मेरो नाम- पल्लवी। थर, पोख्रेल। त्यो दिन म एक नव-विवाहिता दुलही थिएँ। पहिलो दिन मात्र मेरो बिहे भएको थियो। मेरो पतिको नाम- आकाश अधिकारी। हाम्रो मागी बिहे भएको थियो। तर बिहे हुनुभन्दा पहिले २/३ महिना जति हामीले एक अर्कालाई जान्ने मौका पाएका थियौँ। त्यसैले मलाई मागी विवाहमा कुनै सिकायत थिएन, म खुसी नै थिएँ।मलाई आफ्नो थर निकै राम्रो लाग्छ र प्यारो लाग्छ। मैले मेरो बुवाबाट पाएको थर। सायद संसारमा सबभन्दा राम्रो थर नै पोख्रेल हो जस्तो लाग्छ। सायद अरुहरुलाई पनि आफ्नो थरको बारेमा त्यस्तै लाग्दो हो। त्यसैले बिहेपछि पनि मैले आफ्नो थर परिवर्तन गर्ने पक्षमा थिइनँ।थर परिवर्तन गरेर म पल्लवी अधिकारी बन्न चाहँदैनथेँ। पल्लवी अधिकारी, कस्तो सुन्दै अनौठो सुनिने। के-के नमिलेको जस्तो। त्यसैले बिहे पूर्व मैले आकाशसँग एउटा सर्त राखेकी थिएँ- मैले आफ्नो पहिलेको थर परिवर्तन गर्ने छैन। मेरो हुनेवाला पतिले त्यतिबेला कुनै आनाकानी बिना नै मन्जुरी दिएका थिए।कस्तो अचम्म? आफ्नो थर कायम राख्न पनि अरुको अनुमति चाहिने। तर जे होस् आकाशको मन्जुरी पाएपछि त्यो बेला मैले ठूलै विजय हासिल गरे कस्तो अनुभव गरेकी थिएँ। त्यसैले बिहेपछि पनि मेरो नाम पल्लवी पोख्रेल नै हुने भएको थियो।आफू जन्मेको घर छोडेर म पहिलो दिन साँझ आफ्नो नयाँ घर प्रवेश गरेकी थिएँ। अलि अलि दुख अनि डर त लाग्ने नै भयो तर खासै ठूलो समस्या भएको थिएन। अर्को दिन बिहान परम्परा अनुसार बेहुलाको घरमा नव-विवाहित दुलाहा दुलहीले पुजा गर्ने चलन थियो।मलाई पनि थाहा थिएन त्यो पुजा के थियो, कस्को पुजा गरिन्थ्यो अनि किन पुजा गरिन्थ्यो। तर संस्कार नै भएकोले पुजा गर्नै पर्‍यो। पुजाको तयारी गर्ने बिहानै उठेर नुवाइँ धुवाइँ गरेर म रातो सारीमा सजिएर, हातभरि सुनका बाला, गलामा मङ्गलसुत्र, कानमा हिराका टप लगाएर, सेतो सिउँदोलाई रातो सिन्दुरले रंगाएर मख्ख पर्दै पुजा मण्डपमा गएर बसेँ।सेतो गन्जी अनि निलो बुट्टे लुङ्गीमा थिए मेरा पति। म बसेपछि उनी मेरो दाहिनेमा बसे। दाहिनेमा बस्नु भनेको उनको स्थान मेरोभन्दा उच्च हुनु थियो रे। तर मलाई केही समस्या थिएन। को ठूलो, को सानो भन्ने कुरा को कहाँ बस्छभन्दा पनि को अरुको दिलको कति गहिराइमा बस्न सक्छ भन्ने कुराले निर्धारण गर्ने हो भन्ने मलाई थाहा थियो।

पण्डित पहिले नै तयार भएर बसेका थिए। हामीहरुले आफ्नो स्थान ग्रहण गरेपछि विधिवत रुपमा पुजा सुरु भयो। पण्डितले ‘यसो गर, उसो गर’ भनेपछि हामीले पनि त्यसै गर्न थाल्यौँ। पण्डितले भट्याएका मन्त्रहरु मैले केही पनि बुझ्दैनथेँ। सायद अरुले पनि बुझ्दैनथे होलान्।धेरैजसो मन्त्रहरु उनले नबुझिने गरी सानो स्वरमा भट्याउँथे अनि हामीलाई ‘यसो गर, उसो गर’ भन्दा हामीले बुझ्ने गरी ठूलो स्वरमा भन्थे। उनले जे-जे भन्थे, हामीले त्यही गर्दै गयौँ। एकछिनको पुजापछि पण्डितले मेरा पतिका नाम सोधे।’आकाश अधिकारी’ मेरा पतिले जवाफ दिए।’गोत्र?’ पण्डितले किताबबाट नजर नउठाएरै सोधे।’कश्यप’ मेरा पतिको उत्तर थियो। उनको गोत्र कश्यप भन्ने पनि मलाई थाहा थिएन। त्यही बेला मात्र थाहा पाएँ। अनि पण्डितले फेरि के-के भन्दै भट्याउन थाले।गोत्रको बारेमा मलाई पहिले केही पनि थाहा थिएन तर मलाई रुची लागेकोले त्यसको बारेमा मैल थोरै अध्ययन गरेकी थिएँ। मेरो गोत्र भारद्वाज थियो। सुन्दै कति राम्रो सुनिने ऋषिको नाम। आफ्नो थर जस्तै मलाई मेरो गोत्र पनि निकै मन पर्थ्यो।बुवाले हामी भारद्वाज ऋषिका सन्तान भएकोले हाम्रो गोत्र भारद्वाज भएको मलाई बताउनु भएको थियो। कति सुन्दर गोत्र, कल्पना गर्दा पनि आनन्द लाग्ने। पोख्रेल थरलाई सबैभन्दा ठूलो र राम्रो माने जस्तै मैले भारद्वाज गोत्रलाई सबभन्दा ठूलो र राम्रो गोत्र मान्थेँ।मेरो बिहेपछि आधिकारिक रुपमा बुवा आमाले मलाई आफ्नो घरबाट बिदाइ गरेर मेरो उहाँहरु प्रतिको उत्तदायित्वबाट बन्चित गर्न खोज्नु भए पनि मैले आफ्नो उत्तरदायित्व बिर्सेकी थिइनँ। अरु केही गर्न नसकूँला, बुवाको थर र गोत्र आफ्ना सन्तानलाई दिन नसकूँला तर बुवाको नाम आफू ज्युँदो हुँदासम्म आफूसँगै राख्ने कुरामा म अडिग थिएँ।गोत्र र थरको बारेमा मैले त्यति सोच्दै गर्दा पण्डितले सोधे, ‘दुलहीको नाम?”पल्लवी’ भन्न मेरो मुख खुल्नै आँटेको थियो तर मेरा पतिले भनिहाले, ‘पल्लवी पोख्रेल।’उनले पल्लवी अधिकारी भनेनन्। आफ्नो वाचा पूरा गरे। मलाई निकै खुसी लाग्यो।

मलाई फेरि एक पटक विजय प्राप्त गरेँ जस्तो लाग्यो। मनमनै मुस्कुराएँ। वरिपरिका सबै कुरा पोख्रेल थर जस्तै सुन्दर देखियो। पुष्पको मगमग बास्ना र धुपबाट आएको धुवाँले मनै चन्चल भयो।अनि मेरो नाम लिएर पण्डितले भट्याउँदै गए ‘…नाम पल्लवी, गोत्र कश्यप…’‘गोत्र, कश्यप’ सुनेर म झसंग भएँ। अघिसम्मको खुसी एकैछिनमा पारिलो घाममा कुहिरो हराए जस्तै गरी हरायो। ‘पोख्रेल कसरी कश्यप गोत्र हुन्छ?’ भनेर मैले सोध्नै आँटेकी थिएँ तर पण्डितको पारा देख्दा उनले कुनै गल्ती गरे जस्तो गरेको देखिदैनथ्यो, उनले लगातार अरु मन्त्रहरु भट्याउँदै थिए।मेरो गोत्र कश्यप भनेको सुन्दा पनि न त मेरा पति न त परिवारका अन्य सदस्यले नै केही प्रतिकृया देखाएका थिए। मैले त्यहाँ भएका सबैलाई नियालेँ। सबैलाई सामान्य देखेँ, त्यसैले मलाई पण्डितले भनेको कुरालाई सच्याउने हिम्मत आएन। मेरो मौनताले त्यहाँको गुन्जायमान वातावरणलाई चुनौती दिन सकेन।  म चुप लागेँ र सोच्न थालेँ- कसरी अचानक मेरो भारद्वाज गोत्र परिवर्तन भएर कश्यप गोत्र भयो? मेरो गोत्र मैले मेरा पुस्ताहरुबाट पाएको महत्वपूर्ण पहिचान थियो, म भारद्वाज ऋषिकी सन्तान थिएँ। मेरो हरेक कोषिकामा हजारौँ वर्ष पहिले भारद्वाज ऋषिको शरीरका कोषिकामा रहेका डीएनए रहेका थिए।उनको डीएनएमा रहेका प्रोटिनका त्यान्द्राहरुको संरचना र मेरो डीएनएमा रहेका प्रोटिनका त्यान्द्राहरुको संरचना मिल्थ्यो। तर पण्डितले एकाएक मेरो गोत्र कश्यप गराइदिएका थिए। स्पष्ट थियो- म अधिकारीको घरमा बिहे गरेर गएकी हुनाले स्वतः मेरो गोत्र कश्यप भएको थियो।

तर कश्यप गोत्र हुन त कश्यप ऋषिको शरीरमा भएको डीएनएसँग मिल्ने डीएनए मेरो शरीरमा हुनुपर्ने हो।के विवाह गर्नासाथ पण्डित या अरु कसैले जादु गरेर मेरो डीएनए नै परिवर्तन गरिदिएका थिए त? के मेरो बिहे हुँदा मण्डपमा हवन गरेको घ्यू, चन्दन त जौंबाट निस्केको धुवाँमा त्यति ठूलो विकिरण थियो जसले एकाएक मेरो डिएनए नै परिवर्तन गरिदियो। अथवा के त्यो अलिकति सिन्दुरमा त्यति धेरै रेडियोधर्मी पदार्थ थियो जसबाट निस्केका विकिरणहरुले मेरो डिएनए परिवर्तन गरिदिए?पहिलो दिनकी भारद्वाज म, कसरी अर्को दिन अचानक कश्यप बन्न पुगेँ? बरु मेरो रगतमा, मेरो शरीरको कोषिकामा, मेरो डिएनएमा मेरी आमाको गोत्र कौशिक गोत्रको अंश थियो होला तर कुनै पनि हालतमा म कश्यप हुनेसक्ने संभावना थिएन।मेरो मन खिन्न भयो। यदि त्यस्तो थाहा पाएको भए सायद मैले आकाशसँग बिहे अगाडि नै गोत्र पनि परिवर्तन नगर्ने सर्त राख्थेँ होला। तर ढिलो भैसकेको थियो। पण्डितको तिलस्मी वचनले म कश्यप भैसकेकी थिएँ। म पण्डितलाई प्रश्न गर्न चाहन्थेँ, किन उनले जबर्जस्ती मेरो अनुमति बिना मेरो गोत्र परिवर्तन गरिदिए?तर फेरि सोचेँ, मेरो अनुमति बिना गरिएका कुराहरु त गोत्र परिवर्तन मात्र थिएन, त्यसको त लामो सूची नै थियो। मैले मन्त्र भट्याइरहेका पण्डितलाई हेरेँ, आकाशलाई हेरेँ, वरपर बसेकाहरुलाई हेरेँ। सबै सामान्य थिए, मैले आफूलाई मात्र असामान्य देखेँ।गोत्रको बारेमा प्रश्न गरेर सामान्यहरुको भिडमा म असामान्य देखिन चाहँदैनथेँ। त्यसैले आफ्नो हरेक कोषिकामा भारद्वाज हुँदाहुँदै पनि कश्यप गोत्रको खोल स्वीकारेर म पनि सामान्य देखिने प्रयासमा पुजा गर्नतिर लागेँ।


Your Views
Related News