काठमाडौं । मुलुकका शक्तिपीठमा कोभिड–१९ कारण यस पटक पशुबलि निकै कम हुने भएको छ । कोरोना महामारीको जोखिमलाई ध्यानमा राखी शक्तिपीठमा परम्परा धान्नबाहेक पशुबलि नहुने भएको हो ।कोभिड–१९ महामारीका कारण मुलुकका अधिकांश मन्दिरमा नित्यपूजा बाहेक मन्दिरमा नजान सर्वसाधारणलाई अनुरोध गरिएको छ । दशैँ तथा अन्य चाडबाडमा शक्तिपीठ तथा मन्दिरमा गएर पूजाअर्चना गर्ने तथा भाकलअनुसारको बलि चढाउने विभिन्न समुदायमा प्रचलन रहिआएको छ ।  कोभिड–१९ का कारण शक्तिपीठमा भीडभाड  कम गर्ने हेतुले शक्तिपीठमा पशुबलि घटाइएको हो । पशुबलि घटाइएपछि शक्तिपीठमा विकल्पमा कुभिण्डो र नरिवल चढाइने छ । काठमाडौँको हनुमान ढोका र भक्तपुरपुरमा अष्टमी र नवमीका दिन ठूलो सङ्ख्यामा हुँदै आएको पशुवली यसवर्ष परम्परा धान्नमा मात्र सीमित गरिदैँछ ।हनुमानढोकाभित्रको मूलचोकमा महाअष्टमी र नवमीका दिन ५४ बोका र ५४ राँगाको बली दिने गरिन्थ्यो । दशैँमा पशुबलिको साटो कतिपय स्थानमा कुभिण्डो र घिरौँला चढाउने चलन छ ।धर्म र संस्कृतिका नाममा महामारी फैलिन गई जनताले दुःखकष्ट भोग्न नपरोस् भन्नका लागि बिकल्पमा कुभिण्डो र नरिवल चढाइने हनुमानढोका हेरचाह अड्डाका पुरोहित देवराज अर्यालले जानकारी दिए । परम्परा र संस्कृतिका रुपमा चलिआएको तलेजुलगायत शक्तिपीठमा पशुबलिकै लागि पनि सरकारले बजेट विनियोजन गर्दै आएको छ ।यसैबीच, नेपाली सेनाले निशान भगवतीलाई शक्तिस्वरुपाका रुपमा मान्ने हुँदा भगवती र कोतमा बाहेक यस पटक अन्यत्र पशुबलि नदिइने जनाएको छ । त्यस्ता शक्तिपीठ र अन्यस्थानमा पशुबलिको सट्टा नरिवल र कुभिण्डो चढाउने व्यवस्था गर्न लागिएको सैनिक प्रवक्ता सन्तोषबल्लभ पौडेलले बताए ।बडादशैँका अवसरमा आ–आफ्ना घरमा स्थापना गरिएका नवदुर्गा स्थलका अतिरिक्त मुलुकका ठूला शक्तिपीठ भद्रकाली, रक्तकाली, दक्षिणकाली, मनकामना, बाग्लुङ कालिकालगायत मन्दिर परिसरमा ठूलो सङ्ख्यामा खसी, बोका, राँगा, हाँस, परेवा तथा कुखुराको बलि दिने परम्परा छ ।

READ MORE NEWS

रेडपाण्डा अनुसन्धान केन्द्र बन्दै

ताप्लेजुङ । ताप्लेजुङको फुङ्लिङ नगरपालिका–९ पाथीभरा क्षेत्रस्थित देउराली सामुदायिक वनमा रेडपाण्डा अध्ययन तथा अनुसन्धान केन्द्र बन्ने भएको छ ।हिमाली संरक्षण मञ्चको सहजीकरण तथा रेडपाण्डा नेटवर्कको आर्थिक सहयोगमा सो केन्द्रको भवन निर्माण हुँदै गरेको मञ्चका कार्यक्रम संयोजक रमेश राईले बताए । जैविक विविधता तथा वन्यजन्तुको अध्ययन र अनुसन्धान गर्ने उद्देश्यले निर्माण हुन लागेको केन्द्रको भवनको कूल लागत रु एक करोड ५७ लाख रहेको छ । काठमाडौस्थित एसएनपी निर्माण व्यवसायीले निर्माण गरिरहेको सो भवनको अङ्ग्रेजी अक्षर एल आकारको जग बसेको छ । वातारणमैत्री भवन भएकाले जैविक सामग्री प्रयोग गरिएको छ ।निर्माण व्यवसायी संस्था एसएनपीका साइट सुभरभाइजर अमृत भट्टराईका अनुसार यो स्रोत केन्द्र बनाउँदा प्रयोग भएका सबै कच्चा पदार्थ वातावरणमैत्री र स्थानीय उत्पादनका सामग्री छन् । गोवर, खरानी, अण्डाको खोल, शुद्ध तोरीको तेल, चूना, माटो, परालको टुक्रालाई मुछेर स्रोत केन्द्रको निर्माणमा प्रयोग गरिएको छ । उल्लेखित सामग्रीको मिलानले संरचना वातावरणमैत्री बन्नुका साथै बलियो, टिकाउ र मौसम अनुकुलित प्रकृतिको हुने उनले बताए । नेपालमा यस्ता कमै संरचना रहेको र त्यो तहको संरचना हिमाली जिल्ला ताप्लेजुङमा पनि बन्न लागेकोमा यो पूर्वी नेपालकै लागि गौरवकै विषय भएको उनको भनाइ छ ।विसं २०७६ मङ्सिर देखि भवनको निर्माण कार्य शुरु भएको हो । गत असार मसान्तमा सम्पन्न हुनुपर्नेमा कोरोना महामारीका कारण लामो समयको लकडाउनले तोकिएको समयमा पूरा गर्न नसकिएको साइट सुभरभाइजर भट्टराईले बताउनुभयो । भवन निर्माणको कार्य ६५ प्रतिशत सम्पन्न भएको र आगामी माघ १८ गतेसम्ममा निमार्ण कार्य सम्पन्न गर्ने गरी तीव्ररुपमा काम भइरहेको उनको भनाइ छ ।देउराली भित्री वन सामुदायिक वन उपभोक्ता समितिका अध्यक्ष निमा कृपा शेर्पाले भवन बनेपछि वन र वन्यजन्तुको संरक्षणमा सहयोग पुग्ने विश्वास व्यक्त गरे । स्थानीय स्तरमा भएको जैविक विविधता संरक्षणलगायत वातावरणमैत्री सेवाको प्रवद्र्धन तथा सदुपयोग गर्न, पर्यापर्यटन व्यवसाय सञ्चालन गरी वन उपभोक्ता समूहको आयआर्जनका स्रोत स्थापित गर्न तथा महत्वपूर्ण जडिबुटी, रेडपाण्डा र संरक्षित जंगली जनावर, पक्षी र दुर्लभ प्रजातिको प्रदर्शनी थलो बनाउन केन्द्र प्रभावकारी हुने उनको भनाइ छ ।मंञ्चका सचिव विवस केदेमले पाथीभरा क्षेत्र रेडपाण्डाका लागि उपयुक्त वासस्थान भएको क्षेत्र भएकाले यो केन्द्रलाई अध्ययन तथा अनुसन्धान केन्द्रको रुपमा विकास गरिने बताए ।

अंकित र सुनिताको ‘याक्थुङ्मा कान्छी’ मा अन्तरजातीय प्रेम कथा


Your Views
Related News