काठमाडौं । नवदूर्गाको सप्तम रूपको नाम हो कालरात्रि । यी देवीको अति भयावह तथा उग्ररूप रहेको छ। सम्पूर्ण सृष्टिमा यस रूपभन्दा धेरै भयावह अरु केहीपनि छैन भन्ने देखाउनकोलागि कालरात्रिको स्वरुप देखाउने गरिन्छ । तर, यो स्वरुपले मातृत्व भावलाई समेत समेट्ने गरेको छ । यी देवीको यो रुपले ज्ञान र वैराग्य प्रदान गर्ने विश्वास छ । यसमा आवश्यक पर्दा आफ्ना संरक्षकहरुले देखाउने रौद्र रुपको संकेत गर्न खोजिएको छ ।जतिधेरै भयंकर स्वरुप यी देवीको छ, त्यति नै यी देवी सुख दायिनी रहेकी छिन् । सोही कारणले यिनको एक नाम ुशुभंकरीु समेत हो । राक्षसी प्रवृत्ति विरुद्ध भयंकर स्वरुप भएकी यी देवी आफ्ना भक्तहरुप्रति भने एकदमै दयालु रहेको मान्ने गरिन्छ । दानव, दैत्य, राक्षस, भूत, प्रेत आदि कालरात्रिको स्मरण मात्रैले पनि भयभीत हुन्छन् भन्ने मान्यता छ। यी देवीलाई ग्रह(बाधाहरुबाट समेत मुक्ति दिने देवीको रुपमा लिने गरिन्छ । यी देवीको उपासहरुलाई अग्नि(भय, जल(भय, जन्तु(भय, शत्रु(भय, रात्रि(भय आदि कहिलैपनि नहुने धार्मिक विश्वास छ ।
कालरात्रि स्वरूपको पूजा विधि

कालरात्रिको पूजाको क्रममा नवग्रह,  दशदिक्पाल,  देवीको परिवारमा उपस्थित देवी देवताको पूजा सबैभन्दा पहिले गर्नुपर्दछ । त्यसपछि मात्रै देवी कालरात्रिको पूजा गर्नुपर्दछ । दुर्गा पूजामा सप्तमी तिथिको एकदमै महत्व बताइएको छ । यस दिनबाट भक्तजनहरुको लागि देवीको ध्यान केन्द्रीत हुने भएकोले यस दिनपछि मात्रै कालरात्रिको पूजा सुरु गरिन्छ । पूजा गर्ने समय सबैभन्दा पहिले कलश र उसमा स्थापित देवी देवताको पूजा गर्ने गरिन्छ । त्यस पश्चात् माता कालरात्रिको पूजा गर्ने गरिन्छ । पूजाको विधि शुरू गर्नुपूर्व हातमा फूल लिएर देवीलाई प्रणाम गरेर देवीको मन्त्रको ध्यान गर्ने गरिन्छ ।सप्तमीको पूजा अन्य दिनको जस्तै हुन्छ । तर, यसदिन रात्रिमा विशेष विधानकासाथ देवीको पूजा गर्ने गरिन्छ । यसदिन कतैकतै तान्त्रिक विधिबाट समेत पूजा गर्ने गरिन्छ । तान्त्रिक विधिबाट पूजा गर्नेले प्रसादको रुपमा मदिरासमेत देवीलाई अर्पण गर्ने गर्दछन् ।

कालरात्रिको ध्यान मन्त्र

करालवंदना धोरां मुक्तकेशी चतुर्भुजाम्।

कालरात्रिं करालिंका दिव्यां विद्युतमाला विभूषिताम॥

दिव्यं लौहवज्र खड्ग वामोघोर्ध्व कराम्बुजाम्।

अभयं वरदां चैव दक्षिणोध्वाघः पार्णिकाम् मम॥

महामेघ प्रभां श्यामां तक्षा चैव गर्दभारूढ़ा।

घोरदंश कारालास्यां पीनोन्नत पयोधराम्॥

सुख पप्रसन्न वदना स्मेरान्न सरोरूहाम्।

एवं सचियन्तयेत् कालरात्रिं सर्वकाम् समृध्दिदाम्॥

कालरात्रिको स्तोत्र पाठ

हीं कालरात्रि श्री कराली च क्लीं कल्याणी कलावती।

कालमाता कलिदर्पध्नी कमदीश कुपान्विता॥

कामबीजजपान्दा कमबीजस्वरूपिणी।

कुमतिघ्नी कुलीनर्तिनाशिनी कुल कामिनी॥

क्लीं हीं श्रीं मन्त्र्वर्णेन कालकण्टकघातिनी।

कृपामयी कृपाधारा कृपापारा कृपागमा॥

READ MORE NEWS

भुटानी शरणार्थी शिविरका बालबालिकाको बिचल्ली

धेरैका घरमा दसैँ आयो, तर अभिभावकविहीन यी बालबालिकाले नयाँ लुगा नफेरेको धेरै भयो

दमकस्थित भुटानी शरणार्थी शिविर बेलडाँगीका सात वर्षीय बालक अर्विन माझीकी आमा हराएको एक वर्ष भयो । आमा हराएपछि बुबा पनि वेलावेला मात्र घर आउँछन् । उनीमाथि एक बहिनी र एउटा भाइको पालनपोषणको जिम्मेवारी छ । आठ वर्षीया उनकी दिदीलाई शरणार्थीको पहलमा मामाघर पठाइयो । अहिले उनीहरू तीनजना शरणार्थी शिविरमा छन् । काम केही गर्न सक्दैनन् । शरणार्थी शिविरका अरूकोमा के पाक्छ त्यही माग्न पुग्छन्, उनी । ‘कहिलेकाहीँ बुबाले ल्याउनुहुन्छ । त्यही खान्छौँ । तर, बुबा त धेरैजस्तो मातेरै आउनुहुन्छ, कसैले चामल दिएको छ भने पनि बेचेर जानुहुन्छ,’ उनी भन्छन्, ‘हामी त अरूको घरमा जान्छुम् । कहिले दिनुहुन्छ । कहिले बोकै बस्छौँ ।’उनले लुगाकपडा नफेरेको वर्षौँ भयो । अरूले दिएको थोत्रो लुगामा उनीहरूको जीवन चलेको छ । अरू शरणार्थीले छोराछोरीलाई दसैँमा नयाँ लुगा किनिदिन थालेका छन् । तर, यी बालबालिकाको यसपटकको दसैँ खल्लो हुने निश्चित छ । ‘दसैँमा अरूले त लुगा किने । हामीलाई त बुबाले नकिनिदिने रे,’ अर्विन भन्छन् । उनीहरू पहिला त शरणार्थी शिविरमा रहेको विद्यालय जान्थे । शिविरको विद्यालय पनि बन्द भयो । शरणार्थी बालबालिकालाई बाहिरकै विद्यालय पढ्ने व्यवस्था गरियो । उनीहरूको घरमा खाने पनि नभएपछि विद्यालय जान पनि छाडे उनीहरूले । ‘उनीहरू त जे भेट्यो त्यही खान्छन् । कहिलेकाहीँ म पनि खाना दिन्छु उनीहरूलाई । मैले पनि केही असहाय बालबालिका पालेको छु । आयस्रोत छैन । सधैँ दिन सक्दिनँ,’ उनकी छिमेकी सीता गुरुङ भन्छिन्, ‘घरमा केही छैन । जे भेट्यो त्यही खान बाध्य छन् ।’

बाबु जेलमा, आमाले छाडिन् 

भुटानी शरणार्थी शिविर पथरी शनिश्चरे, मोरङमा बस्दै आएकी ११ वर्षीया अल्सिबा राईको त्यस्तै बिचल्ली छ । बाबु जेलमा छन् । आमा घर छाडेर दोस्रो विवाह गरेर गइन् । उनी अहिले शिविरमा एक्लै बस्दै आएकी छिन् । अभिभावकविहीन उनको गुजारा अर्काकै भरमा चलेको छ । ‘बुबा जेलमा हुनुहुन्छ । आमा त हराउनुभयो । शिविरकै दाइ–दिदीहरूले सहयोग गर्नुहुन्छ,’ उनले भनिन् । शरणार्थी शिविर बेलडाँगीकी १४ वर्षीया असहाय बालिका दृष्टि राईलाई अभिभावकविहीन हुनुको पीडा राम्रैसँग थाहा छ । उनी सानै हुँदा आमा हराइन् । बुबा जेल परे । सानै उमेरबाट उनको काँधमा दुईजना भाइ र एकजना बहिनीको जिम्मेवारी थपियो । अहिले उनी र उनका भाइबहिनीले अभिभावक पाएका छन् । शरणार्थी शिविरमा असहायको पक्षमा काम गरिरहेका युवराज राईले उनी र उनकी बहिनीको अभिभावकत्व लिएका छन् । सीता गुरुङले दुई भाइको लालनपालनदेखि पढाइसम्मको व्यवस्था गरिदिएकी छिन् ।

३२ बालबालिका असहाय
शरणार्थी शिविर बेलडाँगी र शनिश्चरेमा गरी ३२ जना असहाय बालबालिका रहेको शरणार्थी अगुवा तथा फ्रेन्ड्स क्लब बिआरसीका अध्यक्ष युवराज राई बताउँछन् । उनीहरूको पालनपोषणमा नै समस्या भएको उनी बताउँछन् । ‘केहीलाई शिविरभित्र नै पाल्ने मान्छे खोजेर उनीहरूको जिम्मा लगाएका छौँ । तर, सबैलाई सम्भव भएको छैन,’ उनी भन्छन्, ‘उनीहरूको अवस्था भनिसध्य छैन । शब्दमा त के नै भन्ने र ! उनीहरूको अवस्था दर्दानक छ ।’ केही वर्ष पहिलासम्म त दातृ निकायले रासन दिँदै थियो । तर, पछिल्लो समय रासन कटौती गर्दा शिविरमा रहेका असहाय बालबालिका निकै अप्ठ्यारोमा परेको उनी बताउँछन् ।उनीहरूको क्लबले गत वर्ष २१ जना बालबालिकालाई दाता खोजेर निजी विद्यालय भर्ना गरिदिएको थियो । अहिलेसम्म चारजनाले बीचमै विद्यालय छाडेको उनी बताउँछन् । ‘परिवारको अवस्था त्यस्तो छ । घरमा राम्रोसँग खान पनि पाउँदैनन् । स्कुल हालेर मात्र नहुने रहेछ,’ उनी भन्छन्, ‘सातजनाले छाडिसके । अरू पनि घरमा पेटभरि खान पाएको दिन जान्छन् । अरू वेला जाँदैनन् ।’ लकडाउनमा दीर्घरोगी वृद्धवृद्धाको उपचारका लागि सहयोग गरेको फ्रेन्ड्स क्लब बिआरसीले दसैँमा बालबालिकाका लागि पनि सहयोगका लागि स्रोत खोजिरहेको छ । अध्यक्ष राईका अनुसार खासगरी तेस्रो मुलुक पुनर्वास भएका शरणार्थीसँग सहयोग मागिएको छ । ‘दसैँ त हाम्रो ठूलो पर्व हो । हामीले त नमाने पनि हुन्छ । तर, केटाकेटीलाई त रहर हुन्छ नि !’, उनी भन्छन्, ‘उनीहरूको दसैँ खल्लो नहोस्, एक छाक मीठो र एक जोर राम्रो लुगा लगाउन पाऊन् भन्ने हाम्रो लक्ष्य हो । हामीसँग त केही छैन । तर, तेस्रो देश गएका दाजुभाइ, दिदीबहिनीसँग सहयोग मागिरहेका छौँ ।’

उराठलाग्दा भ्रान्तिहरू !

कोरोना संक्रमितको जिम्मा जनताकै भन्नुको अर्थ के होला ? जनताको जिम्मा कि बजारको ? अनि बजारको रखवाला को ? के बजार भनेकै जनता हो ?खबरमा भनियो– कोरोना संक्रमितको उपचार जनता आफैंले गर्नुपर्नेछ, राज्य पछि हट्यो । सर्वत्र आलोचना भयो । फेरि अर्को खबर आयो– होइन, विपन्न संक्रमितको उपचार राज्यले गर्छ, अरूले आफैं गर्ने । विपन्नता परिभाषित छैन । विपन्नले विपन्न भएको पुष्टि गर्नसम्म यहाँ पहुँच चाहिन्छ । त्यसैले पछिल्लो खबर पत्याउन सकिएन, आलोचना भने जारी छ ।नेकपाभित्रका कम्युनिस्टले आलोचना गरे, बाहिरका वामपन्थीले गरे र सत्ताइतरका उदारवादीले पनि गरे । सबै ‘वाद’ फजुल हुन् भन्नेदेखि वादको अस्तित्व मान्दै मान्दिनँ भन्नेले पनि जमेरै आलोचना गरिरहेका छन् । कोरोना संक्रमितको राज्यले जिम्मा लिँदैन भन्ने निर्णयको आलोचना स्वयं एक मलायलम उपन्यासको रहस्यमयी भालेको डाकझैं भएको छ । बडो महत्त्वपूर्ण काम भइरहेका बेला कतैबाट भाले बासेपछि सबैको ध्यान मोडिएको छ । तर, त्यसरी चर्को आवाज निकालेर कराउने भाले कसको घरबाट बोलिरहेको छ, कुन उद्देश्यले त्यो कराएको हो र आखिर त्यो कस्तो छ भन्नेबारे कोही जानकार छैन । खासमा किन त्यो भाले कराइरहेको छ भन्ने पनि खासै बुझिँदैन । सरकारको आलोचना गर्ने यो अनौठो ‘डाक’ को अर्थ बुझ्न मलायलम कथाको नेपाली सारांश हेरौं ।
केरलको भाले

केरलको एउटा सानो गाउँमा एक दिन अकस्मात् प्रहरीहरू देखिए । उनीहरू कान नसुन्ने नब्बे वर्षकी एकल वृद्धाको ठेगाना खोज्दै त्यहाँ पुगेका थिए । केही बेरमा गाउँभरि हल्ला फिँजियो । प्रहरीहरूले बूढी मान्छेलाई केरकार गर्न कोसिस गरे, उनले केही सुनिनन् । गाइँगुइँ चल्दै गर्दा थाहा लाग्यो, गाउँको एक धनाढ्य पहुँचवालाले वृद्धाविरुद्ध प्रहरीमा उजुरी गरेको रहेछ । उजुरीमा वृद्धाले पालेको भालेप्रति शंका गरिएको रहेछ । पहुँचवालाको घरमा राष्ट्रका नाममा बलिदान दिएका सैनिकहरूको स्मरणमा कार्यक्रम भइरहेका बेला एक्कासि भाले कराएपछि कार्यक्रम बिथोलिएछ । कर्कश आवाजमा कराउने भाले देखिएन, उसको आवाज मात्रै सुनियो । वृद्धाको भालेले त्यसो गरेको हुन सक्ने भन्दै उनीविरुद्ध उजुरी परेको थाहा पाएपछि, खाडीको भिसा पर्खिरहेको एक बेरोजगार तन्नेरीले त्यो पहुँचवालालाई थर्काउँदै भन्यो, ‘खबरदार, ती बूढी आमैलाई केही होला !’ त्यसपछि सबै शंका तन्नेरीमाथि खनियो ।बिस्तारै तन्नेरीका सबै गतिविधि शंकाको घेरामा परे । हल्ला फैलिँदै गएपछि, गाउँको मन्दिरमा भालेको कर्कश डाक सुनियो, गिर्जाघरमा पनि प्रार्थना सुरु हुँदा त्यस्तै आवाज सुनियो, मस्जिदमा उही क्रम दोहोरियो । स्वतन्त्रता दिवस मनाउन भेला भएका बेलासमेत त्यही भालेको आवाजले सबैको ध्यान भंग गरिदियो । विद्यालय होस् वा कुनै सामुदायिक भेला, अदृश्य भालेको आवाजले नतर्साएको ठाउँ नै बाँकी रहन छोड्यो । जता जे भए पनि, समस्यामा भने उही बेरोजगार तन्नेरी परिरह्यो । सबै गडबडीको जवाफ उसैले दिनुपर्ने भयो । गाउँका सुझबुझ भएका मान्छेले समेत सबै समस्याको जड त्यही केटोमा देख्न थाले ।अन्ततः न भाले पत्तो लाग्यो, न त्यो डाकको कुनै अर्थ निस्कियो । आखिर कस्तो भालेले के भन्नका लागि त्यसरी सबै महत्त्वपूर्ण भेलाहरूमा कुनै अदृश्य ठाउँमा बसेर कराएको हो ? कसैले पनि अर्थको खोजी गरेन, अन्तर्य बुझ्ने कोसिस गरेन । समस्या आफैंमा छ कि, त्यो पनि कसैले हेरेन । बरु पहुँचका आधारमा एउटा अमुक मान्छेलाई दोषी करार गरेर, मुख्य विषयबाट सबैको ध्यानान्तर गरियो । मलायलमभाषी आख्यानकार उन्नी आरले लेखेको ‘प्रथी पुभनकोझी’ उपन्यासको सारांश हो यो ।यही कथामा जस्तो यहाँ पनि एउटा डाक सुनियो– कोरोना संक्रमितको जिम्मा जनताकै । त्यसको अर्थ के होला ? जनताको जिम्मा कि बजारको ? अनि बजारको रखवाला को ? राज्य पछि हट्दा जनता अघि आउने हो कि बजार ? के बजार भनेकै जनता हो ? खोज्ने कोसिस नभए, स्वास्थ्य मन्त्रालय वा सो अड्डाका कुनै अमुक हाकिम मात्र दोषी देखिनेछन् । वा, केहीले प्रधानमन्त्री खड्गप्रसाद ओली नामका व्यक्तिमा मात्र समस्यालाई केन्द्रित गराएर मूल विषयबाट सबैको ध्यान अन्यत्र मोडिदिनेछन् ।

नेपालको भाले

यहाँ बासेको भालेले भन्दै छ, समस्या उदार भनिएको चरम अनुदार र लोकतन्त्र भनिएको अलोकतान्त्रिक व्यवस्थामा छ । समस्या उदार लोकतन्त्रको अन्तर्यमा बसेको बजारको तिलस्मी रूपमा छ, जसलाई हाम्रो सञ्चारक्षेत्रले ‘जनता’ नामले चिनाउँछ । त्यही बजारले निर्माण गरेको भाष्यमा छ समस्या ।संसारभर लिबरल डेमोक्रेसी भनेर चिनिने उदार लोकतन्त्रको वेग बलियो र फैलावट ठूलो भयो । राज्य सञ्चालनको व्यवस्थाका रूपमा यसले केही प्रावधान र नियमहरू तय गरेको थियो । ती सबैको पालना गरेरै जनोत्तेजक (डिमागग) दक्षिणपन्थीहरूको उदय भयो । आवधिक निर्वाचन, विधिको शासन, मानव अधिकार एवं अभिव्यक्ति स्वतन्त्रता एकैसाथ निमिट्यान्न पारेर डोनाल्ड ट्रम्प, नरेन्द्र मोदी र खड्गप्रसाद ओलीहरू निर्मित भएका होइनन् । कुनै एक बिहान उदार लोकतन्त्रको नाटकीय औपचारिक अन्त्य घोषणा गरेर यी सबैको उदय भएको होइन । बरु सबै औपचारिकता पूरा गर्दै व्यवस्थाका लागि आवश्यक वैधताको जोहो गरेरै उदाएका हुन् यी ।उदार लोकतन्त्र मासिएकामा ठेलीका ठेली पुस्तक लेख्ने सबैले यो सामान्य सत्य स्विकारेका छैनन्, भालेको डाकको असली अर्थ खुलाउन चाहेका छैनन् । अभ्यासरत व्यवस्थाले नियमसंगत रूपमै तयार गरेका खजाना निलेर बलिया भएका हुन् दक्षिणपन्थी शक्ति एवं नेता । व्यवस्थाका शिरमा उनिएका केही गुलाबी फूलहरूका भञ्जकका रूपमा तिनको आलोचना भए पनि, तिनले अक्षुण्ण राखिदिएको विकासको पुरानो थिति र बजारको प्रधानताबारे आलोचकहरू बोल्दैनन् । ‘व्यवस्था ठीकै थियो, कहाँ हो कहाँबाट खराब मान्छेहरू फुत्त निस्केर खत्तम बनाए’ भनेर मुखमण्डल रातोपिरो बनाइरहेका छन्, पुस्तकका थाक तयार पारिरहेका छन् । उपन्यासको पहुँचवाला पनि त्यसै भन्छ, ‘गाउँमा सबै ठीकै थियो, कहाँ हो कहाँबाट भाले कराउन थालेपछि बिग्रियो ।’नेपालमा आलोचकहरूका उदारवादी र कम्युनिस्ट दुवै वृत्तमा रमाइला दृश्य देखिन्छन् । महिला, दलित, मधेसी, थारू र जनजातिका पक्षमा चाल्न थालिएका सामान्य प्रगतिशील कदमलाई पूर्णतया खारेज गर्दा बेस्सरी ताली बजाएर खड्गप्रसाद ओली र उनको विचारधारालाई वैधता प्रदान गरेका उदारवादीहरू अहिले उनीबाट चिढिएझैं गर्छन् । कतिपय उनलाई ट्रम्प र मोदीकै हाराहारीमा राखिदिन्छन् । दलाल व्यापारीका कोठाचोटामा बसेर एमाले र माओवादीबीच पार्टी एकताको अभ्यास भएको थाहा पाउनेहरूसमेत ओलीकै बाहुलीबाट समाजवाद स्थापना हुन्छ भन्नेमा ऊ बेला विश्वस्त देखिन्थे । तीन वर्ष नबित्दै उनै ओलीबाट निराश भएका छन् । यो खेमाका कतिपयलाई ओलीले दलीय गुट मिलाउन सके सबै ठीक भइहाल्छ भन्ने पनि सधैं लागिरहन्छ ।अहिले ओलीका आलोचक बनेका दुवै थरीले एउटा सामान्य सत्य स्विकार्न सकेका छैनन्– ओली हिजो जे थिए, आज पनि त्यही हुन् । हिजोजस्तो विकास र जस्तो राष्ट्रवादको प्रचार उनले गरेका थिए, आज पनि उनी त्यसैमा अडिग छन् । नवउदारवादी विकासको जगमा उभिएर पञ्चायती राष्ट्रवादको च्यादर ओढ्नु नै उनको मूल ध्येय हो । उनले भनेको चौतर्फी विकास त्यही हो । सिंगो पार्टी संरचनाले समेत त्यही काम गर्नका लागि उनलाई पार्टी अध्यक्ष एवं प्रधानमन्त्री मानेको हो । भ्रष्टाचारका कथानकमा कहिले लाउडा र धमिजा आउँछन्, कहिले गेजुवा र यती, यो सामान्य रीत हो । व्यवस्थामा अन्तर्निहित भ्रष्टाचारका कडी छोप्न पनि यथानामहरू सहयोगी हुने गर्छन् । ढंग नपुग्दा भ्रष्टाचारका एकपछि अर्को खबर प्रकाशित हुन्छन्, ढंग र औपचारिकता पुर्‍याउँदा तिनै कामको प्रशंसासमेत हुन सक्ने व्यवस्था हो यो ।शिक्षा र स्वास्थ्य राज्यको जिम्मा हुनेछ भनेर उनले निर्वाचन जितेका होइनन् । संकट भोगेका सामान्यजनको रेखदेख सरकारले गर्नेछ भन्ने उनले कहिल्यै कबोल गरेका छैनन् । घरबार नभएर सडकमा आइपुगेका केहीलाई इंगित गरेर उनले भोका मान्छेलाई भात खुवाउँछु भनेका थिए, त्यो काम आफ्नोतर्फबाट सम्पन्न भएको उनले घोषणा गरिसकेका छन् । उनी सरकारमा नहुँदा पनि स्वास्थ्य र शिक्षामा सुधारको माग गर्ने गोविन्द केसीको आन्दोलनलाई समर्थन गरेनन् । नवउदारवादको आलोचना गर्दै, समाजवादी कार्यक्रम ल्याउँछु कहिल्यै भनेनन् । बरु उनले स्पष्ट भनेका थिए, हामी नाम मात्रको कम्युनिस्ट हौं ।राजनीति गर्नलाई आवश्यक भएकाले कम्युनिस्ट बिल्ला भिरेका हौं । निर्वाचनअघिको आफ्नो वाचामा उनी अडिग भएकैले अन्ततः कोरोना संक्रमितको उपचारलाई उनले बजारको जिम्मा लगाएका हुन् । फेरि भनूँ– जनताको जिम्मा होइन, उनले बजारको जिम्मा लगाएका हुन् । नेपालका केही ‘कम्युनिस्ट’ र ‘उदारवादी’ हरूबाट आलोचना हुँदा ओलीले ताज्जुब मान्दा हुन् । सम्भवतः उनलाई लागिरहन्छ, ‘मबाहेक अर्को कोही यहाँ बसेर गर्न खोजेको के हो त ? त्यही विकास होइन र ? त्यही ठूला भवन, चिल्ला बाटा, ठूला जलविद्युत्, यस्तै होइन ? अनि त्यही खस भाषा, दौरा–सुरुवाल, ढाका टोपीको राष्ट्रवाद होइन ?’ उनलाई लाग्दो हो, यिनै काम गर्ने हो भने स्वाभाविक रूपमा भ्रष्टाचारका केही काण्ड सतहमा आउँछन् नै । विकसित देशमा छैनन् र भ्रष्टाचार ? त्यत्रो तरक्की गरेको चीनमै पनि भ्रष्टाचारका काण्ड त कति छन् कति ! यी सबै काम गर्नका लागि बलियो प्रधानमन्त्री चाहिन्छ भनेका होइनन् ? उदारवादीहरू नै पनि विकासको भिजन भएको बलियो नेता भए यो देश आठ–दस वर्षमै बन्छ भन्थे, ली क्वान यु सम्झिरहन्थे । उनले यस बेला सोचिरहेका होलान्, ‘अनि त्यसो हो भने, तीन वर्ष पनि बित्न नपाउँदै हताश हुने ? नेपालका कम्युनिस्ट र उदारवादीले सोचेकै जस्तो काम गर्ने हो, अरू पाँच–सात वर्ष धैर्य गर्नुपर्‍यो नि !’

नीरस मतान्धता

अहिले प्रधानमन्त्री ओलीको आलोचना गरिरहेका उदारवादी र आफूलाई कम्युनिस्ट भनेर चिनाउने अधिकांश मान्छेका तर्क सुनेरै पंकज मिश्राले आफ्नो पछिल्लो पुस्तकको शीर्षक जुराएको भान हुन्छ, ‘ब्ल्यान्ड फ्यानाटिक्स’ अर्थात् नीरस मतान्धहरू ! (यसमा अपवादहरू छन् र तिनको सुनुवाइ खासै हुँदैन ।) प्रधानमन्त्री खड्गप्रसाद ओली, उनले प्रतिनिधित्व गर्ने राजनीतिक प्रवृत्ति र उनले वरण गरेको विचारधारालाई हलक्क हुर्काउन मज्जाले सघाइसकेपछि कसरी योभन्दा फरक परिणामको अपेक्षा गर्नु ? एक व्यक्तिका रूपमा उनका केही स्वभावजन्य कमजोरी होलान्, के त्यति मात्रले अहिलेका सारा गडबडी सृजना भएका हुन् ? होइनन् भने, समस्या उनले अँगालेको राजनीतिमा छ, उनले देखेको सपनामा छ, र त्यहीअनुसार उनले हिँडिरहेको बाटोमा छ । त्यही बाटोका सहयात्री बन्नैका लागि हिजो संविधान बन्दै गर्दा, निर्वाचन हुँदै गर्दा र उनी प्रधानमन्त्री हुँदै गर्दा उनको समर्थनमा गीत गाएको आजै बिर्सन मिल्छ र नवउदारवादी विकास र राष्ट्रवादको नारामा निर्वाचन जितेर आउँदादेखि नै खबरदारी गरिरहेको सीमान्तको मतलाई अवैध साबित गर्नेहरू मिश्राका ‘ब्ल्यान्ड फ्यानाटिक्स’ जस्तै हुन् । मिश्राले अमेरिकी थिओलोजिअन राइनहोल्ड निबुरलाई उद्धृत गर्दै अहिलेका उदारवादी नियाल फर्गुसनदेखि तानेसी कोएट्ससम्म र द न्युयोर्क टाइम्सदेखि इकोनोमिस्टसम्मलाई यो विशेषण दिएका हुन् । पानीजहाज र एसियाकै ठूलो विमानस्थल हाम्रा प्राथमिकता हुन् र भनी प्रश्न सोध्नेलाई पञ्चायतकालमा ट्रकको विरोध गर्थे, यी त्यस्तै हुन् भनेर ओठे जवाफ दिनेले कोरोनाकालमा मात्र दुःखी हुनुको अर्थ छैन । त्यस बेला शिक्षा, स्वास्थ्य, आवास र समुदाय आधारित अर्थतन्त्रलाई प्राथमिकतामा राख भन्दा पुँजीवादको अपरिहार्यता स्विकार्नुपर्छ भनियो । खासमा भन्न खोजिएको थियो– ओलीको ‘पोलिटिकल कम्युनिज्म’ को आवरणमा आउने नवउदारवादी राष्ट्रवादभन्दा अर्को बाटो हिँड्न खोज्नुको तुक छैन । कोरोनाको क्रासदीकै कारणले त्यो नीरस मतान्धताको अन्त्य भएको हो भने यो परिवर्तनलाई सुखद मान्नुपर्छ । तर, सामाजिक सञ्जालमा सुरु गरेर त्यहीँ अन्त्य गर्ने क्रान्तिका लागि पछिल्लो सरकारी निर्णयको सर्वत्र आलोचना भएको हो भने, त्यो हल्लाले पनि केरलकै भालेको नियति बेहोर्ने निश्चित छ ।


Your Views
Related News