काठमाडौ । आज बिहानै रुपन्देही र सुनसरीमा थप तीन जना कोरोना संक्रमितको मृत्यु भएको छ । दुई जना बुटवल उपमहानगरपालिका हुन् भने एक जना सुनसरीका हुन् ।

बुटवल उपमहानगरपालिका वडा नं. ११ देवीनगरका ४७ वर्षीय पुरुष र वडा नं. १७ मोतिपुरका ८१ वर्षीय पुरुषको उपचारका क्रममा कोरोना अस्पताल बुटवलमा मृत्यु भएको जनाइएको छ । दुवैजनाको भेन्टिलेटरको सहायतामा उपचार भइरहेको थियो ।

असोज २४ गते कोरोना संक्रमण पुष्टि भएपछि सोही दिन अस्पताल भर्ना भएका ४७ वर्षीय पुरुषको बुधबार बिहान १ः१० बजे मृत्यु भएको अस्पतालका प्रवक्ता डा. विष्णु गौतमले जानकारी दिए ।

उनमा उच्च रक्तचापको समस्या रहेको डा. गौतमले बताए । यस्तै असोज २७ गते कोरोना संक्रमण पुष्टि भएपछि सोही दिन अस्पताल भर्ना भएका ८१ वर्षीय पुरुषको बुधबार बिहान ५ बजे मृत्यु भएको अस्पतालका प्रवक्ता डा. गौतमले जानकारी दिए । लुम्बिनी प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार योसँगै रुपन्देहीमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ५३ पुगेको छ ।

संक्रमितको मृत्यु भयो । आफन्त परिवार घरमा क्वारेन्टाइनमा बसेका छन् । अस्पतालले लाश व्यवस्थापन अघि लागेको खर्च तिर्नु भनेर फोन गर्यो । अब पैसा लिएर जाने व्यक्तिपनि छैनन् ।

उनीहरुका साथमा पैसा नभएकाले माग्ने र दिने व्यक्तिपनि छैनन् । पैसा भएपनि संक्रमितसम्म पुगेर पैसा दिन सबैलाई डर छ । यो घटनाले नै देखिन थाल्यो सरकारले कोरोना संक्रमित आफैले पैसा तिनुपर्ने निर्णयको असर ।

यता आजै बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उपचाररत एकजना कोरोना संक्रमित महिलाको मृत्यु भएको छ । गडी–४ सुनसरीकी ५५ वर्षीया महिलाको गएराति ९ बजे मृत्यु भएको प्रतिष्ठानका सहप्रवक्ता डा. आशिष श्रेष्ठले जानकारी दिए ।

डा. श्रेष्ठका अनुसार ती महिलामा उच्च रक्तचापको पनि समस्या थियो । मंगलबार प्रतिष्ठानमा उपचारका लागि भर्ना भएकी उनको सोही दिन कोरोना पुष्टि भएको थियो ।

READ MORE NEWS

सुँगुरमा समेत कोरोना भाइरस : यसरी सजिलै मान्छेमा फैलिने तथ्य निस्कियो

काठमाडौ । हालै प्रकाशित एक नयाँ अध्ययन रिपोर्टले सुँगुर व्यवसायमा देखिएको कोरोनाभाइरसको नयाँ प्रजातिले सुँगुरलाई मात्र हैन, मानिसलाई पनि संक्रमित गर्न सक्ने सम्भावना रहेको तथ्य पत्ता लागेको छ । कोरोनाभाइरसको उक्त प्रजातिलाई स्वाइन एक्युट डाइरिया सिन्ड्रोम कोरोनाभाइरस भनिन्छ । यसलाई छोटकरीमा स्याड्स–कोभ पनि भनिन्छ ।

यो प्रजातिको भाइरस पनि चमेराबाटै उत्पत्ति भएको र त्यसले चीनमा सन् २०१६ सालदेखि नै सुँगुरको बथानलाई संक्रमित गर्दै आएको विश्वास गरिएको छ । यसरी सुँगुरबाट मानिसमा पनि सर्न सक्ने सम्भावना बोकेको सो कोरोनाभाइरसको महामारी फैलियो भने त्यसले संसारभरिका सुँगुर व्यवसायमा निर्भर अर्थतन्त्रलाई बिथोल्न सक्ने सम्भावना अध्ययनकर्ताहरुले औंल्याएका छन् ।

यो भाइरसले मानिसमा निम्त्याउन सक्ने सम्भावित खतराको नमूना प्रदर्शन प्रयोगशाला परीक्षणमा गरिएको थियो । त्यसमा स्याड्स–कोभ अत्यन्तै प्रभावी रुपमा मानिसको श्वासनली र आन्द्राका कोषहरुमा पुनरुत्पादन भएको देखिएको थियो । कोरोनाभाइरसको यो प्रजाति पनि अहिले संसारभरि आतंक मच्चाइरहेको बेटाकोरानाभाइरस सार्स–कोभ–२ परिवारअन्र्तगत नै पर्ने अनुसन्धानकर्ताहरुले औंल्याएका छन् ।

स्याड्स–कोभ त्यस्तो अल्फाकोरोनाभाइरस हो, जसले सुँगुरमा ग्यास्ट्रोइन्टेस्टाइनल विरामी गराउने गर्छ । यो भाइरसको संक्रमण भएपछि तीब्र रुपमा पखाला तथा वान्ता लाग्ने गर्छ । यो भाइरसको संक्रमण विशेषतः युवा सुँगुरहरुको लागि प्राणघातक हुने गरेको छ ।

यस भाइरसबारे वैज्ञानिकहरु अत्यन्तै चिन्तित बनेको एउटा पक्ष भनेको यो भाइरसले एक प्रजातिबाट अर्को प्रजातिमा फैलिन सक्ने यसको क्षमता र सम्भावना हो ।

स्याड्स–कोभले अहिलेको मितिसम्म मानिसलाई संक्रमित गरेको कुरा त पत्ता लागेको छैन । तर अध्ययनको क्रममा अनुसन्धानकर्ताहरुले विभिन्न किसिमका कोषहरुलाई त्यस भाइरसको सिन्थेटिक रुपबाट संक्रमित तुल्याएर परीक्षण गरेका थिए ।

उनीहरुले यसरी परीक्षण गर्नुको कारण चाहिँ दुई भिन्न प्रजातिको बीचमा संक्रमण हुँदा पैदा हुने खतरालाई पहिचान गर्नु नै थियो । सो अध्ययनबाट प्राप्त प्रमाणहरुले स्तनधारी प्राणीका थुप्रै कोषहरुलाई सो भाइरसले संक्रमण गर्न सक्ने सम्भावना रहेको पाइयो ।

त्यस अध्ययनमा स्याड्स–कोभले मानिसको आन्द्रामा रहेका कोषहरुलाई उच्च दरमा संक्रमित गर्न सक्ने देखिएको थियो । त्यसो त एउटा प्रजातिबाट अर्को प्रजातिमा भाइरस सर्नबाट रोक्ने समुदाय प्रतिरोधले मानिसलाई जनावरहरुमा पाइने थुप्रै कोरोनाभाइरसको संक्रमणबाट बचाउने गर्छ । तर उक्त अध्ययनको नतिजाले मानिसमा सुँगुरलाई संक्रमित गर्ने उक्त स्याड्स–कोभका विरुद्धमा प्रतिरोध पैदा भइनसकेको देखाउँछ ।

उक्त स्याड्स–कोभ पनि चमेरामा हुने एचकेयु२ नामका कोरोनाभाइरसबाटै आएको हो । यो एचकेयु२ भनेको विभिन्न किसिमका भाइरसहरुको समूह हो, जुन संसारभरि नै छरिएर रहेका छन् । यो भाइरस कहिले सतहमा आउँछ र मानव जनसंख्यालाई संक्रमित तुल्याउँछ भन्ने कुराको भविष्यवाणी गर्न असम्भव नै छ ।

अनुसन्धानकर्ताहरुले यो संक्रमण विरुद्धको सम्भाव्य उपचारको रुपमा रेम्डेसिभिरलाई परीक्षण गरेर हेरेका थिए । अध्ययनको प्रारम्भिक नतिजाले उक्त भाइरसको विरुद्धमा रेम्डेसिभिरको प्रयोगमा सकारात्मक नतिजा देखिएको थियो । अनुसन्धानकर्ताहरुले सुँगुरहरु र त्यस क्षेत्रमा काम गर्ने मानिसहरुलाई उक्त स्याड्स–कोभको संक्रमणका सन्दर्भमा निरन्तर रुपमा निगरानी गरिरहनुपर्ने आवश्यकता औंल्याएका छन् ।

 


Your Views
Related News