टंक पन्त । 

कोरोना महामारीले गर्दा नेपाली पत्रकारिता क्षेत्र पनि गम्भीररुपमा प्रभावित भएको छ । विगत ८ महिनादेखि विश्वले नै कोरोना महामारीको सास्ती भोग्नुपरेको छ । जसमा नेपाल पनि पछिल्लो समयमा निकै प्रभावित भएका छन् । यस महामारीकै कारण देशको आर्थिक स्थितिमा गम्भीर धक्का लागेको छ । उद्योग, कलकारखाना लामो समयदेखि बन्द छन् भने अहिले पनि होटललगायत पर्यटकीय क्षेत्र ठप्प रहेका छन् । यसले गर्दा राज्यको आम्दानीको स्रोत निकै खुम्चिएको छ । रोजगारमा रहेकाहरुलाई कामविहीन बनाएकोले उनीहरु र उनीहरुका परिवारलाई साँझ–बिहानको छाक टार्न पनि धौ–धौ भएको छ । कतिपय परिवार त जीवन धान्न दिनहुँ रत्नपार्कमा चलाइएको सहयोगको खाना भण्डारमा बिहानै लाइन लाग्न जाने गरेका छन् । यो अवस्था कहिलेसम्म रहने र कसरी चल्ने भन्ने प्रश्न हाम्रा सामु रहेको छ ।विश्वलाई नै तबाहा–तबाहा बनाएको कोरोना महामारीले नेपालको पत्रकारिता क्षेत्रमा पनि निकै घाउ–चोट लगाएको छ । ०७६ चैतको पहिलो हप्तादेखि भएको लकडाउनले पत्रकारिता क्षेत्रमा तालाचाबी मात्र लगाएन, कैयौँ मिडिया हाउसका ढोका अहिलेसम्म पनि खुल्न सकेका छैनन् । जिल्ला–जिल्लामा साना लगानीमा सञ्चालित पत्रपत्रिका, अनलाइन, रेडियो, टेलिभिजनहरु बन्द भएका छन् भने चलेका मिडिया हाउसहरु पनि केवल चल्नका लागि मात्र चलेका छन् ।राष्ट्रिय स्तरका पत्रपत्रिकाका पेजहरु घटेका छन् भने रेडियो, टेलिभिजन, अनलाइनहरु दुब्लाएका छन् । संस्थाहरुमा आम्दानी ह्वात्तै घटेकोले यसको मार सञ्चालकहरुलाई परेको छ नै, त्यसमा पनि श्रमजीवी पत्रकारहरुलाई प्रत्यक्षरुपमा परेको छ । नेपाली पत्रकारहरुको अन्तर्राष्ट्रिय सञ्जाल इन्जाले गरेको प्रारम्भिक अध्ययनअनुसार देशभरिका करिब साढे ६ सय पत्रकारहरुलाई कोरोना महामारीले गम्भीर असर पारेको छ । कतिपयको त परिवार नै नचल्ने अवस्था देखिएको छ भने कतिपयले बल्लबल्ल चलाएका छन् । दुई दशकदेखि पत्रकारिता गर्दै स्थापित भएका साथीहरुले पनि जागिरबाट हात धुनुपरेको छ । कैयौँ पत्रकारले पत्रकारिता नगर्नुभन्दा काम गरिराखौँ भन्ने रुपमा बेतलबी भएर पनि काम गरिरहेका छन् ।लामो समयदेखि पत्रकारिता गर्दै आएका र आमनागरिकलाई सूचना सम्प्रेषण गर्दै आएका पत्रकारहरु जागिर गयो भनेर नलेखी बस्न सक्तैनन् । किनकि सूचना दिने पत्रकारको दायित्व र कर्तव्य हो । त्यसैले पत्रकारिता गरिरहनुपर्छ भन्ने सोचाइ आमपत्रकारमा हुन्छ ।

यसर्थ आज पत्रकारहरुले ८ महिनामा तीन महिनाबराबरको तलब लिएर पनि काम गरिरहेका छन् । कतिपय संस्थाको आर्थिक स्थिति खराब भएकोले पनि संस्था र पत्रकारहरुबीच भएको सहमतिमै सो अनुसार काम भएको पाइएको छ । कतिपय संस्थाले आर्थिकरुपमा सम्पन्न भए पनि कोरोना महामारीको बहाना बनाएर तलब निकै थोरै दिने गरेका छन् । पत्रकारिताको माध्यमबाटै निकै मिडिया हाउसले कोरोना महामारीको बहाना बनाएर श्रमजीवी पत्रकारहरुलाई लखेट्ने काम गरे, त्यो घातक रहेको छ । त्यो श्रमजीवी पत्रकारहरुप्रति गरिएको गम्भीर अपमान र अन्याय हो । त्यस्तो अन्याय गर्नेले थुपारेको धन भविष्यमा सही ठाउँमा प्रयोग गर्न सक्ने छैनन् । किनकि धेरै लामो समयदेखि काम गरेका श्रमजीवी पत्रकारहरुको आत्मा रोएको छ ।कतिपय मिडिया हाउसले आर्थिक स्थिति ठीकठीकै हुँदा पनि पत्रकारहरुसँगकै सहमतिमा अप्ठ्यारो अवस्था रहुन्जेल केही कन्सिडर गर्ने गरी कामबाट नहटाई निरन्तरता दिए । यसलाई सकारात्मकरुपमा लिनुपर्छ तर त्यो पनि लामो समयसम्म जारी रह्यो भने काम गर्नेहरुको मनोबल घट्दै जानेछ । त्यसको असर संस्थालाई पर्ने हुन्छ । यसर्थ त्यसतर्फ नेतृत्वले ध्यान दिनुपर्छ । निश्चय नै पत्रकारिता क्षेत्र दुब्लाउनु भनेको प्रेस स्वतन्त्रता, आमनागरिकले पाउनुपर्ने सूचनामाथि गम्भीर ठेस लाग्ने कुरा हो । यसले मुलुकको समृद्धि र विकासमा समेत असर पुग्ने गर्दछ ।भर्खरै बामे सर्दै गरेको पत्रकारिता यसै त राम्ररी व्यावसायिक नभैसकेको अवस्थामा कोरोना महमारीको संकटले पत्रकारिता नै गरेर जीविकोपार्जन गर्नेहरुको परिवारलाई सबैभन्दा बढी क्षति पु¥याएको छ । लामो समयदेखि पत्रकारितामा समर्पित परिवारमा सामाजिक, मनोवैज्ञानिकरुपमा असर परेको छ । पत्रकारिता गरेर पनि परिवार अगाडि बढ्न सक्छ भन्ने सोचाइमा रहेको परिवारमा नसोचेको प्रहार भएपछि त्यो परिवारको विकासमा असर पर्न थालेको अध्ययनले देखाएको छ ।इन्जाले अधिकांश जिल्लाका केही पत्रकारहरुसँग गरेको भर्चुअल कुराकानीमा परिवारका सदस्यको त्यो खालको गुनासो र चिन्ता रहेको छ । यो अवस्था आउनु भनेको पत्रकारिताको विकासमा समेत गम्भीर धक्का लाग्नु हो । यो गम्भीरतालाई समयमै सम्बोधन गर्न राज्यले पनि आवश्यक पहल गर्नुपर्छ भने मिडिया हाउस र सञ्चालकहरुले श्रमजीवी पत्रकारकै कलमले गर्दा आज हामी यहाँ पुगेका हौं भन्ने कुरा सोचिदिनुपर्छ । सञ्चालकहरुको लगानी, मेहनत र पत्रकारहरुको कलम दुवैले गर्दा संस्था स्थापित भएको छ । यसलाई दुवैको एक–अर्काप्रति गरिने सम्मानबाटै थप अगाडि बढाउन सकिन्छ भन्ने सोचको विकास हुनुपर्छ ।

देशको पत्रकारिता र श्रमजीवी पत्रकारहरुको गम्भीर अवस्थाको अध्ययन गरिसकेपछि नेपाली पत्रकारहरुको अन्तर्राष्ट्रिय सञ्जाल इन्जाले अति अप्ठ्यारोमा परेका पत्रकारहरुलाई केही सहयोग गर्नुपर्छ भन्ने निर्णय गरेर अहिले पहिलो चरणमा करिब ७५ जना पत्रकारलाई लेखनवृत्तिमार्फत सहयोग अभियान चलाएको छ । देशभरिका पत्रकारसमक्ष गरिएको आह्वान र सामाजिक सञ्जालबाट पनि गरिएको सूचनामार्फत सम्पर्कमा आएका ३ सय पत्रकारमध्ये पहिलो चरणमा अति प्रभावित पत्रकारहरुलाई छनोट गरेर लेखनवृत्तिको काम भइरहेको छ ।प्रेस स्वतन्त्रतालाई धरापमा पर्न नदिने गरी इन्जा ग्लोबलका अध्यक्ष गुणराज लुइँटेलको नेतृत्वमा उपाध्यक्ष किशोर सापकोटा, निवर्तमान वरिष्ठ उपाध्यक्ष सुनिलमणि दाहाल, उपाध्यक्ष विष्णु शीतल, विजय थापालगायतका पदाधिकारी, सदस्य र शुभेच्छुक साथीहरुको प्रमुख भूमिकामा काम भैरहेको छ । जुन परियोजनाले गर्दा इन्जा नेपालमा मात्र होइन विश्वमै स्थापित भएको छ । अझ पछिल्लो समयमा कोरोना महामारीका कारण पत्रकारहरुमा लागेको घाउमा मलहम लगाउने गरी भएको लेखनवृत्तिले श्रमजीवी पत्रकारहरुमा उत्साह छाएको छ र पत्रकारहरुलाई परेको बेला नेपाली पत्रकारहरुको अन्तर्राष्ट्रिय सञ्जाल इन्जा छ है भन्ने परेको छ । कोरोना महामारीको संकटबाट पीडित पत्रकारलाई राहतको अनुभूति पनि भएको छ । तर धेरै पत्रकारहरु प्रभावित भएकाले सबै पक्षबाट सहयोगको हात बढाउनुपर्ने खाँचो छ ।नेपाली पत्रकारहरुको अन्तर्राष्ट्रिय इन्जा ग्लोबलको निर्णय अनुसार इन्जा एसियाको संयोजनमा भैरहेको लेखनवृत्ति कार्यक्रममा पत्रकारहरु निकै सक्रियताका साथ लाग्नुभएको छ । उहाँहरुले विभिन्न मिडियामार्फत दिने सामग्रीहरु रोचक र नयाँ खालका रहेका छन् । यो कार्यक्रमलाई प्रभावकारी बनाउन सहयोगी भूमिका निर्वाह गर्नुहुने मानवअधिकार सञ्चार प्रतिष्ठानका अध्यक्ष मीना शर्मा, इन्जाका सल्लाहकारहरु तीर्थ कोइराला, तारानाथ दाहाल, घमराज लुइँटेल, इन्जाका जिम्मेवार साथीहरु दीपक रिजाल, रीता सापकोटा, नारायण न्यौपाने, दीपेन्द्रदोङ तामाङ, दिपु पोखरेल, रामप्रसाद भण्डारी, विशाल गैरे, विनेश खनाल, लीलाधर उपाध्यायलगायतका इन्जा एसियाको सिंगो टिमप्रति इन्जा एसियाको अध्यक्षको हैसियतले म टंक पन्त आभार व्यक्त गर्दछु । किनकि पत्रकारहरुलाई अप्ठ्यारो परेको बेला सहयोग गर्नेहरु भनेका साँच्चिकै भगवान् हुन् । पत्रकारमाथि संकट पर्नु भनेको सिंगो पत्रकारितामाथि नै आँच आउनु हो । त्यसैले पत्रकारिताउपर आँच आउन नदिन पनि इन्जाले भूमिका निर्वाह गरिरहेको छ ।नियमितरुपमा काम गरिरहेका पत्रकारहरुलाई विनाआधार काममा नआउनू भन्नु र काम गर्ने वातावरणलाई बिगार्ने काम कसैबाट गर्नुहुँदैन । प्रेस स्वतन्त्रता, सूचनाको हक प्रत्याभूति गर्ने जिम्मेवारी बोकेका पत्रकारहरुलाई राज्यले पनि सहयोग गर्नुपर्छ । श्रमजीवी पत्रकार ऐन व्यवहारमै कार्यान्वयन गराउने दायित्व पनि राज्यकै हो । राज्यले गर्नुपर्ने भूमिका निर्वाह गर्नुपर्छ भने पत्रकारहरुले पनि आफ्नो व्यावसायिकतालाई तिखार्दै लैजानुपर्छ । व्यावसायिकताप्रति कतिपय साथीहरुले जिम्मेवारीबोध नगर्दा सिंगो पत्रकारितामाथि नै आक्षेप लाग्ने गरेको छ । पत्रकारिता जति व्यावसायिक हुन सक्यो त्यति पत्रकारहरुको गरिमा बढ्ने हो ।पत्रकारहरुले कसैप्रति रिस उठ्यो भन्दैमा जे मन लाग्यो त्यही लेखे भने पत्रकारहरु यस्तै हुन् भन्ने आरोप लाग्छ । त्यसतर्फ हामीले पनि ध्यान दिनुपर्ने खाँचो छ । पत्रकारितालाई व्यावसायिक र व्यवस्थित बनाउन आफ्नो ठाउँमा भूमिका खेल्ने गरी इन्जाले आगामी योजनासमेत तय गरेको छ । देशभरिका पत्रकारसँग अन्तरक्रिया गरी अहिलेको अवस्थामा पत्रकारहरुका समस्या के छन्, समस्या समाधानका लागि के गर्नुपर्छ, कसको भूमिका के हुन्छ, अब कसरी अगाडि बढ्नुपर्छ र इन्जाले के गर्न सक्छ भन्ने निष्कर्ष निकालिनेछ ।कोरोना महामारीपछि नेपाली पत्रकारिता क्षेत्रमा परेको असर र पत्रकारहरुले भोग्दै आएको समस्या आफैंमा प्रेस स्वतन्त्रतामाथि अंकुश लाग्ने खतरा हो भन्ने रुपमा लिनुपर्छ । त्यसैले सबै पक्षले पत्रकारितालाई व्यावसायिक र प्रभावकारी बनाउन भूमिका निर्वाह गर्नुपर्छ ।मिडिया सञ्चालक र श्रमजीवी पत्रकारहरु मिलेर नै संस्था अगाडि बढ्ने हो भन्ने कुरालाई सञ्चालकहरुले पनि बुझिदिएमा कोभिड–१९ को प्रभावमा परेका साढे ६ सय पत्रकारले पनि राहत पाउने थिए । त्यसमध्ये कतिपय पत्रकारलाई इन्जाले गरेको सहयोग केवल टोकनको रुपमा रहेको छ । तैपनि इन्जाको सहयोगलाई आमपत्रकारले अत्यन्तै उत्साहको रुपमा लिएका छन् । त्यसले इन्जाका लागि आगामी दिनमा सहयोगी हात बढाउने गरी योजना बनाउन महत्वपूर्ण भूमिका खेल्ने विश्वास गरिएको छ ।


Your Views
Related News