अस्ट्राजेनिका र अक्सफोर्ड विश्वविद्यालयले तयार पारेको कोरोनाभाइरस विरुद्धको खोप दिइएका एक व्यक्तिको ब्राजिलमा मृत्यु भएको छ । ब्राजिलको स्वास्थ्य सेवा विभाग एन्भिसाले तेस्रो चरणको परीक्षणका क्रममा उक्त खोप दिइएका व्यक्तिको मृत्यु भएको जनाएको छ । तर एभिन्साले खोप परीक्षणको कार्य जारी रहने बताएको छ । एन्भिसाले स्वयंसेवी ती व्यक्तिले खोप लगाएका हुन् वा प्लासेबो लगाएका हुन् भन्ने स्पष्ट भइ नसकेको जनाएको छ । तर एन्भिसाले ती व्यक्तिको वैयक्तिक विवरण भने उपलब्ध गराउन अस्वीकार गरेको छ । अक्सफोर्ड विश्वविद्यालयले ब्राजिली नियामक निकाय एन्भिसाको सिफारिस बमोजिम खोप परीक्षण अभियान जारी रहने जनाएको छ । विश्वविद्यालयले क्लिनिकल परीक्षणका बारेमा सुरक्षात्मक कुनै समस्या नरहेको पनि बताएको छ । खोप निर्माता अस्ट्राजेनिकाले भने उक्त घटनाका बारेमा टिप्पणी गर्न अस्वीकार गरेको छ । अस्ट्राजेनिकाले खोप अभियान रोक्ने वा स्थगित गर्ने बारेमा पनि केही बताएको छैन । जोन्स हप्किन्स विश्वविद्यालयको पछिल्लो अद्यावधिक विवरण अनुसार ब्राजिलमा ५२ लाख ७४ हजार व्यक्ति कोरोना संक्रमित भएका र १ लाख ५४ हजार ८३७ जनाको मृत्यु भइसकेको छ ।
READ MORE NEWS
स्वरोजगारका लागि ७८ हजार युवाको आवेदन
सुदूरपश्चिम प्रदेशमा कृषि तथा पशुपालनमार्फत स्वरोजगार बन्नका लागि ७८ हजार युवाले आवेदन गरेका छन् । कोरोनाबाट प्रभावित तथा रोजगारी गुमाइ स्वदेश फर्किएका करिब नौ हजार युवालाई कृषि तथा पशुपालनमार्फत स्वरोजगार बनाउने भन्दै प्रदेश सरकारले इच्छुक व्यक्तिलाई आवेदन दिन आग्रह गरेको थियो । प्रदेशका नौ वटै जिल्लाका ७८ हजार युवाले आयमूलक व्यवसायमा लाग्ने भन्दै आवेदन दिएको प्रदेश भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयले जनाएको छ । मन्त्रालयका प्रवक्ता डा. हेमराज अवस्थीका अनुसार पशुपक्षी विकासतर्फ ७० हजार र कृषितर्फ आठ हजारको आवेदन परेको छ । कृषि तथा पशुपक्षी विकास कार्यक्रमअन्तर्गत मौरीपालन, भेडाबाख्रापालन, बङ्गुरपालन, स्थानीय कुखुरा र हाँस अन्य मासुजन्य पशुपालन लागि सबैभन्दा बढी आवेदन परेको छ । कृषि मन्त्रालयले २१ दिने समय दिएर सुदूरपश्चिमका ८८ वटै स्थानीय तह र जिल्लामा रहेका कृषि ज्ञान केन्द्र र भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रबाट आवेदन सङ्कलन गरेको थियो । कृषि उत्पादकत्व वृद्धि गर्ने र कोरोना प्रभावित तथा विदेशबाट फर्किएका युवालाई स्वरोजगार बनाउने लक्ष्यका साथ ल्याइएको यस कार्यक्रमलाई व्यवस्थित र प्रभावकारी बनाउन मन्त्रालयले मापदण्डसमेत बनाएको छ । “प्राप्त निवेदनका आधारमा ज्ञान केन्द्र र विज्ञ केन्द्रलाई अख्तियारी दिइसकिएको छ, तीमध्ये सातदेखि आठ हजार छनोटमा पर्ने देखिन्छ”, प्रवक्ता डा. अवस्थीले भने । उनले कृषितर्फ ३० देखि ३५ हजार रुपैयाँ र पशुपक्षीतर्फ ४५ देखि ५० हजार रुपैयाँ रकम प्रदान गर्ने योजना रहेको बताए । त्यसका लागि मन्त्रालयले १५ करोड रुपैयाँ बजेट विनियोजन गरेको छ । “सबैभन्दा बढी कैलालीबाट आवेदन परेको छ”, उनले भने, “व्यावसायको प्रगति हरेर दुई किस्तामा रकम दिने भनेका छौँ ।” सुदूरपश्चिममा भारतबाट मात्रै गत चैतयता डेढ लाखभन्दा बढी स्वदेश फर्किएका छन् ।
रानीपोखरीका बाँकी रहेका काम चरणबद्ध रुपमा अगाडि बढाइने
काठमाडौँ — काठमाडौं महानगरपालिकाले पुनर्निर्माणपछि रानीपोखरीको उद्घाटन भएपनि निर्माण गर्न बाँकी रहेका कामहरुलाई चरणबद्ध रुपमा अगाडी बढाउने भएको छ ।महानगरपालिकाका प्रमुख मेयर विद्यासुन्दर शाक्यले रानीपोखरी गुरुयोजना अनुसारको निर्माणका लागि धेरै काम बाँकी रहेकोले चरणबद्ध रुपमा निर्माण गरिने बताए । रानीपोखरीको मुख्य प्रवेशद्धार र ऐतिहासिक पार्टी लगायतका संरचनाको निर्माण गर्न बाँकी रहेको छ । त्यस्तै गुरुयोजना अन्तर्गत त्रिचन्द्र कलेज, प्रहरी आयुक्तको कार्यालय, शान्तिवाटिका, रत्नपार्क लगायतलाई समावेश गरी बृहत रानीपोखरीको रुपमा विकास गरिने मेयर शाक्यले बताए । यी कामहरु एकैसाथ गर्ने भन्दापनि चरणबद्ध रुपमा अगाडि बढाउने रणनीति अनुसार काम भइराखेको पनि उनले बताए ।०७२ सालको भूकम्पका कारण क्षतिग्रस्त रानीपोखरी पुनर्निर्माणको क्रममा आधुनिक शैलीमा बनाउन लागिएको भन्दै विवाद भएको थियो । तर पछि विज्ञहरुको सुझाव अनुसार भूकम्प अघि गुम्बज शैलीमा रहेको बालगोपालेश्वरको मन्दिर प्रताप मल्लको पालामा बनाइको ग्रन्थकुट (शिखर) शैलीमा पुनर्निर्माण गरिएको छ । रानीपोखरीको मुख्य पोखरी र बालगोपालेश्वर मन्दिरको काम बाहेक महानगरपालिकाले बनाएको गुरुयोजना अनुसार बृहत रानीपोखरीको विकास गर्न भने बाँकी छ ।मेयर शाक्यका अनुसार रानीपोखरी विस्तारको काम सम्पन्न भइसकेपछि खुलापार्कको रुपमा नागरिकको लागि खुल्ला हुनेछ । तर पोखरीको बीचमा रहेको बालगोपालेश्वर मन्दिर भने भाइटिकाको दिन मात्रै खुल्नेछ ।
पचपन्न हजार बढी संक्रमित थप, अनुपात विश्वमै सबैभन्दा न्यून
