काठमाडौ – आश्विन शुक्ल सप्तमीका दिन आज अपराह्न घरघरमा स्थापना गरिएको नवदुर्गा एवं दशैँघरमा फूलपाती भित्र्याइँदैछ । प्रत्येक वर्ष दुर्गा पक्षअन्तर्गत आश्विन शुक्ल सप्तमीका दिनमा मनाइने फूलपाती पर्व आज शास्त्रीय विधिअनुसार शुभ साइतको प्रतीक फूलपाती भित्र्याएर मनाइँदैछ ।घटस्थापनाका दिनदेखि वैदिक विधिपूर्वक दुर्गालाई आह्वान गरी पूजाआजा गरिएको दशैंँघर अथवा पूजाकोठामा उखु, हलेदो, केराको बोट, धानको बाला, बेलपत्र, दारिम, जयन्ती, अशोकको फूल र मानवृक्ष भित्र्याइन्छ।

READ MORE NEWS

भोलिदेखि क्लिन फिड

क्लिन फिड कार्यान्वयनका लागि सरकारले विज्ञापन बोर्ड गठन गरिसकेको छ

काठमाडौँ — विज्ञापन नियमन ऐन २०७६ मा भएको प्रावधानबमोजिम शनिबारदेखि नेपालमा प्रसारण हुने विदेशी टेलिभिजन च्यानलले विज्ञापन बजाउन नपाउने भएका छन् । व्यवस्था कार्यान्वयन भएसँगै नेपालमा क्लिन फिड लागू हुनेछ ।

‘कात्तिक ७ गते शुक्रबारसम्म मात्रै विदेशी टेलिभिजन च्यानलले विज्ञापन बजाउन पाउँछन्,’ सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सचिव हरिप्रसाद बस्यालले भने, ‘कात्तिक ८ देखि विज्ञापन बजाउन नपाइने व्यवस्था लागू हुनेछ ।’क्लिन फिड कार्यान्वयनका लागि सरकारले विज्ञापन बोर्ड गठन गरिसकेको सचिव बस्यालले जानकारी दिए । सोमबार राजपत्रमा प्रकाशित विज्ञापन नियमनसम्बन्धी नियमावलीमा खुला प्रतिस्पर्धाबाट बोर्ड अध्यक्ष छनोट नहुन्जेल सञ्चार मन्त्रालयका सहसचिवलाई अध्यक्षलाई जिम्मेवारी दिन सक्ने प्रावधान छ । सोही प्रावधानका आधारमा सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सहसचिव डिल्ली शर्मालाई बोर्ड अध्यक्षको जिम्मेवारी दिइएको सचिव बस्यालले बताए । बोर्डमा उद्योग मन्त्रालयका सहसचिव र गृह मन्त्रालयका सहसचिव पनि सदस्य हुने प्रावधान छ ।‘अध्यक्ष नियुक्ति नभएसम्म वा अध्यक्षले कुनै कारणले पदमा रही काम गर्न नसक्ने वा नपाउने अवस्था भए मन्त्रालयले ऐनको दफा १४ को उपदफा १ को खण्ड घ बमोजिमको सदस्यलाई अध्यक्षको कामकाज गर्ने गरी तोक्न सक्नेछन्,’ सोमबार राजपत्रमा प्रकाशित नियमावलीको नियम १८ मा भनिएको छ । नियमावलीको यो प्रावधानअनुसार सरकारले विज्ञापन बोर्डको अध्यक्षलाई खुला प्रतिस्पर्धामार्फत नचुनुन्जेल सञ्चार मन्त्रालयका कोही सहसचिव नै बोर्डका अध्यक्ष हुनेछन् ।ऐनको दफा १४ अनुसार बोर्डमा खुला प्रतिस्पर्धाबाट छनोट गरिएका अध्यक्षसहित गृह मन्त्रालयका सहसचिव, उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयका सहसचिव, सञ्चार तथा सूचना मन्त्रालयका सहसचिव सदस्य हुने प्रावधान छ । विज्ञापनदाता, विज्ञापन एजेन्सी वा विज्ञापन प्रसारण र वितरण गर्ने संघसंस्थामध्ये मन्त्रालयले मनोनयन गरेका संस्थाका दुई प्रतिनिधि पनि बोर्डका सदस्य हुनेछन् । उपभोक्ता हकहित वा आमसञ्चारको क्षेत्रमा कम्तीमा १० वर्षको अनुभव भएका व्यक्तिहरूमध्ये कम्तीमा एक महिलासहित मन्त्रालयले तीन जनालाई सदस्य मनोनयन गर्न सक्ने प्रावधान छ । बोर्डले तोकेको वरिष्ठ कर्मचारीले बोर्डको सचिव भई काम गर्ने व्यवस्था ऐनमा छ । बोर्डलाई सरकारी विज्ञापन व्यवस्थापनसहित सार्वजनिक स्थानमा राखिने होर्डिङ बोर्डको नियमनको समेत अधिकार छ ।नियमावलीमा घर वा कार्यालय परिसरमा राख्ने होर्डिङ बोर्डको आकार निर्धारणको जिम्मा पनि बोर्डलाई दिइएको छ । ‘आफ्नो पेसा वा व्यवसाय गर्ने घर वा कार्यालय परिसरमा राखिने होर्डिङ बोर्डको आकार बोर्डले निर्धारण गरे बमोजिमको हुनेछ,’ नियमावलीको नियम १० मा भनिएको छ । नियमावलीमा विज्ञापन एजेन्सी बोर्डमा सूचीकृत हुनुपर्ने व्यवस्था पनि गरिएको छ । सूचीकृत हुन विज्ञापन एजेन्सीले दर्ता भएको प्रमाणपत्र, गत आर्थिक वर्षसम्मको करचुक्ताको प्रमाणपत्र र बोर्डले तोकेको कागजात बुझाउनुपर्ने प्रावधान छ । बोर्डमा सूचीकृत विज्ञापन एजेन्सीले आफ्नो एजेन्सीमार्फत भएका विज्ञापनको अभिलेख राख्नुपर्ने र त्यस्ता अभिलेखको बोर्डले निरीक्षण गर्न सक्ने नियमावलीमा उल्लेख छ ।

इतिहास बनाउँदै थाई प्रदर्शन

दशकौँपछि पहिलोपटक मानिसहरू खुला रूपमा राजतन्त्रविरुद्ध प्रश्न उठाइरहेका छन् 

केही समयदेखि दसौँ हजार मानिस बैंककका सडकमा उत्रिएर जनरल प्रयुथ चान–ओचाको सरकारको राजीनामा मागिरहेका छन् । प्रदर्शनकारीले नयाँ संविधान र थाई राजतन्त्रसम्बन्धी कानुनी, राजनीतिक र आर्थिक सुधारको माग गरिरहेका छन् । गृष्म सुरु भएसँगै मानिस सडकमा आउन थालेका थिए । त्यो समय प्रदर्शनमा मुख्यतः विद्यार्थीहरूको सहभागिता थियो । मिम तथा राजनीतिक प्रहसनमार्फत युवा विद्यार्थीले सरकारको कामको आलोचना गरेको देखिएको थियो । युवापुस्ताको आक्रोश सुरुमा प्रधानमन्त्री प्रयुथविरुद्ध सोझिएको थियो । पूर्वजनरल प्रयुथ सन् २०१४ को कुपछि सरकारको नेतृत्वमा आएका थिए । त्यसपछि सन् २०१९ को विवादित निर्वाचनबाट उनी पुनः सत्तामा आए । प्रयुथको सरकार देशमा छाएको आर्थिक संकटलाई सम्बोधन गर्न असफल भइरहेको समयमा महामारी छायो र परिस्थिति झन् बिग्रियो। सुरुको प्रदर्शनलाई सरकारले बेवास्ता गर्‍यो । तर, सरकारको बेवास्ताबीच आन्दोलनले आकार लिइरहेको थियो । अगस्टसम्म आइपुग्दा प्रदर्शनकारीको मागमा परिवर्तन देखिन थाल्यो । २१ वर्षे विद्यार्थी प्रदर्शनकारी पनुसया सिथिजिरावात्नकुलले प्रदर्शनकारीहरूलाई पढेर सुनाएको पाठले समग्र आन्दोलनको माग बदलिदियो । ‘मभित्र एउटा डर लुकिबसेको थियो, परिणाम के होला भन्ने डर । तर, अहिले मेरो जीवन सधैँका लागि बदलिएको छ,’ पनुसयाले बिबिसी थाई सेवालाई भनिन् । पनुसयाले पढेर वाचन गरेको कागजमा कैयौँ अभूतपूर्व मागहरू थिए । मुख्यतः माग यस्ता थिए : राजपरिवारले पाइरहेको कानुनी छुट हटाइनुपर्ने, राजपरिवारको आलोचना गर्नेहरूलाई दण्डित गर्ने कानुन खारेज गर्नुपर्ने, राजपरिवारको बजेट कटौती गर्नुपर्ने, राजपरिवारका लगानी पारदर्शी हुनुपर्ने र तीमाथि कर लगाइनुपर्ने, राजपरिवारका सदस्यले राजनीतिक विचार व्यक्त गर्न प्रतिबन्ध लगाउनुपर्ने । त्यस्तै, राजपरिवारको महिमागान गर्ने सम्पूर्ण प्रोपोगान्डा खारेज गर्नुपर्ने, राजपरिवारको आलोचना गर्दा पछिल्लो समय बेपत्ता भएकाहरूको छानबिन गर्न अनुसन्धान हुनुपर्ने र राजाले कुनै पनि कुको समर्थन गर्ने कार्यलाई गैरकानुनी घोषणा गर्नुपर्ने माग पनि छ ।आन्दोलनको भविष्य अझै अनिश्चित छ । तर, परिणाम जे भए पनि राजा र राजपरिवारप्रति फेरिएको बोलीले नयाँ रूपान्तरण प्रतिबिम्बित गर्छ । यसले राजतन्त्रको प्रभावको क्षयलाई प्रतिबिम्बित गर्छ । सन् १९३० को दशकयता थाइल्यान्डमा राजतन्त्रविरुद्ध यो स्तरको आवाज कहिल्यै सुनिएको थिएन । त्यो समय केही युवा कर्मचारीले सेनाको ठूलो हिस्साको समर्थन लिएर निरंकुश राजतन्त्रको अन्त्य गरिदिएका थिए । आजका प्रदर्शनकारीका लागि ती युवा कर्मचारी प्रेरणाका स्रोत भएका छन् । तर, सेना भने फेरिएको छ । आज सेनाले राजपरिवारको शक्ति संरक्षणमा आफ्नो भलाइ देख्न थालेको छ । दश मागको नामले चिनिने प्रनुसयाको मागले आन्दोलनलाई सोचिएजस्तो विभाजित गरेन । बरु समाजका विभिन्न तप्का आन्दोलनमा तानिएका छन् । अहिले विभिन्न पुस्ता र सामाजिक वर्गहरू आन्दोलनमा आकर्षित भएका छन् । अक्टोबर १४ मा दशौँ हजार मानिस सरकारी भवनअघि उभिएर प्रयुथको राजीनामा मागे । भोलिपल्टै जनरलले मागको बेवास्ता गरेर देशमा संकटकाल घोषणा गरे । अहिले पाँचजनाभन्दा बढी मानिसको भेलालाई गैरकानुनी घोषणा गरिएको छ । पनुसयासहित प्रदर्शनका कैयौँ नेताहरू पक्राउ परेका छन् । जनरलले प्रदर्शन जारी रहे गम्भीर परिणाम भोग्नुपर्ने धम्की दिएका छन् । संकटकालको घोषणा, पक्राउ तथा प्रशासनको धम्कीका बाबजुद बैंकक र देशका अन्य भागमा प्रदर्शन चलिरहेको छ । प्रदर्शनकारीमाथि पानी तथा अश्रुग्यास प्रहार भएको छ । दिनदिनै प्रदर्शन उग्र भइरहेको छ र निसानामा प्रयुथका साथसाथै राजपरिवार पर्दै छन् । अहिलेको आन्दोलन विगत दुई दशकको राजनीतिक संघर्षको उत्कर्षको रूपमा देखिएको छ । यस अवधिमा लोकतन्त्र र अधिनायकवादी शक्तिबीच भएका तमाम संघर्षमा थाई राजा अधिनायकवादीको पक्षमा उभिएको देखियो । थाइल्यान्डमा हाल देखिएको परिवर्तन यति अचानक र अद्भूत छ कि एकथरी त के भइरहेको छ, अलमलमा परेको देखिन्छ । अक्टोबर १४ को एक प्रदर्शनका क्रममा शाही परिवार चढेको गाडी प्रदर्शनकारीहरूको भीड हुँदै अघि बढ्यो । त्यसक्रममा थाइल्यान्डको इतिहासमा पहिलोपटक शाही परिवारमाथि गाली र अपमानको वर्षा भयो । भोलिपल्ट भएको एक प्रदर्शनमा पनि मानिसहरूले राजाविरुद्ध अपमानजनक शब्दमा सम्बोधन गर्न थालेपछि स्थानीय पत्रकारले चलिरहेको प्रत्यक्ष प्रसारण रोकेर एउटै फुटेज दोहोर्‍याएका थिए । आन्दोलनको भविष्य अझै अनिश्चित छ । तर, परिणाम जे भए पनि राजा र राजपरिवारप्रति फेरिएको बोलीले नयाँ रूपान्तरण प्रतिबिम्बित गर्छ । यसले राजतन्त्रको प्रभावको क्षयलाई प्रतिबिम्बित गर्छ ।


Your Views
Related News