(क) यात्रामा रहँदा ध्यान पु-याउने कुरा:
दसैंमा अधिकांश व्यक्ति आफ्नो कार्यथलोबाट जन्मस्थलतर्फ लाग्ने भएकाले आवागमन गर्ने यात्रुको चाप अत्यधिक रूपमा बढ्दछ । वरिपरि छरिएर रहेका परिवारका सबै सदस्य एकै ठाउँमा जम्मा भएर आफ्नो हैसियतअनुसार खुसियालीका साथ दसैं मनाउने नेपालीको विशेषता नै हो । तर, यसपटकको दसैं साबिकको जस्तो चिन्तामुक्त छैन । आवागमन गर्ने व्यक्ति सँगसँगै कोरोना नपुगेको स्थानमा समेत कोरोना पुग्न सक्ने आशंकाले परिवारकै सदस्य त्रसित बन्नुपर्ने अवस्था छ । घर फर्कनेले पनि आफू कोरोना संक्रमित रहे नरहेको यकिन गरेर एवं सावधानी अपनाएरै मात्र घर जाने हो भने संक्रमण फैलन पाउँदैन । संक्रमणरहित व्यक्तिको यात्राको क्रममा संक्रमितसँग हेलमेल र सम्पर्कमा रहेको अवस्थामा आफैं संक्रमित बन्न सक्ने भएकाले कार्यस्थलबाट घरसम्म पुग्दा हामी सबैले यात्राको क्रममा विशेष सावधानी अपनाउने हो भने हामी कोरोनाको स्रोत बन्दैनौं ।यस क्रममा सरकारले तोकेकै मापदण्डभित्र पर्नेगरी सार्वजनिक यात्रुबाहक सवारी साधन प्रयोग गर्न पाइने अवस्था पनि हुँदैन । सिट क्षमताभन्दा बढी यात्रुबीच यात्रा गर्नुपर्ने बाध्यता एकातिर हुन्छ भने अर्कोतिर सहयात्री संक्रमित छ-छैन ? को कस्तो छ भन्ने कुरा पनि खुलेको हुँदैन । सहयात्रीमध्ये कसैलाई कोरोना संक्रमण भए यात्रारत सबैमा संक्रमण फैलन सक्ने सम्भावनाप्रति सबैले सावधानी अपनाउनुपर्ने हुन्छ । घन्टौंसम्म सँगै सिटमा बसी यात्रा गर्दा, संक्रमित व्यक्ति नजिकै रहँदा, खाना नास्ता खाँदा, दिसा पिसाब गर्न एउटै ट्वाइलेट प्रयोग गर्नुपर्दा संक्रमितसँग जोगिन अत्यन्त कठिन पर्दछ । हरेक पलपलमा सचेत भइएन भने खतरामुक्त हुन कठिन पर्ने कुरालाई यात्रा अवधिभरै सबैले चनाखो रहनुपर्दछ ।
घन्टौंसम्म सँगै सिटमा बसी यात्रा गर्दा, संक्रमित व्यक्ति नजिक रहँदा, खाना तथा नास्ता खाँदा र एउटै ट्वाइलेट प्रयोग गर्नुपर्दा संक्रमितसँग जोगिन अत्यन्त कठिन पर्दछ
यात्रुहरू पनि सबै समान रूपमा सचेत नहुन सक्छन् । यात्रुबीचको दूरी कायम राख्न नसकिएको अवस्थामा यात्रुलाई सुरक्षित यात्रा गराउने मुख्य भूमिका सार्वजनिक सवारी सञ्चालककै हुन्छ । सवारी साधन पूर्ण रूपमा सेनिटाइज गरिएको छ÷छैन ? नभए यात्रु प्रवेश गर्नु अगाडि नै सेनिटाइज गर्ने, सबैलाई मास्क लगाउन लगाउने, बराबर सेनिटाइजर प्रयोग गर्ने व्यवस्था मिलाउने, कोही शंकास्पद संक्रमित भए सबैभन्दा पछाडिको सिटमा राख्ने, बसको झ्याल खोलेर चलाउने, यात्राको क्रममा मास्क खोल्न नदिने व्यवस्था यातायात सञ्चालकले मिलाउनुर्दछ । यातायात सञ्चालकले दिएको निर्देशन यात्रुले पनि पालन गर्नुपर्दछ । यात्रामा रहँदा सकेसम्म बाटोमा पर्ने होटल, रेस्टुराँको खाना खानुहुँदैन । आफ्नै घरमा बनाएको खानेकुरा बोकेर वा ड्राइफुटकै भरमा पनि यात्रा गर्नु उत्तम हुन्छ । सँगै सिटमा अपरिचित व्यक्ति भए सबैले एकै साथ खाना खानुहुँदैन । आलोपालोमा अघि पछि गरी सिटमै रहेकै बेला खाना खाइए एकबाट अर्कोमा संक्रमण सर्ने सम्भावनालाई न्यून पार्न सकिन्छ ।यात्राको समयमा अपरिचितले दिएको खानेकुरा खानुहुँदैन । अपरिचितसँग झट्ट विश्वास पनि गर्नुहुँदैन । कोही सहयोगी देखापरे अत्यावश्यक नपरी त्यस्ताको सहयोग स्वीकार गर्नुहुँदैन । यात्रामा कतिपय आपराधिक मानसिकताकै व्यक्ति पनि हुन सक्छन् । आफ्नो असावधानी र कमजोरी उनीहरूका निम्ति अवसर बन्न सक्छ भन्ने कुरा यात्रा अवधिमा हेक्का राख्नुपर्दछ । नाता सम्बन्ध केलाई जान पहिचान भएकै व्यक्तिको निकटतम व्यक्ति हुँ भन्ने बहाना बनाउने व्यक्तिसँग नजिक बन्नुहुँदैन । सहयात्रीको हाउभाउ र गतविधि ठीक नभए सवारी सञ्चालक वा बाटोमा पर्ने प्रहरीलाई जानकारी गराउनुपर्दछ । यात्राको समयमा ठूलो नगद रकम र गरगहना साथमा लिनुहुँदैन । साथमा भएको सरसामान ठीक हालतमा छ-छैन बराबर चेक जाँच गर्नुपर्दछ अनावश्यक हरकत गरिनुहुँदैन ।यात्राको क्रममा अपरिचितले दिएको खाद्य पदार्थ खाएर बेहोस बनी लुटिएका र बलात्कृत भएका घटनाहरू प्रशस्त छन् । अरू बेलाको समयमा भन्दा दसैंको यात्राको क्रममा यस्ता घटना बढी हुन सक्छन् । बसभित्रै राखेको झोला, सुटकेस अन्य सरसामान चोरी हुन सक्छ । सामान्य यात्रु सबै आआफ्नो धुनमा हुन्छन् तर आपराधिक मानसिकताको व्यक्तिले कुन यात्रुले केकस्तो सामान लिएर यात्रा ग¥यो ? उसले सामान कहाँ राखेको छ ? उक्त सामान कसरी हत्याउने भन्ने पूर्वयोजना अपराधीले मिलाएको हुन सक्छ । त्यस्ता शंकास्पद व्यक्ति सम्बन्धित व्यक्ति निदाएको मौका पारी सामानसहित बीचैमा उत्रिएर गायब हुन सक्छन् । यसतर्फ यात्रु सधैं होसियार रहनुपर्दछ । चाडबाडको समयमा घर पुग्ने क्रममा र घरबाट फर्किएर आफ्नो कार्यस्थल आउने क्रममा उपर्युक्तअनुसारको सावधानी अपनाइए अपराधीबाट जोगिन एवं कोरोना संक्रमणको खतराबाट समेत सुरक्षित बन्न सकिन्छ । यात्रामा सबैले ख्याल गर्नुपर्ने यो महŒवपूर्ण कुरा हो ।
दसैंको समयमा मान्यजनबाट नवदुर्गाको टीका तथा प्रसाद ग्रहण गर्न नजिकका आफन्त र नातेदारहरूको भिडभाड बढ्छ । वयोवृद्ध सदस्य रहेको घरमा टाढाटाढाबाट पनि आफन्त आउने, खुसियाली साटासाट गर्ने, वर्षभरिको दुःखकष्ट भुली परस्परमा रमाउने गरिन्छ । यसरी जम्मा हुने व्यक्तिहरू पनि सबै कोरोना संक्रमण मुक्त छन् भन्ने विश्वास हुँदैन । व्यक्ति नातेदार भए पनि कोरोना भाइरस आफ्नो हुँदैन भन्ने कुरा सबैले महसुस गर्नुपर्दछ । टीकाटालो गर्दा पनि सबैले मास्कको प्रयोग गरे संक्रमणबाट बच्न सकिन्छ । आउने सबैले अनिवार्य रूपमै मास्क लगाउने कुराकानीको क्रममा र टीकाटालो गर्दासमेत मास्क नखोल्ने गरिए केही हदसम्म हामी सुरक्षित बन्न सक्छौं । कोही शंकास्पद संक्रमित भएमा त्यस्ता व्यक्तिलाई अलगै राखेर टीका लगाइदिने, समूहमा घुलमिल हुन नदिने तथा आउने सबैले भौतिक दूरी कायम गर्ने व्यवस्था मिलाइए जोखिमबाट हामी मुक्त हुन सक्छौं ।अहिलेको दसैं सधैं जस्तो अवस्थामा छैन । टीकाटालो गर्न सधैंजस्तो टाढाटाढा धाएर जानु पनि उचित हुँदैन । आशीर्वाद लिनुपर्ने वृद्धवृद्धाको नजिक जानुहुँदैन । सार्वजनिक सवारीबाट दसैंको बेला आवागमन गर्न भिडभाडको कारण एकातिर यात्रा सहज हुँदैन भने अर्कोतर्फ सबै यात्रुहरू हुनुपर्ने हदसम्म सावधान नहुन सक्छन् । किनकि खानपान नै अनियन्त्रित बन्छ भने कतिपय आपराधिक मानसिकताका व्यक्तिका लागि भिडभाडको यात्रा मौकामा परिणत हुन्छ । पकेट मार्ने, गरगहना लुट्ने, सरसामान चोरी हुने, गुण्डागर्दी र अभद्र व्यवहार गर्ने घटनाहरू दसैंमा बढी हुन सक्छन् । सार्वजनिक सवारीबाट गरिने यात्रामा भौतिक दूरी कायम राख्न कठिन हुने भएकाले संक्रमणको जोखिम पनि उत्तिकै हुन्छ । यसको साथै दसैंको समयमा आफ्नो हैसियतभन्दा बढी खर्च गर्न हौसने र दसैं समाप्त भएपछि लामो समयसम्म पछुताउन गर्र्नुहुँदैन ।
आम्दनी खर्चको लेखाजोखा नगरी फजुल खर्च गरिए दसैं दशामा परिणत हुने सम्भावना उपर सबैले सावधान बन्नुपर्दछ ।
नवदुर्गाको मान्यजनबाट आशीर्वाद लिन चुनौतीपूर्ण ढंगले लामो यात्रा गर्नुभन्दा पनि फोन संवादबाटै आशीर्वाद लिँदा उत्तम हुनेछ
(ग) शंकास्पद अपरिचितसँग अपनाउनुपर्ने सावधानी:
दसैंको समयमा त्यसै पनि आपराधिक घटना बढ्छन् । कोरोना प्रभावको कारण मुलुकको आर्थिक अवस्था नै अहिले धराशायी भएको छ । उद्योग, कलकारखाना सञ्चालन हुन नपाउँदा आश्रित श्रमजीवी बिचल्लीमा परेका छन् । स्वदेश एवं विदेशकै रोजगारहरूले रोजगारी गुमाउनु परिरहेको छ । सरकारले पनि वैकल्पिक रोजगारीको व्यवस्था मिलाउन सकेको छैन । श्रमजीवी हजारौं नागरिकहरू विदेशबाट फर्किएका छन् । स्वदेशमा भरपर्दो रोजगारीको व्यवस्था नहुँदा अधिकांश नागरिकलाई खान लगाउनकै समस्या परिरहेको छ । यस्तो अवस्थामा ज्यान बचाउनकै लागि पनि कतिपय व्यक्तिहरू आपराधिक कार्यमा संलग्न रहन्छन् । यो पृष्ठभूमिमा आएको दसैं सबैका निम्ति आकर्षक भए पनि सुखान्त भने हुन सक्दैन । यसैले दसैंको समयमा आपराधिक घटनाहरू बढ्न सक्ने भएकाले सबैले सचेत बन्नुपर्दछ । शंकास्पद र अपरिचित व्यक्तिसँग सधैं टाढा रहनुपर्दछ । यस क्रममा कतिपय चिनेजानेकै कुटिल मानसिकताका व्यक्तिले फसाउन र धोका दिन सक्छन् । कुटिल मानसिकताको व्यक्तिको हृदय स्वच्छ हुँदैन । अर्कालाई धोका दिने, जालझेल र छलकपट गर्ने, अर्कालाई फन्दामा पारी हैरानी दिलाउने कुटिल मानसिकताका व्यक्तिको आदत हुने भएकाले त्यस्ता व्यक्तिसँग नजिकको हेलमेल गर्नुहुँदैन । सबैको आम्दानीको अवस्था र हैसियत पनि एकै हुँदैन । आफू परिश्रम र मिहिनेत नगर्ने अर्काले गरेको देख्न नसक्ने इष्र्यालु व्यक्तिहरू पनि हामीसँगै समाजमा रहेका हुन्छन् । त्यस्ता व्यक्तिहरू मौका पर्दा जे गर्न पनि पछि नपर्ने भएकाले उनीहरूसँग सधैं सचेत बन्नुपर्दछ । यस्ता व्यक्तिबाट दसैंको समयमा बढी चुनौती आउन सक्छ ।वास्तवमा समस्यामाथि समस्या थपेर दसैं मनाउने, कोरोनाको जोखिमलाई वास्ता नगर्ने तथा आइलाग्न सक्ने सम्भावित चुनौती उपर सजग नबन्ने हो भने यही असावधानी नै हाम्रो लागि घातक बन्न सक्छ । यसैले सर्वप्रथम हामीले आफ्नो सुरक्षालाई सबैभन्दा महŒवपूर्ण ठान्नुपर्दछ । जीवन सुरक्षित रहे अन्य कार्यहरू क्रमशः हुँदै जान्छन् भन्ने कुरा बिर्सनुहुँदैन । दसैंको समयमा प्रायः गरी लुटपाटका घटनाहरू बढी हुने गर्दछन् । ऋण गरेरै भए पनि इज्जत धान्ने हाम्रो सामाजिक कुरीति अझै कायमै छ । हुने खानेले लाए खाएको देखेर समाजको सामु आफ्नो पनि इज्जत राख्ने उद्देश्यले हैसियत बेगरको रवाफ देखाउनु उचित हुँदैन । हुन त वर्ष दिनमा आएको चाड राम्रैसँग मनाउन भन्ने चाहना सबैको हुनु स्वाभाविक हो । कतिपयले ऋण गरेर लगाएको वा अर्कासँग मागेर लगाएकै गहना लुटिएर विचलित बनेका घटनाहरू पनि छन् । तथापि देखासिखीमा इज्जत हुन्छ भन्ने ठान्नु मूर्खता हो । सादा जीवन उच्च विचार व्यक्तिको सबैभन्दा ठूलो सम्पत्ति हो । धन सम्पत्ति र गरगहनामा इज्जत हुँदैन, जति विचारमा स्वच्छता र महानतामा हुन्छ भन्ने कुरा हामीले मनन गर्न सक्नुपर्दछ ।अहिलेको दसैं वातावरणीय समस्याको कारण उल्लासमय छैन । नवदुर्गाको प्रसाद थाप्न र मान्यजनबाट आशीर्वाद लिन चुनौतीपूर्ण ढंगले लामो यात्रा गर्नुभन्दा फोन संवादबाटै आशीर्वाद लिने । मान्यजनसँग अनलाइबाट भेट गर्ने, धाक रवाफ बेगर स्वच्छ र पवित्र मनले टीका प्रसाद प्रदान गर्ने मेरा लागि मात्र होइन अहिलेको दसैं सबैका लागि नै उल्लासपूर्ण छैन भनी समाजलाई हेरेर चित्त बुझाउने प्रयास गरिए यो दसैं बिग्रिए पनि आगामी दसैं हामी सबैको निम्ति उल्लासमय हुनेछ ।