एभोकाडो अर्थात् घ्यूफलमा भिटामिन, क्याल्सियम, आइरन, एन्टी–अक्सीडेन्ट र एन्टी–भाइरल गुणहरू भरपूर हुन्छन् । यसको नियमित सेवनले तौल नियन्त्रणमा रहन्छ र क्यान्सर जस्तो गम्भीर रोग पनि लाग्न पाउँदैन । अनि छालाको सुन्दरता पनि यसले कायम गर्छ ।

यसका अन्य फाइदा यसप्रकार छन् :

एभोकाडोमा भएका गुणहरूले शरीरमा क्यान्सरका कोशिकाहरू बन्न दिँदैनन् । अनि फ्री र्‍याडिकलसँग लड्दै यसले क्यान्सरको खतरालाई पनि कम गर्छ । रक्तचापको समस्या भएकाहरूले एभोकाडो अवश्य खानुपर्छ । यसमा भएको पोटेसियमले रक्तचाप नियन्त्रणमा राख्छ । यसले मुटुलाई पनि स्वस्थ बनाउँछ । हृदयघात र मुटुरोगको जोखिम यसले घटाउँछ । यसमा भएको मोनोअनस्याचुरेटेड फाइबर र भिटामिन ईले मस्तिष्क विकास गर्छ । अनि काम गर्ने क्षमता पनि बढाउँछ । बालबालिकालाई अवश्य पनि एभोकाडो खुवाउनुपर्छ । यसमा भएको पोषक तत्त्वले आँखा स्वस्थ राख्छ । आँखाको तेज बढाउनुका साथै मोतियाविन्दु जस्ता रोग पनि लाग्न दिँदैन । यसमा भिटामिन, प्रोटीन र फाइबर अत्यधिक हुनाले घरीघरी खाइरहन मन लाग्ने समस्या आउँदैन । त्यस्तो अवस्थामा शरीरको तौल पनि नियन्त्रणमा रहन्छ । अनि शरीरको मेटाबोलिजम रेट बढेर ऊर्जा र राम्रो क्यालोरी प्राप्त हुन्छ । यसको सेवनले पाचनप्रणाली बलियो हुन्छ र रोगप्रतिरोधक क्षमता पनि मजबूत हुन्छ। पेटको समस्या यसले निराकरण गर्छ । प्रोटीन र क्याल्सियम हुनाले यसले मांसपेशी र हाड बलियो बनाउँछ । अनि शरीरमा स्फुर्ति आउँछ । यसको सेवनले छाला भित्रैबाट स्वस्थ हुन्छ । परिणामस्वरूप अनुहारमा चाउरी पर्ने अनि बुढ्यौलीका अन्य लक्षणहरू देखिँदैनन् । यसको रस वा तेल छालामा लगाउँदा सुक्खा वा क्षतिग्रस्त छालाको समस्या हुन पाउँदैन । छाला दागरहित, चम्किलो र नरम हुन्छ । शारीरिक सुगठन गर्ने पुरुष र महिलाले एभोकाडोको सेवन गर्दा फाइदा हुन्छ । यसले मांसपेशी र हाड बलियो बनाउँछ र दिनभरि फुर्तिलो अनुभव गराउँछ । दूध र मह मिसाएर एभोकाडो खानुभयो भने दोब्बर काम गर्छ ।

READ MORE NEWS

शान्ति खोज्दै आएका स्वयम्भुलाई खोकनाको आश्रय, अनि बन्द भयो मारकाट !

६ कात्तिक, काठमाडौं । कुनै समय फर्पिङका एक तान्त्रिक राजा आफ्नी प्रेमिका अजिलाई भेट्न नियमित टेकुको पचलीमा आउने गर्थे । साँझमा पचली आएका राजा बिहान झिसमिसेमै आफ्नो राज्य फर्किन्थे । नेवार परम्परामा जब मान्छे पुरानो हुँदै जान्छ उसलाई देवताको रूपमा मान्ने चलन छ । त्यसैले पचलीमा रहेकी ती अजीलाई पनि सबैले देवी नामले पुकार्थे ।सदाझैं नवरात्रको एकदिन राजा आफ्नी प्रेमिका भेट्न टेकु पुग्दा अजीले राजालाई भैरव स्वरुप देखाउन बिन्ती गरिन् । राजालाई थाहा थियो कि भैरव स्वरुप प्रस्तुत गरेपछि अजी बेहोस् हुने छिन् । बेहोसीमा उनले आफूलाई पुरानै अवस्थामा ल्याउन सक्ने छैनन् । त्यसैले उनले आफ्नो भैरव स्वरुप देख्ने इच्छा नगर्न पटक पटक आग्रह गर्दै आएका थिए ।सबैतिर ती राजाको तान्त्रिक शक्तिको चर्चा थियो । त्यही चर्चाका कारण खुल्दुलीको भूमरीमा फसेकी अजीले राजाको आग्रह स्वीकार गरिनन् र आफ्नो जिद्दी कसिरहिन् । त्यसपछि वाग्मतीको जल ल्याएर त्यसबाट कसरी भैरव स्वरुपलाई शान्त गराउने ? भन्ने विधि सुनाएर राजाले आफूभित्रको भैरव स्वरुप जगाउन थाले ।जब भैरव जाग्यो तव अजी त्यो अजंग स्वरुप देखेर बेहोस् भइन् । भैरवलाई शान्त गराउने विधि अजीबाहेक कसैलाई पनि थाहा थिएन । कोही व्यक्ति नभएपछि रातभर टेकुको पचलीमा भैरवको उग्र स्वरुप बसिरह्यो ।बिहान झिसमिसे हुन लागेपछि भैरवस्वरुपका राजा आफ्नै राज्यतिर लागे । उनी थकित मुद्रामा थिए तर उनलाई शान्त गराउने विधि जानेका कोही पनि भेटिएनन् । फर्किने क्रममा हाल खोकनाको सिकाली मन्दिर क्षेत्रमा वाग्मतीको किनारमा एउटा ठूलो रुखलाई समातेर बसिरहेका थिए । उनको शरीरमा भैरवस्वरुप अझै शान्त भइरहेको थिएन । रातिदेखि नै शरीर कापीरहेको थियो ।उता खोकनाको बस्तीमा पहिलेदेखि नै ठूलाठूला तान्त्रिकहरुको बसोबास थियो । नौरथाको दिन नवरथ नुहाउन गएका खोकनावासीले वाग्मतीको किनारमा रहेका भैरव स्वरूपलाई देखेर तान्त्रिक विधिबाट जात्रामा ढाल्नेबारे सोच्न थाले । त्यही कथासँग सम्बन्धित छ अहिले दसैंको सट्टा जात्रामा रमाउने खोकनावासीको सिकाली जात्राको किंवदन्ती । यही राजालाई जात्रामा सामेल गराएका कारण सिकाली जात्रा १२ वर्षमा एक पटक टेकुको पचली लैजाने गरिन्छ।स्कन्द पुराणको माघ महात्म्यममा उल्लेख भएअनुसार दक्ष प्रजापतिले आफू र आफ्ना पति महादेवप्रति गरेको व्यवहार सहन नसकी सतिदेवीले यज्ञकुण्डमा हामफालेर देह त्याग गरेको कुरा नारदले महादेवलाई सुनाउँछन् । क्रोधित भएका महादेवले काली र भैरवको स्तुति गरेर देवता गण उपस्थित  दक्ष प्रजापतिको यज्ञकुण्डलाई तहसनहस गरिदिन्छन् ।

सिकाली मन्दिर

सोही पौराणिक कथा अनुसारको जात्रा एक सातादेखि ललितपुरको खोकना क्षेत्रमा पर्ने सिकाली चौरमा मनाउने गरिन्छ । जहाँ सोही पौराणिक कथामा उल्लेख भएको सबै घटनाक्रमलाई नाटकीय पाराले देखाउने गरिन्छ ।खोकना हरेक क्षेत्रको लागि अरुभन्दा भिन्न र विशेष छ । धेरैले दसैं मान्न नहुने गाउँको रुपमा मात्रै यो क्षेत्रलाई चिनाउने गर्छन् । तर एउटामात्रै विशेषताले यो क्षेत्रलाई चिनाउँदा यो क्षेत्रको संस्कृतिको लागि त्यसले न्याय गर्दैन ।दक्षिण एसियामै बिजुली बत्तीको पहिलो अनुभव यही गाउँले गर्यो । १९६८ मा फर्पिङमा उत्पादित बिजुलीलाई चन्द्र शम्शेरले परीक्षणको लागि सबैभन्दा पहिले यही गाउँ रोजेका थिए । पहिलो पटक बत्ती बलेको घर अद्यापि खोकनामा सुरक्षित छ । पहिलो पटक कलधाराको पानी यही गाउँका मान्छेले पिउन पाए, १९५८ सालमा देशभरि खोलेका ६० वटा पाठशालामध्ये एउटा पाठशाला यही क्षेत्रमा खुल्यो । राणा शासकहरुले यो क्षेत्रलाई विशेष महत्व दिएका थिए । यसको मुख्य कारण यहाँको सुविधा र संस्कृति नै हो भन्छन् रुद्रायणी माध्यमिक विद्यालयका प्रधानाध्यापक कृष्णभगत महर्जन ।दसैंको समयमा सबैतिर मारकाट र हत्याहिंसा भएपछि शान्तिप्रेमी स्वयम्भु भगवानमा बेचैनी बढेर गयो । उनी यस्तो शान्त ठाउँको खोजीमा गए जहाँ शान्ति मिलोस् । त्यही बेलामा उनी खोकनामा रहेको रुद्रायणी मन्दिरमा गएर शरण लिएको किंवदन्ती छखोकना लिच्छविकाल, मध्यकाल र अहिलेसम्म पनि हरेक कोणले विशेष छ । मध्यकालमा भौतिक एवं सांस्कृतिक सुविधाका कारण यस क्षेत्रलाई जितापुर नामले चिन्ने गरिएको थियो ।खोकनावासीले अहिले पनि कुकुरा, सुँगुर र बंगुर पालेमा अशुभ हुन्छ भन्ने मान्छन् । त्यसैले यो भेगमा यी पशुपन्छी कसैले पाल्दैनन् । त्यसैले विविध विशेषताले धनी यो गाउँ दसैंको समयमा अरुभन्दा भिन्न संस्कृतिका कारण सधैं चर्चामा आउँछ ।खासमा खोकनावासीहरु सिकाली जात्रा दसैंभन्दा पुरानो जात्रा हो भन्ने विश्वास गर्छन् । त्यसैले सिकालीमा व्यस्त हुँदा दसैं मान्ने फुर्सद नभएको उनीहरुको कथन छ ।हुन पनि सिंगै गाउँ आश्विन शुक्ल प्रतिपदा (दसैं मनाउनेको लागि घटस्थापना)को दिनदेखि सप्तमी (दसैंको फूलपाती) दिनसम्म सिकाली जात्रामा व्यस्त हुन्छ । कोही भैरव, महाकाली र वीरभद्र बनेर दक्ष प्रजापतिको यज्ञ विध्वंश गर्न पुग्छन् त कोही देवता गणको रुपमा सिकाली चौरमा पुगेका हुन्छन् । रुद्रायणीसँग सम्बन्धित गुठीमा रहेका ४६ जना देवगणहरु सबै महर्जन र डंगोल थरका व्यक्तिहरु छन् ।भैरवगणले यज्ञ विध्वंश गरिसकेपछि देवता गणलाई लखेट्दै पूरै गाउँ परिक्रमा गरेपछि भोलिपल्ट सिकाली नाच देखाएर यस वर्षको सिकाली जात्रा सकिन्छ ।

स्वयम्भुलाई शरण दिने गाउँ

अन्यत्र सबैतिर दसैंको दिन आसुरी शक्तिलाई दैवी शक्तिले पराजित गरेको उपलक्ष्यमा बली चलिरहेको दिन खोकनाका कुनै पनि मन्दिरमा घण्टा बजाउनसमेत प्रतिबन्ध छ । यी दिनमा गीत गाउने लगायतका सबै कार्य बन्द गरिन्छ ।यो विशेषगरी बज्रयानी बौद्धमार्गीहरुले शान्तिको लागि गरेको आह्वान हो । यस्तो गर्नुको पछि पनि एउटा छुट्टै कथन र किंवदन्ती पाइन्छ । दसैंको समयमा सबैतिर मारकाट र हत्याहिंसा भएपछि शान्तिप्रेमी स्वयम्भु भगवानमा बेचैनी बढेर गयो । उनी यस्तो शान्त ठाउँको खोजीमा गए जहाँ शान्ति मिलोस् । त्यही बेलामा उनी खोकनामा रहेको रुद्रायणी मन्दिरमा गएर शरण लिएको भन्ने किंवदन्ती छ । त्यसैले रुद्रायणी देवीको शिरमा करुणामयको मूर्ति स्थापना गरिएको पाइन्छ ।अन्त धेरै बली दिने दिन यहाँ सबै हतियारलाई विश्राम दिने गरिन्छ । यो तत्कालीन सम्राट अशोकले हतियार बिसाएर शान्तिको बाटोबाट विश्व जित्नेयात्रामा लागेको सम्झनामा यो जात्रा मनाउने गरिएको स्थानीय बताउँछन् ।

समयक्रमसँगै परिमार्जन हुँदै आएको जात्रा

मध्यकालमा नेपाल उपत्यका (अहिलेको काठमाडौं उपत्यका) मा धेरै जात्रापर्वहरुको विकास भयो । सिकाली जात्रामा पनि मध्यकालीन समाजको झल्को रहेको महर्जन बताउँछन् । यसरी समयक्रम अनुसारका संस्कृतिलाई समेट्दै सिकाली जात्रा अहिलेसम्म पनि चलिरहेको छ ।लिच्छविकालमा भैरवलाई मान्नेहरुको संख्या धेरै थियो । मध्यकालसम्म आउँदा पनि भैरवको क्रेज घटेन । आठौं शताब्दीमा लेखिएको विश्वास गरिने स्कन्द पुराणमा शिवले समेत आफ्नो जटाबाट महाकाली, वीरभद्र र भैरवको आराधना गरेको उल्लेख भएपछि उनलाई मान्नेहरु झनै बढेर गए ।अर्काेतर्फ सिकाली जात्राको मुख्य आकर्षण सिकाली नाचमा पनि छ । आजभन्दा झण्डै ६ सय वर्ष पहिलेदेखि सुरु भएको विश्वास गरिने सिकाली नाच जात्राका लागि उल्लेखित विधिकै अधिनमा रहेर चल्ने गरेको छ । जुन जात्राको सातौं दिन वा सप्तमीको दिन गर्ने गरिन्छ ।

सिकाली जात्राको विधि

जबजब अरुको घरमा घटस्थापनाको तयारी हुन्छ, त्यसपछि खोकनाका कुमार केटाहरु हातमा उखु र भोगटे बोकेर घरघरमा पूजा सामग्री संकलन गर्न सुरु गर्छन् । एक छाक खाना त्यसमा पनि भरपूर चोखोनितो, नियमित स्नान लगायतका विधि पूरा गरेका ती कुमार केटाहरुले तृतीयाको दिन बिहानसम्म पनि पूजा सामग्री संकलन गर्ने कार्यलाई निरन्तरता दिन्छन् ।रुद्रायणी गुठी देवता खलकको गुठी हो । यस्तै, तीन किसिमको गुठी सिकाली जात्रामा सम्मिलित हुन्छ । टः गुठी, सलागु गुठी र जः गुठीबाट आश्विन शुक्ल तृतीयाको दिन तीन वटा चोखो राँगो बली दिने गरिन्छ । सोही दिन चोखोनितो गरेका कुमार केटाहरुले चोखो राँगोको आलो रगत दिएर सिकाली चौरमा रहेकी देवीलाई जगाउन जाने गर्छन् ।हालको खोकना क्षेत्रबाट केही पर वाग्मती नदीको किनारामा एउटा मन्दिर छ, त्यसभित्र ठूलो सिकाली देवीको स्वरुप मानिएको ढुंगा छ। त्यही देवीलाई नै रुद्रायणी वा सिकाली देवी भनेर चिनिन्छ । चोखो रगत चढाएर त्यहाँ तान्त्रिक विधिबाट पूजा हुन्छ । पहिलेपहिले तान्त्रिक विधिबाट बली दिइएको राँगो जिउँदो बनाइन्थ्यो भन्ने चलन पनि पाइन्छ ।यसरी बली दिइएको राँगोको मासु गुठीको नाइकेदेखि सबैलाई भाग लगाएर बाँडीचुँडी खाने चलन छ । मासुको अनेकथरी परिकार बनाएर खाने गरिन्छ ।उता जाँड पकाउने घ्याम्पोको बाहिरपट्टि एउटा विशाल भैरवको चित्र बनाइएको हुन्छ । त्यही भैरव आकृतिलाई कसाइले राँगाको आन्द्राबाट बनाएको गहना लगाइदिने गर्छन् । अर्काेतर्फ भैरवको आकृति कुँदिएको घ्याम्पोमा जाँड भने पकाइरहेका हुन्छन् ।भैरवलाई आन्द्राको गहना लगाइदिएपछि निरन्तर बाजा बजाउँदै भैरव जगाउने काम गरिन्छ । बीचमा बाजा खण्डित भयो भने भैरव जाग्दैनन् भन्ने मान्यता छ । आश्विन शुक्ल पञ्चमीको दिन तान्त्रिक विधिबाट पूजा गर्ने चलन छ ।

सिकाली जात्राको मुख्य दिन

आश्विन शुक्ल षष्ठी अर्थात् सिकाली चौरमा विशेष जात्रा हुने दिन आजकै दिन महादेवले वीरभद्र महाकालीलाई जगाउने र देवतागण सम्मिलित दक्ष प्रजापतिको यज्ञ ध्वस्त पार्ने काम गरिन्छ । वीरभद्र र महाकाली जगाउने तान्त्रिक विद्या जानेका व्यक्तिले विधि पूरा गरेपछि देवता खलकमध्येका एक जनामा वीरभद्र र महाकालीको स्वरुप जाग्ने गर्छ । घरमै रहेका गुठियारले आफूमा भगवान जाग्नुभन्दा पहिले नै त्यस्तै खालको व्यवहार देखाउन थालिसकेका हुन्छन् । उसमा वीरभद्र र महाकालीको स्वरुप जाग्छ भन्ने जानेपछि उसलाई तुरुन्त सिकाली चौर पुर्याउने गरिन्छ । रुद्रायणीसँग सम्बिन्धित तीनवटै गुठीमा नौ/नौ जनाको समूह हुने गर्छ । रुद्रायणी गुठियार सिकाली चौरमा सांस्कृतिक मुकुट, पोसाक, गरगहना आदिमा सजिएर देवगणको भेषमा सिकाली चौर पुग्छन् ।अर्काेतर्फ महाकाली र वीरभद्र जागेकालाई सिकाली चौरमा पुर्याएर चोखो पानीले हात धोएर रक्सी चखाएपछि बिस्तारै महाकाली र वीरभद्रको रुपमा उनीहरुको व्यवहार सुरु हुन्छ ।सिकाली चौरमा मुकुटधारी देवता खलकको जात्रामा वीरभद्र महाकालीले प्रसादको रुपमा ल्याएको भात छरेर यज्ञमा उपद्रव मच्चाउँछन् ।त्यहाँ जात्रा हेर्न आउनेले प्रसादको रुपमा छरेको भात खाएमा आफ्नो शरीरमा रहेको रोग निको हुन्छ भन्ने विश्वास गर्छन् ।षष्ठीको दिन मध्याह्नसम्म जात्रा सकिन्छ । जात्रा सकिएपछि महाकाली, वीरभद्र र भैरवले देवता खलकलाई पूरै गाउँ लखेट्दै जान्छन् । यसक्रममा भैरव, काली र वीरभद्र पछिपछि हुन्छन् भने देवगण अघिअघि हुन्छन् । भैरव जाग्ने व्यक्तिको साथमा घ्याम्पो हुन्छ । उनीहरुको शरीरमा छुट्टै किसिमको कम्पन उत्पन्न हुन्छ । उनीहरुले षष्ठीको दिन खटमा रुद्रायणीलाई बोकेर जात्रा गर्ने गर्छन् । अन्तिममा क्वँलाछीमा आएर जात्रा समापन हुन्छ ।सप्तमीको दिन क्वँलाछीमा सिकाली नाच गरिन्छ । त्यसको भोलिपल्ट अष्टमीको दिन रुद्रायणी देवीलाई ख्वापाः मा स्थापित गर्ने गरिन्छ । योसँगै यो वर्षको सिकाली जात्राको सम्पूर्ण विधि सम्पन्न हुन्छ ।


Your Views
Related News