नयाँदिल्ली, ६ कात्तिक (रासस–एएनआई) भारतमा विगत २४ घण्टामा कोरोना भाइरसबाट थप ५५ हजार ८३८ जना नयाँ संक्रमित भेटिएका छन् । यो सहित भारतमा कूल संक्रमितको संख्या ७७ लाख पुगेको छ ।

भारतीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयका अनुसार भारतमा हाल ७ लाख १५ हजार ८१२ जना सक्रिय संक्रमित अवस्थामा रहेका छन् । विगत २४ घण्टामा ७०२ जनाको कोभिड–१९ को संक्रमणबाट मृत्यु भएको छ ।

भारतमा कोभिड–१९ को संक्रमणबाट कूल मृत्यु भएका व्यक्तिको संख्या एक लाख १६ हजार ६१६ जना पुगेको छ ।

मन्त्रालयले भारतमा कूल जनसंख्यामा संक्रमित हुने व्यक्तिको अनुपात विश्वमै सबैभन्दा न्यून रहेको पनि जनाएको छ । साथै कोरोना संक्रमितको मृत्यु हुने औसत दर समेत विश्वका अन्य मुलुकको भन्दा कम रहेको मन्त्रालयले जनाएको छ ।

भारतमा विगत सात दिनको तथ्याँक विश्लेषण गर्दा प्रति दश लाख व्यक्तिमा विश्वमा ३२१ जनामा कोरोना संक्रमण देखिएकामा भारतमा २९७, ब्राजिलमा ६९२, स्पेनमा ८१९ र संयुक्तराज्य अमेरिकामा एक हजार १९५ मा कोरोना देखिएको छ ।

यसैगरी विश्वमा प्रति दश लाख जनसंख्यामा औसतमा १४३ जनाको मृत्यु भइरहेकामा भारतमा ८४, रसियामा १६९, फ्रान्समा ५११, बेलायतमा ६४४ र संयुक्तराज्य अमेरिकामा ६६० जनाको मृत्यु भएको पनि मन्त्रालयले जनाएको छ ।

भारतीय महाराष्ट्र राज्य कोरोना संक्रमणको सबैभन्दा उच्च जोखिममा रहेको छ । यहाँ ४२ हजार ६३३ जनाको मृत्यु भइसकेको छ भने १४ लाख १५ हजार व्यक्ति निको भएका छन् ।

कर्नाटक राज्यमा एक लाख व्यक्ति सक्रिय संक्रमित रहेकामा ६ लाख ७१ हजार निको भएका छन् भने १० हजार ६९६ जनाको मृत्यु भएको छ । भारतीय स्वास्थ्य अनुसन्धान परिषदले हालसम्म ९ करोड ८७ लाख नमूना परीक्षण गरेको जनाएको छ ।

READ MORE NEWS

अफगानिस्तानको जलालावादमा भागदौडमा परी बाह्र जना महिलाको मृत्यु

५ कात्तिक (रासस÷सिन्ह्वा) ः अफगानिस्तानको जलालावादमा आज अपरान्ह भएको भागदौडमा परेर कम्तीमा पनि बाह्र जना महिलाको ज्यान गएको अधिकारीहरुले जानकारी दिएका छन् ।

उनीहरुका अनुसार जलालावादमा रहेको पाकिस्तानी कन्सुलेटमा लागेको ठूलो भिडभाडका क्रममा सो भागदौड भएको थियो । यहाँका सञ्चारमाध्यमहरुले जनाएअनुसार ठूलो संख्याका नागरिकहरु प्रवेशाज्ञा लिनका लागि लाम लागेर बसेका थिए ।

सोही क्रममा अकस्मात भागदौड भएको अधिकारीहरुले जानकारी दिएका छन् । उक्त कन्सुलेटमा लाममा लागेका महिलालाई लक्ष गरेर हल्ला मच्चाइएको र जसका काराण महिलाहरु भागदौडमा परेका थिए ।

त्यस क्रममा लाम लागेर बसेका महिलाहरुमा केही पड्किएको हल्ला चलाइएको र अकस्मात सो हल्लाका कारण उनीहरुमा दौडधुप भएको थियो । त्यसमा परेर १२ जना महिलाको घटनास्थलमै ज्यान गएको र अरु १२ जना नराम्ररी घाइते भएका थिए । घाइते भएकाहरुको स्वास्थ्य अवस्था पनि नाजुक रहेको बताइएको छ ।

यहाँको स्थानीय सञ्चारमाध्यम टोलो न्युज टेलिभिजनले सो कुराको जानकारी दिएको हो । मारिने महिलामा पाकिस्तानका र अफगानिस्तानका के कति जना थिए भन्ने बारेमा केही बताइएको छैन ।


Your Views
Related News