‘चाँडै निको हुन कन्फिडेन्स लेभल हाइ हुनुपर्यो, डराउनु भएन, हेल्थको बारेमा केयर गर्नु पर्यो कोरोना निको हुन्छ ।’यो भनाइ कोरोना संक्रमणलाई जितेका काभ्रेपलाल्चोकको भैसेपाटीका १० वर्षीय प्रवेश केसीको हो ।कक्षा ६ मा अध्ययनरत उनी ६ महिना यता विद्यालय जान पाएका छैनन् ।कोरोना संक्रमणको जोखिमका कारण विद्यालय बन्द छन् र बाहिर जाँदा कोरोना संक्रमणको जोखिम भएपछि उनी भैसेपाटीस्थित घरमा बुवा, आमा, दिदीहरु र हजुरबुवा हजुरआमासँग बसिरहेका थिए ।बनेपा नगरपालिका १३ स्थित इस्पाइल इन्जुरी अस्पतालमा एक जनामा कोरोना संक्रमण देखिएपछि केयर टेकरको रुपमा कार्यरत प्रवेशकी आमा लगायतको कोरोना जाँच गरिएको थियो ।जाँचका क्रममा सोही दिन २३ जनाको कोरोना रिपोर्ट पोजेटिभ आयो जसमा प्रवेशकी आमा पनि थिइन् ।
कोरोनाको त्रासमा रहेका प्रवेशलाई पहिला निकै डर लाग्यो ।बालबालिका र वृद्धवृद्धालाई जोखिम हुन्छ भन्ने थाहा पाएका उनको परिवारको एक जना सदस्यमा कोरोना भएको रिपोर्ट आएसँगै परिवार नै आइसोलेसनमा बस्यो ।आमालाई अस्पतालले कार्यक्षेत्र मै आइसोलेसनमा राख्यो।आमालाई कोरोना संक्रमणदेखिएपछि उनको घरका सबैको स्वाव संकलन गरियो ।८ गते गरिएको स्वाव संकलनको रिपोर्ट १० गते आयो । रिपोर्ट आउँदा केसी परिवारमा निराशा छायो । किनकी घरका सबै सदस्यको रिपोर्ट पोजेटिभ ।सबैभन्दा कम उमेरका प्रवेशसहित उनका बुवा आमा, दुई दिदीहरु, हजुरबुवा र मुटु रोगी हजुरआमासम्म सबैको कोरोना रिपोर्ट पोजेटिभ देखियो ।आमा अस्पतालमै आइसोलेसनमा हुँदा प्रवेशसहितका बाँकी ६ जना घरमै आइसोलेनमा बसे ।प्रवेशका हजुरबुवा ६५ वर्षीय उद्धव केसी काभ्रेपलाञ्चोक जिल्ला समन्वय समितिका संयोजक हुन् । उनी जिल्लास्तरिय क्राइसिस म्यानेजमेन्ट समितिका सदस्यसमेत हुन् ।‘अस्पतालमा कार्यरत बुहारीमा संक्रमणदेखिएपछि कन्ट्रयाक ट्रेसिङ गर्दा उनीसहित परिवारका हामी सबै ७ जनाको रिपोर्ट पोजेटिभ आयो,’ संयोजक केसीले भने, ‘उनको रिपोर्ट आएको दिन विहानसम्म घरका सबैलाई खाना खुवाउने लगायतको काम उनले नै गरेकी थिइन् ।’जिल्ला समन्वय समितिका संयोजकको परिवारका सबै सदस्यमा कोरोना संक्रमण पुष्टि भएपछि जिल्ला स्वास्थ्य कार्यालय र स्थानीय प्रशासनले केसी परिवारलाई अस्पतालमा कि घरमै आइसोलेसनमा बस्ने भनेर सोधेको थियो ।घरमा नै पर्याप्त स्थान भएको र संक्रमणका कारण कसैलाई पनि केही समस्या नदेखिएपछि संयोजक केसीले आफूहरु ‘होम आइसोलेसन’ मै बस्ने बताए ।
गुर्जो र घरायसी औषधिको भर
कोरोना संक्रमण नियन्त्रणका लागि अहिलेसम्म विश्वमा औषधि बनेको छैन । राजनीतिक नेतृत्व र क्राइसिस म्यानेजमेन्ट समितिमा रहेका केसीले त्यसबीचमा विभिन्न बैठक र व्यक्तिहरुसँगको भेटघाटमा समय विताउनु पर्ने अवस्था थियो । त्यसैले उनका परिवारले कोरोना जोखिम बढेसँगै नियमित रुपमा तुलसी चिया, बेसार पानी खाने गरेको थियो ।
‘एक जना पृतनापतिले गुर्जोले फाइदा पुग्छ भनेर थोरै उपलव्ध गराउनु भयो,’ उनले भने,‘त्यसपछि मुक्तिजी (मुक्ति विष्ट) ले पनि उपलव्ध गराउनुभयो । त्यसयता गुर्जो, जेठीमधु, मरमसला लगायत खाएर बसियो, यी हेर्नुस् अहिले ठीक भयो ।’गुर्जो, तातोपनी, बेसार पानी, जेठीमधु लगायतका जडिबुटी र मसलाको दैनिक प्रयोग र सेवनले कोरोनाबाट चाँडै मुक्ति पाइएको उनी बताउँछन् ।अरुलाई कोरोना निको हुन १४ दिनभन्दा बढी समय लागेको भएपनि आफूहरु एक सातामा निको भएको उनले बताए ।केसी परिवारले कोरोना रिपोर्ट पोजेटिभ आएको आठौ दिन फेरि परीक्षण गराउँदा रिपोर्ट नेगेटिभ आएको थियो ।जसको मुख्य कारण आत्मबल, गुर्जो लगायतका जडिबुटी भएको केसी बताउँछन् ।‘पहिला पुर्खाको पालदेखि नै गुर्जो, बेसारपानी मरमसला र गर्मी गराउने जडिबुटी खाने चलन थियो,’ उनले भने, ‘पछिल्लो समय मानिसहरुले त्यसको प्रयोगमा कमी गरे तर फाइदा त त्यसैले हुने रहेछ ।’उद्धवकी श्रीमती ६४ वर्षीया जानकी केसीमा मुटुको समस्या छ । जसका कारण उनी नियमित रुपमा औषधि सेवन गरिरहेकी छिन् ।दीर्घ रोग भएकाहरुमा संक्रमण जोखिम बढी हुने र अवस्था गम्भीर बन्ने चिकित्सकहरुले बताइरहेका छन् ।मुटु, मिर्गौला लगायतका रोगीहरु सचेत हुनुपर्छ भन्ने सुनेकी जानकीलाई कोरोना रिपोर्ट पोजेटिभ आएपछि निकै डर लाग्यो ।‘मुटुको औषधि खाइरहेको छु । कोरोना लागेको रिपोर्ट आएपछि पहिला त निकै डर लाग्यो,’ उनले भनिन्, ‘तर केही भएको थिएन । पछि यसले केही गर्दैन भन्ने लाग्यो, मन दह्रो बनाएँ । सबैजनालाई केही समस्या भएको थिएन त्यही भएर नि डर लागेन ।’१५ वर्षकी प्रकृति केसीलाई पनि कोरोना रिपोर्ट पोजेटिभ आएपछि निकै डर लागेको थियो । कोरोना रिपोर्ट पोजेटिभ आएको भएपनि कुनै लक्षण नदेखिएको उनले बताइन्।‘रिपोर्ट पोजेटिभ आउँदा पहिला त निकै डर लागेको थियो’ उनले भनिन्, ‘तर खोकी आउने, ज्वरो आउने खालको केही भएको थिएन ।’
तातोपनी वा जडिबुटीको रस नियमित सेवनका आलावा आत्मबल बलियो बनाउनु पर्ने उनी बताउँछिन् ।उद्धवकी जेठी नातिनी हुन् प्रेरणा । १८ वर्षीया प्रेरणालाई पनि परिवारका अन्य सदस्यलाई जस्तै रिपोर्ट आएपछि निकै डर लाग्यो ।रिपोर्ट आउनु भन्दा अघिल्लो दिनसम्म ढाड र खुट्टा दुखेको, गलेको जस्तो महशुस भएपनि रिपोर्ट पोजेटिभ आएको थाहा भएको दिनदेखि केही नभएको उनी बताउँछिन् ।कोरोना लाग्यो भन्ने वित्तिकै डर लागेपनि ‘कन्फिडेन्स लेभल’ ‘हाई’ बनायो भने रोगलाई जित्न सकिने उनी बताउँछिन् । यो केही होइन भन्दा पनि केयर गर्ने र मनोबल उच्च बनाउनु पर्ने उनको सुझाव छ ।स्वास्थ्य क्षेत्रमा कार्यरत उद्धवकी बुहारी कोरोना संक्रमण पछि अस्पतालको आइसोलेसनमा बसिनन् । आफू आइसोलेसनमा भएको र घरका बाँकी सबै सदस्यमा कोरोना पोजेटिभ देखिएपछि उनलाई सुरुवाती दिनमा छटपटी भयो । तर उनले आत्मबल दरो बनाइन् ।‘मलाई सुरुमा कोरोना पोजेटिभ देखियो, पछि घरमा सबैको रिपोर्ट पोजेटिभ आयो,’ उनले भनिन्, ‘सुरुमा घरका सबैलाई लाग्यो भन्ने कुराले डर लागेको थियो तर मन दरो बनाउँदा जित्न सकिन्छ भन्ने लाग्यो ।’
सामाजिक दूरी, तर भावनात्मक सामिप्यता
कसैलाई कोरोना संक्रमण पुष्टि भए नडराउन र आत्मबल बढाउन केसी परिवारको सुझाव छ ।उद्धव, जानकी, रामकुमार, प्रेरणा, प्रकृति, प्रवेश र उनकी आमा सबैको एकै मत छ उच्च मनोबलले कोरोनामाथि जित पाउन सकिन्छ ।कोरोना संक्रमणको जोखिमबाट बच्नु नै पहिलो प्राथमिकता भएको बताउँदै उद्धवले पोजेटिभ रिपोर्ट आए पनि डराएर बस्न नहुने बताए ।उनले कोरोना संक्रमितलाई हेर्ने समाजको दृष्टिकोण नै गलत भएको बताए ।कोरोना संक्रमितसँग वा भीडभाडमा नजाने व्यक्तिहरुसँग नभेट्ने, तीन मिटर टाँढै बसेर सामाजिक दूरी कायम गर्नुपर्ने भएपनि भावनात्मक दूरी भने घटाउन नहुने उनी बताउँछन् ।कोरोना लागेका व्यक्तिलाई आफन्त, इष्टमित्र, समाजले गर्ने व्यवहारले पनि निकै फरक पार्ने उनी बताउँछन् ।‘संक्रमितलाई हौसला र नडराउन भन्नु र ढाडस दिनुपर्नेमा कोरोना लागेछ है भन्ने भएपछि त्यो गाउँको र घरको बाटै नहिँड्ने कुरा उपयुक्त होइन,’ उनले भने, ‘टेलिफोन गरेर भएपनि सान्त्वना दिन सकिन्छ । कोरोना लागेको रहेछ भनेपछि स्वास्थ्य मापदण्ड अनुसार टाढा बसेर पनि कुराकानी गर्न त सकिन्छ नि ।’आफ्नो घरमा दूध लिएर आउने व्यक्तिलाई समेत केही व्यक्तिले ‘त्यसको घरमा लाने भए हामी कहाँ दूध नल्याउनु’ भनेको आफूले सुनेको केसीले बताए ।उद्धवका छोरा रामकुमार केसी पनि कोरोना संक्रमितलाई समाजले गर्ने व्यवहार राम्रो नभएको बताउँछन् ।कोरोना संक्रमण पछि समाजले गर्ने व्यवहारले गर्दा संक्रमितमा ‘ल बर्बाद भयो’ भन्ने सोच आउने उनी बताउँछन् ।