विश्व समुदाय नै कोरोनाको कहरबाट आक्रान्त भईरहँदा म पनि एक दिन यसबाट अछुतो रहन सक्दिनँ भन्ने पहिलेबाट नै मनमा लागि रहेको थियो। यसबाट सकेसम्म आफू बच्नलाई पूर्व सावधानी पनि रामैसँग अपनाएको थिएँ।सधैँ बिहान उठेर आफ्नो नित्य कर्म सकेर कार्यालय जाने र बेलुकी घर फर्किने दैनिकी चलिनै रहेको थियो। घरमा सानो ३ वर्षको छोरा, ममी अनि श्रीमान् हुनुहुन्थ्यो। श्रीमान् पनि अफिस जानु हुन्थ्यो। धेरैजसो घरमा बस्ने ममी र छोरा मात्र हुन्थे। हरेक दिन अफिसबाट घर फर्कदा मन आत्तिरहेको हुन्थ्यो।बारम्बार एउटै कुरा मनमा खेलीरहन्थ्यो, यदि मलाई कोरोना भयो भने घरमा बस्ने त्यो सानो बालक अनि उमेर घर्किएकी मेरी आमा माथि पनि पाप हुनेछ। यस्तै अनुभूति हुन्थ्यो। लामो साँस फेरेर सुटुक्क घरभित्र पस्थेँ, नुहाइ-धुवाइ गरेर सकेसम्म छुट्टै कोठामा बस्थेँ तर पनि त्यो अबोध बालकले के बुझ्थ्यो र! दिनभरि आमा कति खेर आएर मलाई अंगालो हाल्छे भनेर उसका आँखा मेरै लागि चिहाईरहेका हुन्थे।आउनासाथ ढोका बन्द गरेर बस्दा उस्को अबोध बालापनले आमाको न्यानो स्पर्श खोज्नु स्वभाविक नै थियो र म पनि आफ्नो मनलाई सम्हाल्न सक्थिनँ। उसलाई अंगालोमा बाधेर कुरा गर्थैँ। तर डर लागि रहन्थ्यो, कतै मैले आफूसँगै कोरोना बोकेर छोरालाई सारेको त छैन हे भगवान!एक दिनको कुरा हो, अफिसबाट घर फर्किएपछि शरीर कमजोर भएर एकदम दुख्यो, अचानक शरीरमा कम्पन छुट्यो र ज्वरो आयो। ज्वरो नाप्दा १०२ सम्म पुगेको थियो। अलि अलि त मलाई शंका लाग्न थालीसकेको थियो। कतै करोना त छैन? तर पनि सिजनल फ्लू पनि त हुन सक्छ भन्ने सोचेँ र सिटामोल खाएँ।भोलिपल्ट बिहान उठ्दा ज्वरो कम थियो। तर पनि मन यत्तिकै मानेन, त्यो अबोध बालकको अनुहार सम्झिएँ अनि घरका अरु सदस्यको। अब एकचोटि कोरोना परीक्षण गर्नु नै पर्छ भनेर छाउनी अस्पताल गएर स्वाब परीक्षण गर्न दिएँ। त्यस दिन दिनभर टाउको दुखे जस्तो अनि भमिट आउन खोजेजस्तो भयो र बोल्न खोज्दा पनि लामो सास नपुगे जस्तो अनुभूति भयो।अब त मलाई कुनै शंका थिएन, पक्कै पनि कोरोना भयो भन्ने लागि सकेको थियो। केबल त्यो एउटा रिपोर्टको मात्र प्रतिक्षामा थिएँ। त्यो दिन अफिसबाट छिट्टै घर आएँ। घरको माथि नगइ तल ग्यारेजमा नै बसेर रिपोर्टको प्रतिक्षा गरेँ। प्रतिक्षा स्वरुप एकछिनपछि मोबाइलको घण्टी बज्यो। श्रीमानको रहेछ, अत्तालिदै फोन उठाएँ।त्यही दिन श्रीमानको र मेरो स्वाब परीक्षण गर्न दिएका थियौँ। मेरो रिपोर्ट नेगेटिभ आयो भन्नु भयो। अलिकति लामो सास फेरेँ। तिम्रो रिपोर्ट के आयो भन्दै हुनु हुन्थ्यो, मैले आएको छैन भनेर फोन काटेँ। पोजिटिभ आउला भन्ने मलाई लागि सकेको थियो। लक्षणहरु मिल्लो जुल्दा थिए। एकछिनमा मोबाइलमा म्यासेज आयो- लग इन एन्ड पासवर्ड, रिपोर्ट हेर्नको लागि। मन भित्र-भित्र आत्तिएको थियो। शरीर कापीरहेको थियो। बल्ल-बल्ल हिम्मत गरेर लग इन गरेँ। अन्त्यमा रिपोर्ट पोजिटिभ नै आयो। जे नहोस् भन्ने थियो, त्यही नै भयो।आफूलाई पोजिटिभ देखिनुभन्दा पनि बढी डर मलाई छोराको नै थियो। झल्झली छोराको त्यो निर्दोश अनुहार अनि ममीलाई सम्झिन थालेँ। त्यही घरको तल ग्यारेजमा बसीरहेको थिएँ। अब माथि चढेर छोरा र ममीलाई भेट्ने हिम्मत पनि ममा रहेन। हात खुट्टा खुल्ला भएपनि साङ्लो लगाएको कैदी जस्तो अनुभव भयो। बारम्बार आमाको फोन आएको थियो, ‘छोरी रिपोर्ट के आयो? ज्वाइको त नेगेटिभ आयो, ठीकै भयो। तिम्रो पनि नेगेटिभ नै आउछ होला, छिट्टै घर आऊ बाबुले खोज्दै छ’ भन्नुभयो।’हस् ममी’ भनेर फोन राखेँ। त्यसपछि लगत्तै मैले श्रीमानलाई जानकारी गराएँ। उहाँले बच्चालाई रिस्क हुन्छ, त्यसैले अस्पतालमा नै बस्ने कुरा गर्नु भयो। मलाई अलि-अलि सास फेर्न पनि गार्हो भएको थियो। म आफै अस्पताल पुगेँ र एउटा कोठा मेरो लागि म्यानेज गरियो।कोरोना पोजिटिभ भन्ने ट्याग लाग्ने बित्तिकै मसँग सबै टाढा भईसकेको अनुभूति मैले गरेँ। एकछिनमै सबै परिवर्तन भयो। न त कसैलाई भेट्न पाउनु न त नजिक जान मिल्नु। सँगै बसेको श्रीमानको पनि टाढाबाट आवाज सुन्थेँ ‘तिमीलाई फलफूल र खाना पठाईदिएको छु है।’अघिल्लो दिन अफिसबाट सिधैँ अस्पताल आएको, एकचोटि छोराको मुख हेर्न पाए पनि कस्तो हुन्थ्यो होला? यस्तै कुराहरु सोचिरहेँ। अस्पतालको त्यो रात मलाई ऐठन भएजस्तो कहाली लाग्यो, निदाउन खोज्दा पनि निदाउन नसक्ने, बारम्बार एउटै कुरा मात्र मनमा खेलिरहन्थ्यो। यदि छोरा र ममीलाई पनि कोरोना पोजिटिभ देखियो भने?विस्तारै मलाई गलेको जस्तो अनुभूति भएको थियो। शरीरमा सोला रोपेको जस्तो, शक्ति नभएको जस्तो। त्यो रात कहिले एउटा कोल्टो, कहिले अर्को कोल्टो फर्किएँ। घडी हेरी रहेको छु १०, ११, १२ बजेको थाहा पाईरहेको थिएँ। समय पनि कति ढिलो बिते जस्तो, भोलिपल्ट छोरा र ममीको रिपोर्ट आउने कुरा थियो।मलाई भित्र भित्रै डर लागीरहेको थियो। त्यो रात म अस्पतालमा मानसिक रुपमा पनि कमजोर भएँ। रात सुनसान थियो, खाली कुकुर मात्र भुकेको आवाज मात्र सुनिने, आफै माथि बारम्बार आत्माग्लानी भईरहेको थियो। मेरै कारणले सबैले दुख पाउने भए। त्यो बच्चालाई के थाहा, कोरोना के हो?त्यो नाबालक छोराले दुःख पाउने भयो। बारम्बार यही कुरा मनमा खेलिरह्यो। घडीको टक टक आवाजले पनि मलाई झस्काईरह्यो। कुकुर भुकेको आवाजले पनि मेरो विवशता र कमजोरीलाई सहानुभूति दिएको जस्तो अनुभूति हुन्थ्यो। यसरी सोच्दा सोच्दै म निदाएछु।बिहान उठेपछि लगातार घरबाट फोन आईरहेको थियो। फोन हेरेर पनि उठाउन मन नै लागेन। छोराको धेरै पिर लागेको थियो। दिउसो ३ बजे श्रीमानले कल गर्नु भयो। मेरो आत्मविश्वास एकदम कम भईसकेको थियो। हे भगवान, मैले नराम्रो सुन्न नपरोस् भन्ने मात्र लागि रहेको थियो।रिपोर्ट के आयो? (बाबु र ममीको) भनेर अत्तालिएरै सोधेँ। दुवै जनाको पोजिटिभ आयो भन्नु भयो, मैले फोन काटेँ। आँखाबाट आँसु बरर्रर झर्यो। मैले थाम्न सकिनँ। जे नहोसँ भनेको थिएँ, त्यही भयो। मैले छोरालाई नभेटेको, अंगालो हाल्न नपाएको, स्पर्श गर्न नपाएको पनि २ दिन भईसकेको थियो। आफूलाई बेचैन भएको महशुस गरेको थिएँ।अब १४ दिन कसरी काट्नु? त्यही पनि छोराले त्यो पीडा कसरी सहन्छ। मानसिक रुपमा पनि क्षतविक्षत भएँ। मैले आफ्नो अगाडि अन्धकार मात्र देखेँ। ठूलो पापको बोझ बोके जस्तो अनुभूति भयो। म त घरबाट बाहिर निस्किएँ ठिक छ, तर त्यो ३ वर्षै बालक र ममी त सधैँ घरमै सुरक्षित हुनुहुन्थ्यो।मैले नै उनीहरुलाई कोरोना सारेँ, धिक्कार छ मलाई भन्दै म रुन थालेँ। आखिर घरको ३ जना, म लगायत ममी र छोरा पनि कोरोनाबाट ग्रसित भयौँ।कस्तो रोग हो यो? पीडा हुँदा परिवारको साथमा बस्न नपाइने? साथ चाहिदा टाढा बस्नु पर्ने, माया लाग्दा माया लुकाउनु पर्ने। यदि अन्त्यमा मरीहाले पनि परिवारको अनुहार देख्न नपाइ मर्नु पर्ने। न त लासलाई पनि हेर्न नै पाइने। हे भगवान! जब आफूलाई पर्छ, अनि मात्र थाहा हुने रै छ। शारीरिक त के हो र, मानसिक पीडा कति कति। एउटा बन्दा कोठामा कैदीको जस्तो जीवन, ढोकाको सानो प्वालबाट खाना पनि मागेर खानु पर्ने उदेग लाग्यो, सम्हालिन सकिनँ।अब आफ्नो मनलाई बलियो बनाउनु बाहेक केही उपाय थिएन। बच्चा र ममीको अनुहार सम्झिएर पनि मैले हिम्मत जुटाएँ र श्रीमानलाई फोन गरेँ। अब यत्तिकै पनि छोरा र ममीलाई पोजिटिभ आयो, म घर आउछु। होम आइसोलेसनमा बस्छु। कमसे कम टाढैबाट भएपनि छोराको आवाज सुन्न पाउछु। छोराको स्वर सुनेर भएपनि चित्त बुझाउछु।एम्बुलेन्सले मलाई घरसम्म ल्याईदियो। तीनै जान कोरोना पोजिटिभ भएपनि छोरा र ममीलाई भन्दा मलाई अलि धेरै लक्षण देखिएको हुनाले घरमा पनि म छोराबाट टाढा नै बस्ने निधो गरेँ। श्रीमानले छोरालाई अर्को कोठामा लुकाउनु भयो। अनि म सुटुक्क अर्को कोठामा छिरेँ। बिडम्बना के थियो भने, श्रीमानको कोरोना नेगेटिभ देखिएपनि कोरोना भएको छोराको हेरचाह उहाँले नै गर्नु पर्ने भयो।मसँगै छोरा बस्दा छोरा पनि इन्फेक्टेड होला भन्ने डर एकातिर थियो भने अर्को तिर श्रीमानलाई पनि पोजिटिभ देखिएला भन्ने डर थियो। तर हामीसँग त्यो बाहेक विकल्प पनि त थिएन। त्यसपछि घरमै हामीले प्रोटोकलको पालना गर्यौँ। आज १३ दिन भयो म घरमा आइसोलेसनमा बसेको, छोरालाई म घर आएको अहिलेसम्म थाहा छैन।मामु हस्पिटलमा होईसिन्छ, कहिले आईसिन्छ? भनेर सोधिराख्छ, मैले सुनीराखेको हुन्छु। मेरो साथ बिना ऊ एकदिन पनि सुत्न सक्थेन। अहिले बाबासँग सुत्ने बानी परेको छ। बेलाबेलामा ममी चाहियो भनेर भन्छ। म बन्द कोठामा उस्को आवाज सुनेर रुन्छु। झ्यालबाट लुकेर उसलाई हुर्छु। धिक्कार छ, म यही भएर पनि तिमीलाई अँगाल्न सकिनँ, आमाको ममता दिन सकिनँ भनेर रुन्छु।यो समय धेरै पीडादायि हुने रहेछ। झन् आफ्नो दुधे नाबालक छोरासँग छुट्टिएर आइसोलेसन बस्नुपर्दा…भनिन्छ नि, कि त परेर कि त पढेर जानिन्छ। जब आफैले यसको सामना गर्नु पर्छ, अनि मात्र थाहा हुँदो रहेछ। परिवारसँग टाढिनुको पीडा, सानो दुधे छोरासँग छुट्टिनुको पीडा, मानसिक रुपमा सम्हालिन पनि गाह्रो हुँदो रहेछ। अब केबल म आफ्नो छोराको अनि ममीको रिपोर्टको पर्खाईमा छु। आशा छ नेगेटिभ आउने छ अनि छोरालाई अंगाल्नेमा लिनेछु, स्पर्ष गर्नेछु।यत्रो १३ दिन छोरासँग छुट्टै बस्नुको पीडा म कल्पना पनि गर्न सक्दिनँ। अर्कोतिर छोरा पनि त्यतिकै आत्तिएको छ, कहिले ममीलाई भेट्ने भनेर। सबैमा अनुरोध गर्न चाहन्छु, आफ्नो परिवार र बालबच्चाको लागि भएता पनि भौतिक दूरीको पालना गर्नुहोला। आफू लगायत परिवारलाई पनि कोरोना भएर छुट्टिनु पर्दाको पीडा असह्य र पीडादायी हुने रहेछ।

 


Your Views
Related News