इम्पेरियल कलेज लन्डनले बुधबार कोभिड–१९ को पहिलो ‘ह्युमन च्यालेन्ज स्टडी’ सम्बन्धी योजना घोषणा गरेको छ जसमा खोपको प्रभावकारीता परीक्षण गर्न स्वस्थ स्वयमसेवकहरुलाई कोरोना भाइरसले संक्रमित गराइने बताइएको छ ।  यो खबरसँगै अहिले यस प्रक्रियालाई विवादास्पद ठहर गरिएको छ । यसबाट कोभिड विरुद्धको अध्ययन र खोप विकासमा अनुसन्धानकर्ताहरुलाई फाइदा पुग्ने भएपनि यसले स्वस्थ व्यक्तिहरुको जीवन जोखिममा पार्न सक्छ । तर वैज्ञानिकहरुले खोप ट्रायलको समय कम गराउनका लागि यो जरुरी भएको तर्क गरिरहेका छन् । तिनका अनुसार कतिपय क्षेत्रमा संक्रमण दर कम हुँदै गएकाले खोप लगाएका स्वयमसेवकहरुलाई भाइरसको सम्पर्कमा आउन लामो समय लाग्न सक्छ तर भाइरस सिधै तिनको शरीरमा प्रवेश गराउँदा नतिजा छिटै देख्न सकिनेछ र खोप विकासमा एकदमै थोरै समय लाग्नेछ । वैज्ञानिकहरुले यसअघि पनि विभिन्न रोग विरुद्धका खोप निर्माण गर्दा यस्तै किसिमको मोडल अपनाइसकेका छन् । जस्तै सबैभन्दा पहिले एडवर्ड जेनरले ‘स्मलपक्स’ विरुद्धको अध्ययनमा आफ्नो खोज प्रमाणित गर्न आफ्नै छोरालाई संक्रमित गराएका थिए । यसैगरी ‘एचवानएनवान इन्फ्लुएन्जा’ विरुद्धको खोप परीक्षण गर्दा पनि धेरै मानिसहरुलाई फ्लुसँग सम्पर्कमा ल्याइएको थियो । हैजाविरुद्धको खोपमा पनि यही गरिएको थियो । तर यसमा एउटा कुरा के स्पष्ट हुनपर्छ भने यस्तो किसिमको जोखिम उठाउनु अगाडि अनुसन्धानकर्ताहरुसँग ठोस र सटिक जानकारी हुन आवश्यक छ ।  जस्तै यसअघि वैज्ञानिकहरुले जिका भाइरसको भ्याक्सिन टेस्ट गर्न स्वस्थ मान्छेलाई यसबाट संक्रमित गराउने योजना बनाएका थिए तर यो जोखिम उठाउन योग्य, पर्याप्त डाटा नभए पनि उनीहरुले यसो गर्न नसकिने निर्णय गरेका हुन् । युनिभर्सिटी अफ वारविकका वरिष्ठ प्रोफेसर एदेर रिचार्ड भन्छन् , “महामारी चलिरहेका बेला उपचारमा ढिलाइ हुनुका जोखिम सँगै जानीजानी रोगसँग सम्पर्क गराइने स्वयमसेवकलाई खतरामा नपार्नेबारे पनि ख्याल गर्नुपर्ने हुन्छ । नैतिकताका हिसाबले यसलाई पूर्ण रुपमा सहि भन्न सकिँदैन तर हामीले यस किसिमका रिसर्च गरेनौँ भने पनि त्यसका झन भयानक परिणाम हुन सक्छन् । किनकि हामीले त्यही खतरनाक रोगसँग लड्न अधिक सङ्ख्यामा डाक्टर, नर्स र स्वास्थ्यकर्मीहरुलाई हरेक दिन काममा पठाइरहेका छौँ र धेरैजना यसबाट बिरामी पनि पर्नेछन् जसमा केही हप्तापछि तिनको मृत्यु हुन सक्छ । त्यसैले त्यो हप्ताभरको समय नै अदृश्य रुपमा उपस्थित ठूलो जोखिमको समय बन्न पुग्छ । तर हामीले सही समयमा उपचार विधि पत्ता लगायौँ भने त्यस्ता हजारौँ, लाखौँको ज्यान बचाउन सक्नेछौँ ।”तर अझैपनि लन्डनका विज्ञहरुले निरीक्षण एजेन्सीलाई यो रिसर्च कसरी गरिनेछ भन्ने सम्बन्धी विस्तृतमा प्रस्ताव बुझाउनुपर्ने हुन्छ । यदि प्रस्ताव स्वीकृत भयो भने उनीहरुले जनवरी पछि स्वयमसेवकहरुलाई भाइरसबाट संक्रमित गराउनेछन् । र त्यो भन्दा अगाडि उनीहरुले कोभिड–१९ गराउने ‘सार्स–कोभ–२’ भाइरसको कति मात्राको डोज व्यक्तिका लागि सुरक्षित हुनेछ भन्ने निर्धारित गर्नुपर्ने हुन्छ । यसमा सकेसम्म थोरै भाइरस तर शरीरले त्यस विरुद्ध पर्याप्त प्रतिक्रिया जनाउने हिसाब गरेर निर्णय लिनुपर्ने हुन्छ । नेगेटिभ रिपोर्ट नआउन्जेल सबै सहभागीहरुलाई निर्धारित स्थलमा क्वारेन्टिनमा राखिनेछ। वैज्ञानिक हिसाबले हेर्दा व्यक्तिलाई थाहा पाएर दिइएको भाइरसको डोजले, विभिन्न खोपप्रति प्रतिरोधात्मक प्रणालीले केकस्तो प्रतिक्रिया जनाउनेछ भन्ने निश्चित मूल्यांकन गर्न मद्दत मिल्नेछ । त्यसैगरी यसको नतिजा पनि तुलनात्मक रुपमा धेरै छिटो आउनेछ ।
रिचार्ड भन्छन्, “यसलाई झन्डै तेस्रो चरणको ट्रायल बराबर मान्न सकिनेछ ।” ह्युमन च्यालेन्ज ट्रायल अभियानका संस्थापक जोस मरिसन भन्छन्, “यसबाट अहिले तेस्रो चरणका परीक्षणमा रहेका केही प्रमुख खोपहरु कति प्रभावकारी छन् भनेर पहिले नै थाहा पाउन सकिनेछ । ” तर यसअघि अमेरिकाका संक्रमण रोग विशेषज्ञ डाक्टर फौसीले यो प्रक्रिया सम्बन्धी, देशभर सक्रमण दर बढिरहेका बेला बचेका स्वस्थ व्यक्तिहरुलाई पनि संक्रमित गराउनु नैतिक रुपमा उचित नहुने बताएका थिए । र यतिखेर बेलायतमा पनि संक्रमण दर पुनः वृद्धि भइरहँदा वैज्ञानिकहरुले यसमा स्वीकृत पाउनु अघि यही अवरोधको सामना गर्नुपर्ने हुन सक्छ । यता महामारीले पुर्याएको असिमित क्षति पश्चात् युवाहरु भाइरसको उपचार खोजमा योगदान पुर्याउनकै लागि यस विवादित अध्ययनमा सहभागी हुन समेत तयार रहेको बताएका हुन् ।

READ MORE NEWS

मेरो तयारी ‘बार्गेनिङ’ वा कुनै ‘डिल’ होइन


Your Views
Related News