थाइराइड एक प्रकारको अन्तश्रावी हार्मोन हो । यस हार्माेनको उत्पादन थाइराइड ग्रन्थीले गर्छ । थाइराइड ग्रन्थी हाम्रो घाँटीको अग्र एवं तल्लो भागमा रहेको रूद्रघण्टीभन्दा केही तल रहेको हुन्छ । यस ग्रन्थीले ट्राइआयडोथाइरोनिन (टी३) र टेट्राआइडोथायरोनिन (टी४) र थाइरोक्याल्सिटोनिन नामक हार्माेनको उत्पादन गर्छ । यी तीन हार्माेनहरूमध्ये ट्राइआयडो थाइरोनिन (टी३) र टेट्राआइडोथायरोनिन (टी४)लाई चलनचल्तीमा थाइराइड हार्माेन भनिन्छ ।यी दुई हार्मोनहरूमध्ये उत्पादन हुँदा ९०% टी४ र १०% टी३ भए पनि क्रियात्मक रूपले टी३ सक्रिय हार्माेन हो । यी हार्माेनहरूले मुख्यतः कोषको न्युलियसमा गई धेरै प्रकारका जिनहरूलाई उत्प्रेरित गरी धेरै प्रकारका संरचनात्मक एवं क्रियात्मक प्रोटिन एवं इञ्जायमहरू बनाउने कार्यमा महत्वपूर्ण भूमिका खेल्छ । यसर्थ थाइराइड व्यापक कार्यक्षेत्र भएको हार्माेन हो । यसले शरीरका विभिन्न मेटाबोलिक क्रियाहरूलाई नियन्त्रण गर्नेगर्छ ।

के हो थाइराइड कम हुने रोग ?

शरीरमा विभिन्न किसिमका उपापचयी क्रियाहरूको नियन्त्रण देखि जिनहरूको प्रकटीकरणलाई प्रत्यक्ष एवं परोक्ष प्रभाव पार्ने थाइराइड हार्मोन अत्यन्त महत्वपूर्ण रसायन हो । विशेषगरी थाइराइड हार्मोनले शरीरको उपापचयी क्रियालाई नियन्त्रण गर्दछ । यसो हुँदा शरीरको आधारभूत उपापचयी दर पनि प्रभावित हुन्छ । यसका अलावा कार्बोहाइड्रेट, प्रोटिन र चिल्लोको उपपाचनमा पनि थाइराइड ग्रन्थीले असर पु¥याउँदछ । शरीरको वृद्धि, विकास र तौल नियन्त्रणमा पनि थाइराइड हार्मोनले भूमिका खेल्छ । मष्तिस्क एवं स्नायुतन्तु विकसित हुन पनि थाइराइड हार्माेन चाहिन्छ ।

डा. हेमराज कोइराला

कोषहरूले ग्लुकोज ग्रहण गर्ने क्षमतालाई पनि थाइराइड हार्माेनले प्रभावित गर्छ । यसैगरी पाचन अवशोषण र मल निष्काशनदेखि मूत्र निर्माणमा पनि थाइराइड हार्माेनको सहायता पर्छ । मुटुको गति, संकुचनशीलता, नशाहरूको कडकता, रक्तचाप एवं हृदयको चालको ताललाई नियन्त्रण गर्न पनि पर्याप्त थाइराइड हार्मोन चाहिन्छ भने श्वासन दर अक्सिजन सन्तृप्ति दर र रक्तसञ्चारलाई पनि यो हार्मोनले प्रभावित गर्छ ।यसैगरी शरीरको वृद्धि विकास, मष्तिस्कको वृद्धि विकास, यौन चाहना र क्षमता, मासिक धर्मको समस्या आउन नदिन पनि यो हार्मोनको आवश्यकता पर्छ । शरीरमा थाइराइड हार्माेन युक्त मात्राले यसको उपरोक्त सम्पूर्ण कार्यहरू जारी राख्छ भने अति या अल्पमात्राले सबै क्रियाकलाप गडबड गराउँछ । थाइराइड बढेर शरीरमा यस हार्माेनको अतिमात्रा भएको स्थितिलाई हामी हाइपर थाइराइडिजम भन्दछौं भने थाइराइड घटेर अल्पमात्रा भएको स्थितिलाई हाइपोथाइराइडिजम भन्दछौं ।

हाइपोथाइराइडिजमका लक्षणहरूः

१. तौल बढ्नेः

हाइपोथाइराइडिजम हुँदा अप्रत्यासित रूपले तौल बढ्ने गर्छ । यसो हुनुको केही कारणहरू छन् । पहिलो कारण हो थाइराइडको कमीले गर्दा व्यक्तिको आधारभूत उपापचयी दर (बेसिक मेटाबोलिक रेट) कम हुँदा जीवन धान्नका लागि कम ऊर्जाको आवश्यकता भएर बोसो पग्लने क्रिया नै कम हुन्छ । हाइपोथाइराइडिजम हुँदा तौल बढ्नुको अर्को कारण यो रोग लाग्दा ज्यादा थकाइ लाग्ने, अल्छी लाग्ने र जिउ दुख्ने हुँदा रोगीको शारीरिक सक्रियता पनि घट्ने हुँदा तौल बढ्छ । यसका अलावा हाइपोथाइराइडिजमका रोगीको मांशपेशी, कलेजो र बोसे तन्तुलाई धेरै ऊर्जा सञ्चयका लागि सूचित गरिन्छ भने धेरै खान र कम ऊर्जा खर्च गर्न पनि शरीरलाई सूचित गरिन्छ । फलतः बोसो लाग्ने र तौल बढ्ने क्रिया हुन्छ ।

२. थकाइ लाग्नेः

थकाइ लाग्नु हाइपोथाइराइडिजमको आधारभूत लक्षण हो । यसो हुनुको मुख्य कारण थाइराइड हार्मोनको कमीले गर्दा शरीर ऊर्जा एवं मेटाबोलिजममा आएको ढिलासुस्तीले गर्दा हो । शरीर ऊर्जा एवं स्फूर्तिका लागि युक्त मात्रामा थाइराइडको उत्सर्जन हुनु जरूरी हुन्छ । तर हाइपोथाइराइडिजमको स्थितिमा हार्माेनको कमीले ऊर्जा उत्पादनमा कमी आउँछ र थकाइ लागि रहन्छ ।

३. चिसोको अनुभूतिः

हाइपोथाइराइडिजमले हाम्रो बेसल मेटाबोलिक रेट नै कम गरिदिन्छ । यसो हुँदा हाम्रो शरीरले उत्पादन गर्ने ऊर्जामा कमी आउँछ र ठन्डी लागेको अनुभव हुन्छ । यसका अलावा थाइराइड कम हुँदा शारीरिक ताप उत्पादन गर्न चाहिने खैरो बोसे तन्तु (ब्राउन एडीपोज टिस्यु) सक्रिय हुन नसक्ने हुँदा ताप कम उत्पादन भई चिसो लागिरहन्छ ।

४. कमजोरीः

थाइराइड हार्माेनको कमी हुँदा शरीरमा उपापचयी क्रियाकलाप रोकिएर अपचयी क्रियाकलाप बढ्छ । अपचयी क्रियाकलाप बढ्दा शरीरका मांशपेशीहरूको क्षय हुन्छ र कमजोरी महसुस हुन्छ ।

५. जिउ दुख्नेः

हाइपोथाइडिजम हुँदा शरीरमा अपचयी क्रियाकलाप बढ्ने हुँदा मंशपेशी एवं कोमल संयोजक तन्तुहरूको क्षय हुने भएकाले जिउ दुख्ने, पोल्ने, कामै नगर्दा पनि हातगोडा बाउँडिने गर्छ ।

६. कपाल खस्नेः

कपाल बनाउने स्टिम कोषहरूको वृद्धि विकास एवं स्वास्थ्यका लागि थाइराइड हार्माेन अतिआवश्यक तत्व हो । हाइपोथाइराइडिजम हुँदा थाइराइड हार्माेनको कमीले स्टिम कोषहरूको वृद्धि एवं विकास भएर कोष बन्ने क्रिया अवरूद्ध हुन जान्छ । यसर्थ पर्याप्त कपाल बन्न पाउँदैन र कपाल पातलिँदै जाने र झर्ने गर्छ ।

७. छाला सुख्खा हुने र चिलाउनेः

छालाका कोषहरू पनि चाँडो चाँडै पुनर्जनन् कोषहरूमा पर्छन् र यी कोषहरूको पुनर्जनन्मा थाइराइड हार्माेनको सूचनात्मक सम्प्रेषणको महत्वपूर्ण भूमिका हुन्छ । हाइपोथाइराइडिजम हुँदा छालाका कोषहरूलाई पुनर्जननको पर्याप्त सूचना सम्प्रेषण हुन नसक्दा छाला सुख्खा हुने र काचुली बदलिरहन्छ ।

८. उदासीनताः

थाइराइड हार्माेन स्नायु कोषहरूको वृद्धि, विकास एवं सुरू क्रियाका लागि अतिआवश्यक हार्माेन हो । थाइराइड हार्माेनको कमी हुँदा स्नायुकोषहरूले कार्य गर्न नसक्ने हुँदा डर, चिन्ता भय एवं उदासीनताका लक्षणहरू देखिन्छन । निरासा बढ्नुको अर्को कारण थाइराइड कमी हुँदा शारीरिक ऊर्जा कम हुने हुँदा यसले नैराश्यता पैदा गर्छ ।

 ९. मानसिक सुस्तीः

हाइपोथाइराइडिजम हुँदा एकाग्रता, ध्यान, लय, अभिमुखता, स्मृति, भावुकता, स्वप्न, निन्द्रा र बोली जस्ता मस्तिष्कका विशिष्ट क्रियाकलापहरूमा ढिला सुस्ती देखापर्छ । थाइराइड घट्दा किन यसो हुन्छ भन्ने कुरा त्यत्ति धेरै स्पष्ट हुन नसके पनि स्नायुकोषहरूको उत्कृष्ट क्रियाकलापका लागि चाहिने थाइराइड हार्माेनको युक्तमात्रामा पूर्ति हुन नसक्दा यसो भएको हो भन्ने अनुमान लगाइएको छ । यसैगरी थाइराइड कम भएकाहरूलाई स–साना गणित गणना गर्न एवं चाँडो जुक्ति लगाउनमा पनि कठिनाइ हुन सक्छ ।

१०. रक्त चिल्लो (कोलेस्टेरोल) को गडबडीः

पूर्णरूपले प्रकट नभइसकेको र प्रकट भइसकेको दुवै हाइपोथाइराइडिजममा  रक्त बोसोको मात्रा गडबड हुन्छ । रक्त बोसोको संश्लेषण, उपापचय एवं स्थानान्तरण आदिको लागि थाइराइड हार्माेनको आवश्यकता पर्दछ । तर थाइराइडको कमी हुँदा यो नियन्त्रण गुम्ने हुँदा रक्त चिल्लोको गडबडी जस्तोः कुल रक्त कोलेस्टेरोलको मात्रा बढ्ने, निम्न घनत्वको लिपोप्रोटिन बढ्ने, उच्च घनत्वको लिपोप्रोटिनको मात्रा घट्ने, अपोलिपोप्रोटिनको बीको मात्रा बढ्ने र टाइग्लिसराइडको मात्रा पनि बढ्ने जस्ता लक्षणहरू देखिन्छन ।

११. अनियमित एवं उच्चश्रावी मासिक धर्मः

नियमित मासिक धर्म हुनका लागि थाइराइड हार्माेनको जरूरत पर्छ । थाइराइड कम हुँदा ओभेरियन फोलिकलहरूको वृद्धि बद्र्धन एवं विकासमा नै सुस्तता हुने भएकाले यसो हुने गर्छ ।

१२. अनुहार फुल्ने, हातगोडा सुन्निनेः

जटील किसिमको हाइपोथाइराइडिजमको स्थितिमा देखा पर्ने शरीर सोथलाई मिक्सएडीमा भनिन्छ । मिक्सएडीमा हुँदा ओठ, मुख, आँखीभौं, जिब्रो, हातगोडा अझ भन्नुपर्दा छाला भएको क्षेत्र सुन्निने गर्छ । हाइपोथाइराइजिमको भएर सुन्निएको ठाउँमा औंला गाड्दा डाम बस्दैन । यसो हुनुको मुख्य कारण थाइराइडको कमीले छालामा म्युकोपोलिस्याकेरोइडको सञ्चय हुनु र म्युकोपोलिस्याकेरोइडले पानी आकर्षित गरी सुन्निनु हो । मिक्सएडीमाको समस्या कहिलेकाहीँ अत्यन्त खतरनाक भई मान्छे अचेत पनि हुन सक्छ जसलाई मिक्सएडिमा क्राइसिस भनिन्छ।

१३. स्वर खासिनेः

हाइपोथाइराइडिजमको स्थितिमा व्यक्तिको स्वर प्रकृतिमा बदलाव आउँछ र स्वर खासिन्छ । स्वर किन खासिन्छ भनेर कुनै विशेष कारण पत्ता नलागे पनि वैज्ञानिकहरू स्वर यन्त्रका मांशपेशी र स्नायुहरू थाइराइड हार्माेनको कमीको अवस्थामा चुसस्ततापूर्वक क्रियाशील हुन नसक्ने हुँदा स्वर खादिन्छ भन्छन् ।

१४. कब्जियतः

कब्जियत भएका सबै मान्छेलाई हाइपोथाइराइडिजम नहुन सक्छ तर हाइपोथाइराइडिजमका अन्य लक्षणहरूसँगै कब्जियत पनि छ भने योचाहिँ हाइपोथाइराइडिजमकै कारणले हो । हाइपोथाइराइडिजम हुँदा आन्द्राहरूको चाल पनि सुस्त हुने हुँदा कब्जियत देखापर्छ ।

१५. हृदयगति घट्नेः

थाइराइड हार्माेनले मुटुको संकुचनशीलता, नशाहरूको कडकता, रक्तचाप एवं हृदयको ताललाई नियन्त्रण गर्छ । थाइराइड हार्माेनको कमी हुँदा यी सबै क्रियाकलापमा सुस्तता आउँछ र त्यसमा पनि हृदय गति घट्छ ।

१६. गलगाड आउनेः

हाइपोथाइराइडिजम हुँदा थाइराइड स्टिमुलेटिङ्ग हार्माेनको रक्तस्तर बढ्छ । थाइराइड स्टिमुलेटिङ्ग हार्माेनले थाइराइड ग्रन्थीलाई उत्तेजित गरी धेरै थाइराइड हार्माेन उत्पादन गर्न थाइराइड कोषहरूको वृद्धि गर्ने गर्छ । यो क्रिया लामो समयसम्म भइरहेमा गलगाड आउँदछ ।

१७. बाँझोपनः

हाइपोथाइराइडिजमको समस्या लामो समयसम्म रहिरहेमा वा समस्या जटिल हुँदै गएमा बाझोपनको समस्या देखा पर्छ ।

१८. जोर्नीहरू जाम हुने, दुख्ने र सुन्निनेः

थाइराइड भएकाहरूको जोर्नीहरू दुख्ने पोल्ने सुन्निने र जाम हुने पनि गर्छ ।

लेखक भरतपुर– १ वागीश्वरीस्थित योगी नरहरिनाथ योग तथा प्राकृतिक चिकित्सालयका मेडिकल डाइरेक्टर हुन् ।


Your Views
Related News