धनगढी । कैलालील दैलेख र बाराका छुट्टाछुट्टै स्थानमा भएका सवारी दुर्घटनामा चार जनाको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालयका कैलालीका अनुसार कैलालीको चिसापानीमा मोटरसाइकल अनियन्त्रित भएर दुर्घटना हुँदा लम्कीचुहा नगरपालिका वडा नम्बर १ का रङप्रसाद न्यौपानेको मृत्यु भएको छ ।

सुप प्र ०१००८ प १६२५ नम्बरको मोटरसाइकल अनियन्त्रित भएर दुर्घटना हुँदा घाइते भएका न्यौपानेलाई उपचारका लागि लम्कीस्थित लाल रत्न अस्पताल लगिएको थियो । त्यहाँ उपचार सम्भव नभएपछि टीकापुर लैजानेक्रममा बुधबार राति उनको मृत्यु भएको हो । मोटरसाइकलको पछाडि सवार लम्कीचुहा नगरपालिका १ कै ३९ वर्षीय जयप्रकाश न्यौपाने र ५० वर्षीय जन्मजय न्यौपाने घाइते भएका छन् ।

यसैगरी लम्कीचुहाकै ३५ वर्षीया भागरथी रेग्मीको बसको ठक्करबाट मृत्यु भएको छ । कैलालीको बर्दगोरिया गाउँपालिका वडा नम्बर ४ चमेलीपुरमा सुदूरपश्चिम प्रदेश ००१ ख २३०९ नम्बरको मोटरसाइकलमा सवार रेग्मीलाई सोही दिशातर्फ गइरहेको से १ प ९५७ नम्बरको बसले ठक्कर दिएको थियो ।

मोटरसाइकल चालक लम्कीचुहा नगरपालिका ९ प्रतापुरका राम बहादुर चौधरी घाइते भएका छन् । उनको घोडाघोडी अस्पताल सुखडमा उपचार भइरहेको प्रहरीले जानकारी दिएको छ ।

यता कैलालीको धनगढीमा पनि बसको ठक्करबाट मोटरसाइकल चालक गम्भीरसहित दुई जना घाइते भएका छन् । बिहीबार बिहान से १ ख ६१४ नम्बरको बसले निर्माणाधीन मोहनापुल–अत्तरिया ६ लेन सडकखण्डमा से ७ प ३१३५ को मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकल चालक देवबहादुर घर्ती र पछाडि सवार पद्मा घर्ती घाइते भएका हुन् । चालकको अवस्था गम्भिर रहेको प्रहरीले जनाएको छ ।

यसैगरी दैलेख गुराँस गाउँपालिका–२ तल्लो डुङगेश्वर बजारस्थित सडकमा ना.३ ख ५५१९ नम्बरको बसको ब्रेक फेल भई मंगलबार दिउँसो दुर्घटना हुँदा चालक सुर्खेत बीरेन्द्रनगर नगरपालिका–१ बस्ने ४० वर्षीय ललित नेपालीको मृत्यु भएको छ । दुर्घटनामा घाइते भएका अन्य १४ जना स्थानीय स्वास्थ्य चौकीमा सामान्य उपचार पश्चात डिश्चार्ज भएका छन् ।

यसैगरी बारा जितपुर सिमरा उपमहानगरपालिका–२२ स्थित सडकमा हाल नम्बर नखुलेको टिपरले बुधबार दिउँसो ना.५० प २५७६ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकल चालक मकवानपुर चुरियामाई–१ बस्ने २५ वर्षीय सञ्चालाल गोलेको घटनास्थलमै मृत्यु भएको छ । हाल फरार टिपर र चालकको प्रहरीले खोजी गर्नुका साथै दुर्घटनाका सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको छ । स्रोत : नेपाल प्रहरी

READ MORE NEWS

मंसिर ९ देखि हुने कक्षा १२ को परीक्षाको यस्तो छ कार्यविधि, संक्रमितका लागि यस्तो व्यवस्था [ कार्यविधिप्रतिसहित ]

काठमाडौ । नोवेल कोरोना भाइरस (कोभिड–१९) का कारण स्थगित कक्षा १२ को परीक्षा मंसिर ९ गतेदेखि सञ्चालन हुने भएको छ । परीक्षा तालिका र कार्यविधि तयार भएको राष्ट्रिय परीक्षा बोर्डका अध्यक्ष प्रा. डा. चन्द्रमणि पौडेलले जानकारी दिए । उनका अनुसार नेपाल सरकारले तोकेको सुरक्षा मापदण्ड र सामाजिक दुरी कायम गरेर परीक्षा सञ्चालन गर्न लागिएको हो ।

परीक्षा समय विहान ८ बजे सुरु हुने भएको छ । शनिबार समेत परीक्षा सञ्चालन गरेर १६ मंसिरमा सबै विषयको परीक्षा सम्पन्न हुने अध्यक्ष पौडेलले जानकारी दिए ।

कोरोना संक्रमितलाई छुट्टै व्यवस्था

कोभिड–१९ संक्रमित विद्यार्थीलाई भने बोर्डले परीक्षामा सहभागी नहुन अनुरोध गरेको छ । संक्रमितहरूलाई कोरोना मुक्त भएपछि छुट्टै परीक्षाको व्यवस्था गरिने बोर्डले जनाएको छ ।

‘कोरोना संक्रमित भई उपचाररत परीक्षार्थीहरूलाई परीक्षामा सहभागी नहुन अनुरोध गरिन्छ’ बोर्डले भनेको छ, ‘त्यस्ता परीक्षार्थीहरूका लागि नेपाल सरकारद्वारा मान्यता प्राप्त प्रयोगशालामा परीक्षण गरिएको ल्याब रिर्पोटको आधारमा पछि छुट्टै परीक्षाको व्यवस्था गरिनेछ ।’

कोरोना महामारीका कारण आफू अध्ययन गरेको विद्यालय रहेको जिल्ला भन्दा फरक जिल्लामा रही आफ्नो विद्यालयमा उपस्थित भएर परीक्षा दिन नसक्ने विद्यार्थीका लागि परीक्षार्थीले यसअघि पेश गरेको विवरणको आधारमा परीक्षामा सहभागी हुने व्यवस्था गरिएको अध्यक्ष पौडेलले जानकारी दिए । बोर्डले गत भदौमा कक्षा १२ का विद्यार्थीको विवरण संकलन गरेको थियो ।

परीक्षा तालिका र कार्यविधिको प्रति तल अपलोड गरिएको छ । आफुले हेरिसकेपछि सम्बन्धित सबैको जानकारीका लागि सेयर गरिदिनुहोला ।


Your Views
Related News