल्किने ऋतु वसन्त गीत र नृत्यले मनोरञ्जन गराए।

READ MORE NEWS

च्याम्पियन्स लिगः म्यान्चेष्टर युनाइटेडसँग पीएसजी पराजित, बार्सा र लाजियो विजयी

च्याम्पियन्स लिग अन्तर्गत गएराति भएका समूह चरणका खेलमा म्यान्चेष्टर युनाइटेड, बार्सा र लाजियो विजयी भएका छन्। चेल्सीले सेभिल्लासँग गोलरहित बराबरी खेलेको छ।इङ्लिस क्लब म्यान्चेष्टर युनाइटेडले फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेनलाई उसकै घरेलु मैदानमा २(१ ले पराजित गरेको छ। म्यानुका लागि ब्रुनो फर्नान्डेज र मार्कस राशफोर्डले गोल गरेका थिए। म्यानुकै एन्थोनी मार्शलले आत्मघाती गोल गरेका थिए।अर्को खेलमा बार्सिलोनाले हंगेरियन क्लब फेरेन्कभारोसलाई ५(१ गोलको भारी अन्तरले पराजित गरेको छ। बार्साका लागि घरेलु मैदानमा लियोनल मेस्सी अन्सु फाती, फिलिप कोउटिन्हो, पेड्री र ओसमान डेम्बेलेले गोल गरेका थिए।६८औँ मिनेटमा बार्साका जेरार्ड पिकेले रातो कार्ड पाएका थिए। लगत्तै पाएको पेनाल्टीमा फेरेन्भारोसले एक गोल फर्काएको थियो। १० खेलाडीमा सीमित भएपछि पनि बार्साले दुई गोल गरेको थियो।अर्को खेलमा इटालीको क्लब लाजियोले जर्मन क्लब बोरुसिया डर्टमुन्डलाई ३(१ गोलले पराजित गरेको छ। चेल्सीले भने घरेलु मैदानमा सेभिल्लासँग गोलरहित बराबरी खेलेको छ।

नेपाल–भारत अवरुद्ध आकाश

कोभिड–१९ का कारण आक्रान्त बनेको विश्व समुदायमा सबै प्रकारका नियमित गतिविधिहरू अवरुद्ध छन् । सुचारु हुन थालेका कतिपय गतिविधि पनि पुरानै लयमा आइसकेका छैनन् । यसबीचमा प्रायः सबै मुलुकका आन्तरिक मात्र होइन, बाह्य गतिविधि पनि गतिहीन बनेका छन् ।कोरोना भाइरसको संक्रमण फैलिन थालेदेखि नै प्रायः देशले आवागमनका सबै स्थल, हवाई र अन्य मार्गसमेत रोकेका थिए । नेपालले पनि बाहिरी विश्वको यही पद्धतिलाई अनुसरण गरेर जनसाधारणको आवागमन र अन्य गतिविधि बन्द गर्ने उपाय पहिल्याएको थियो । यही क्रममा हवाई उडानका सबै तालिका झन्डै ६ महिना अवरुद्ध भए । बल्लतल्ल यसै महिनाबाट आवश्यक स्वास्थ्य सुरक्षाका उपायहरू अपनाउँदै राष्ट्रिय–अन्तर्राष्ट्रिय तहमा नियमित तवरका उडानहरू सुरु भएका छन् ।मुलुकले आन्तरिक र बाह्य उडान सुरु गरेसँगै आवागमन केही सहज बनेको छ । दक्षिणी छिमेकी भारतसँग भने औपचारिक तहमा स्थल वा हवाई सम्पर्क अझै पनि अवरुद्ध छ । आवश्यक सेवा–सर्त र सुरक्षा प्रबन्ध राखेर नेपालसँगको हवाई उडानमा तत्कालका लागि ‘एयर बबल्स’ (चार्टर्ड शैलीको उडान सेवा) प्रबन्ध तय गर्न भारतले प्रस्ताव गरेको एक महिना बिते पनि नेपाल सरकारले यसबारे निर्णय दिन सकेको छैन । एक साताअघि पर्यटनमन्त्री योगेश भट्टराई र भारतीय राजदूत विनयमोहन क्वात्राका बीच भएको भेटवार्तामा भारतसँगको नयाँ हवाई रुट खोल्नेसहितका ‘तत्काल जरुरी’ नदेखिएका विषयमा समेत संवाद भएको सूचना बाहिर आएको थियो । तर, यसबीचमा भारतसँगको हवाई सम्पर्क सुचारु गर्नेबारे नेपाली पक्षले चासो देखाएको पाइँदैन ।

कोरोना संक्रमणकै कारण देखाएर अवरुद्ध बनेको द्विदेशीय हवाई उडान अझै खुल्न नसके पनि स्थलमार्गबाटै वा थप खर्चिलो उपायबाट नेपाल–भारत आवागमन रोकिएको भने छैन । दसैं–तिहारसहितका चाडबाडको यो मौसममा भारतमा रहेका कतिपय नेपाली कोरोना संक्रमणको सन्त्रासभन्दा बढी जे–जसरी हुन्छ, आफ्नो गाउँ–ठाउँ फर्कन इच्छुक देखिन्छन् । दुई देशबीचको सीमा खुलेपछि मात्रै घर आउँछु भनेर बसेका कतिले यसबीचका कैयौं महिना त्यसै गुजारिसकेका छन् । अरू मुलुकमा भएका कति नेपाली धमाधम घर फर्किंदा भारतमा भएकाले ‘आफूहरूलाई दोस्रो दर्जाका नागरिकको व्यवहार गरिएको’ भन्दै सामाजिक सञ्जालमा गुनासो पोख्न थालेका छन् । अर्को, दुई देशबीच पेसा–व्यवसाय गर्ने कतिलाई आइजाइ गर्नुपर्ने अति बाध्यता पनि छ ।यति बेला भारतले दक्षिण एसियामा माल्दिभ्स, अफगानिस्तानसहितका बाहिरी विश्वका १३ वटा मुलुकबाट ‘एयर बबल्स’ को प्रबन्ध मिलाएर आफ्ना नागरिक घर फिर्ता ल्याइरहेको छ । तर, नेपालको हकमा भने भारत सरकार स्वयंले प्रस्ताव गरेर यो विषय पर्यटन र परराष्ट्र मन्त्रालयको टेबलमा अड्किएको छ । कोभिड–१९ नियन्त्रणसम्बन्धी उच्चस्तरीय समितिका काम–कारबाही सुस्त भैसकेको अवस्थामा हवाई उडानको यो प्रस्ताव पनि अलपत्र परेको देखिन्छ । कोरोना कहरमाझ अरू अन्तर्राष्ट्रिय हवाई उडानहरू रोकिएकै स्वरूपमा नेपाल–भारत उडान रोकिनु स्वाभाविक र जरुरी पनि थियो । तर, पछिल्लो समयमा नेपाल–भारतबीच सिमानालगायतका कतिपय मामलामा असहज सम्बन्ध कायम रहेका बेला अतिरिक्त संशयलाई मलजल पुर्‍याइरहने गरी हवाई उडान पनि अवरुद्ध राखिरहनु सायद बुद्धिमतापूर्ण हुँदैन । कोरोना भाइरसको संक्रमण विस्तारको डरले बृहत् स्तरमा आम नागरिकको हितलाई ध्यानमा राखेर हो या अरू केही कारणले हवाई सम्पर्क स्थगित राखिराख्नुपरेको हो, यसबारे सरकारले आफ्नो स्पष्ट धारणा बाहिर ल्याउन उपयुक्त हुन्छ । जारी द्विदेशीय राजनीतिक एवं कूटनीतिक कठिनाइका माझ यो हवाई सम्पर्क स्थगित गरिराख्नुको अर्थ र सन्देश के हुन्छ भन्नेबारे सरकारले दुईपटक सोच्नुपर्छ । मनासिब कारणबेगर नै नेपाली यात्रुका लागि एउटा चल्तीको हवाई उडान रुटलाई त्यसै अवरुद्ध राखिरहनु उचित हुँदैन ।निश्चय पनि, मुलुकमा कोरोना भाइरसको संक्रमण डरलाग्दो गरी अकासिएको छ । र, छिमेकी मुलुक भारत त्यस्तै कहालीलाग्दो संक्रमण दर झेलिरहेको एउटा मुलुक हो, जहाँ अमेरिकापछि विश्वमै सबैभन्दा बढी संक्रमित छन् । यस्तो अवस्थामा भारत–नेपाल सीधा सम्पर्क हुँदा बढ्न सक्ने जोखिमप्रति सरकार चिन्तित हुनु स्वाभाविक पनि हो । तर प्रश्न सधैं यसरी कसरी चल्छ भन्ने हो । र, अरू मुलुकसित अपनाइएको जस्तो वा त्योभन्दा बढी निश्चित अवधि अनिवार्य ‘क्वारेन्टिन’, त्यसको निगरानी र पीसीआर परीक्षणजस्ता सुरक्षा सावधानी अपनाएर दुई देशबीच सुरक्षित हिसाबले हवाई उडान सुचारु राख्नेबारे नेपालले किन नसोच्ने भन्ने अर्को प्रश्न हो । आखिर, घर फर्कन आतुर नेपाली हुन् या नेपालमा कामकाज भएका भारतीय, जसरी पनि लुकीछिपी नेपाल आएकै छन्, जुन तरिका झन् बढी जोखिमपूर्ण छ । सरकारले सम्पूर्ण सुरक्षा सावधानी अपनाएर कुनै न कुनै रूपमा हवाई यात्रा सुचारु गर्ने हो भने बरु त्यो कम जोखिमपूर्ण, व्यावहारिक र सौहार्दपूर्ण हुन्थ्यो कि ?


Your Views
Related News