मुक्तिनाथमा हिन्दूहरू नारायणको रूपमा र बौद्धहरू भगवान् बुद्धको रूपमा दसैं मान्दछन्

तर, कतिपय क्रिस्चियन प्रभावमा परेका र यस क्षेत्रको सांस्कृतिक अध्ययन नगरेकाले पृथ्वीनारायण शाहले जबरजस्ती लादेको हो भनेर पाल्सी कुरा गरेर दसैंंबारे भ्रम खडा गर्न खोजेका छन् । पार्टीगत रंगले पनि दसैंंलाई दूषित पार्न खोज्दै छ । ‘दसैंं सम्पन्नहरूले मात्र मनाउन सक्ने पुरातनवादी संस्कृतिको उपज हो’ भन्दै माओवादी नेताले दसैंं नमान्ने निर्देशन दिए तापनि दसैं बडो हर्षोल्लासले मनाइने काम भएकै हो । दसैंं र तिहार जनजातिको चाड होइन भन्दै आफूहरूलाई पृथक् जाति देखाउने केही जनजातिहरूमा होड सुरु भएको छ । दसैंंको बहिस्कार विषयमा स्वामी प्रपन्नाचार्य भन्नुहुन्छ, ‘दुर्गा, चण्डी र सुम्निमा तथा युसाहाम एउटै देवीको नाम हो । इष्टदेव महादेव, पार्वतीलाई पारुहाङ तथा सुम्निमाको रूपमा मान्ने गरिएको छ । लिम्बुहरू धावासाम, युमासाम भनेर महादेव र पार्वतीलाई इष्ट देवदेवीको रूपमा मान्दछन् ।नवदुर्गाको पूजा नवरात्रमा गर्ने अति प्राचीन परम्परा हो । दशमीको दिन विजयदशमी भनेर दही अक्षता मिसाएर शुभघडी हेरेर बाजे, बराजु, आमा, बाबु अथवा आफूभन्दा बुढापाका गुरुहरूबाट टीका लाउने प्राचीन संस्कृतिलाई दूषित पार्नु बुद्धिमत्ता होइन ।’ वास्तवमा युगौंदेखि प्रचलित संस्कृतिलाई बहिस्कारको कुरा गर्नु भनेको समाजबाट एक्लिन खोज्नु शिवाय केही होइन । बहिस्कारका हल्ला जति गरिए तापनि सबै जातिले बुझिसकेको छ कि पृथ्वीनाराण शाहभन्दा शताब्दीयौं अगाडिदेखि नै दसैंं र तिहार यस क्षेत्रको नै हिन्दू तथा बौद्ध तथा सबै जातिको साझा संस्कृति बनिसकेको यथार्थता । विदेशमा बस्ने गुरुङ, तामाङ, राई, लिब्बु, मगर, थकाली, थारू, जो नेपाली होस्, उनीहरूले दसैंं नेपालीको मौलिक चाड हो भन्ने कुरा चरिचार्थ गरेर देखाएका छन् ।दसैंं धर्म होइन, यो एउटा परम्परागत सांस्कृतिक मान्यता हो । विश्वभरमा बौद्ध र हिन्दूहरू यसलाई आफ्नो मौलिक चाड ठान्छन् । एक अन्तर्वार्तामा दलाई लामाले पनि भनेका थिए (पाञ्चजन्य हिन्दी साप्ताहिकमा सन् १९९२ नोभेम्बर २२) ‘म हिन्दू र बौद्धलाई दाजुभाइ मान्दछु । यी दुवै धर्मका बीच समाधि, योग, तन्त्रजस्ता कुरामा समानता छ, जुन बौद्धहरूले हिन्दू धर्मबाट लिएका हुन् ।’ त्यस्तै भुटानका तल्कालीन राजा जिग्मे वाङचुक दसैंंबारे भनेका थिए, ‘म सक्रियताका साथ दसैंं पर्वमा भाग लिन्छु । हाम्रो इष्टदेवता महालक्ष्मी हुन् र हामी शिव र विष्णुको पनि पूजा गर्छौं ।’ उक्त कुरा सन् १९९३ जनवरी ७ मा ‘द टाइम्स अफ इन्डिया’ को एक अन्तर्वार्तामा प्रकाशित भएको थियो । राष्ट्रिय अन्तर्राष्ट्रिय रूपमा दसैं नेपालीहरूको महान् चाडको रूपमा परिचित भइसकेको हुँदा यसको अस्तित्वमाथि विवाद उठाउन खोज्नु आत्मघाती खेलबाहेक केही मानिँदैन ।हिन्दू र बौद्ध बीचको सामञ्जस्यताको कारण हो पशुपतिनाथ र स्वयम्भूनाथ बीचको पारस्पारिकता । पशुपतिनाथमा बुद्ध पूर्णिमाका दिन बुद्धको मुकुट पहिराएर पूजा गर्ने गरिन्छ । बौद्धहरू पनि पशुपतिनाथको पूजाआजा गर्दछन् । काठमाडौं उपत्यकामा बौद्धहरू आठवटा शिवलिंगलाई अष्टवैतरागको रूपमा पूजा गर्दछन् । स्वयम्भूनाथमा पनि हरेक हिन्दूहरू मञ्जुश्रीलाई सरस्वती मानेर पूजा गर्छन् । गुहेश्वरीको कुण्डलाई सृष्टिको प्रतीक मानेर शैव र बौद्धले पुज्ने गरेका छन् । मुक्तिनाथको मन्दिरमा लामा र वैष्णव दुवै पद्धतिबाट पूजा गरिन्छ । मुक्तिनाथमा हिन्दूहरू नारायणको रूपमा र बौद्धहरू भगवान् बुद्धको रूपमा मान्दछन् । साँखु बज्रयोगिनीलाई हिन्दू तथा बौद्ध समाजले पूजा गर्छन् । चाँगुनारायणस्थित गरुडलाई बौद्धहरू हरिहरवाहन लोकेश्वर मान्दछन् ।बूढानीलकण्ठलाई बौद्धहरू १०८ लोकेश्वरको रूपमा आराधना गर्छन् । बौद्ध विहारहरूका मूलढोकामा दायाँ र बायाँ गणेश र महांकालको प्रतिमा खडा गरी पूजा गर्ने गरिन्छ । भने यस्तो धार्मिक सम्मिश्रण भएको समाजमा हामी नेपालीले विश्वभर सांस्कृतिक सामञ्जस्यताको अनुपम उदाहरण प्रस्तुत गर्न सकांै । दसैं, तिहार, तीज, बुद्धजयन्ती, शिवरात्रि, ईन्द्रजात्रा आदि अनेकांै चाडपर्वहरू नेपाली समाजका जीवनपद्धति बनिसकेका छन् । अतः विजया दशमीको शुभ साइतमा विधिअनुसार आआफ्नो मूलढोकाको पूजा गरी मान्यजनबाट मर्यादाक्रमअनुसार यो साल कोरोनाको संक्रमणको बेला भिडभाड नगरी, टीका प्रारम्भ गर्दै विक्रम संवत् २०७७ को विजय दशमीको उपलक्षमा नेपालमा शान्ति, सुव्यवस्था र स्थिरताका लागि नवदुर्गा भवानीसँग प्रार्थना गर्दै एकआपसमा शुभकामना आदानप्रदान गरौं ।


Your Views
Related News