काठमाडौं । शनिबार (आज) आश्विन शुक्ल अष्टमी अर्थात बडादशैंको नवरात्र अन्तर्गतको महाअष्टमी मुलुकभरशक्ति स्वरुपा महागौरीको पूजा आराधना गरि मनाइँदै छ । महाअष्टमीका दिन दशैं घर तथा जमराकोठामा दुर्गाभवानी, महाकाली, महा–सरस्वती र महालक्ष्मीको प्रतीकका रूपमा चामल, द्रव्य, जनै, सुपारी, फलफूल र नैवेद्यसहित नौ थुप्रा राखी दुर्गापूजा गर्नाका साथै कलपूर्जा, हातहतियार र सवारी साधनलाई सफासुग्घर गरी बलिसहित पूजा गरिन्छ । पशुबलि नचढाउनेहरू पनि जमराकोठामा घिरौंला, कुभिन्डो, मूला आदि बलि दिई दुर्गाभवानीलाई खीर तथा नरिवल चढाउने गर्दछन्।हनुमानढोकाको दशैँघरमा महाअष्टमीको मध्यरातमा शक्तिरूपिणी दुर्गाभवानीको पूजाअर्चना र हर्षबढाईंका साथै ५४ राँगा र ५४ बोकाको बलि दिई कालरात्री मनाउने चलन छ ।

यस पर्वमा आश्विन शुक्ल पक्षको पहिलो दिन शैलपुत्री, दोस्रो दिन ब्रह्मचारिणी, तेस्रो दिन चन्द्रघण्टा, चौथो दिन कुष्माण्डा, पाँचौं दिन स्कन्दमाता, छैटौं दिन कात्यायनी, सातौं दिन कालरात्रि, आठौं दिन महागौरी र नवौं दिन सिद्धिदात्रीको पूजा आराधना गर्ने गरिन्छ । यि नौवटा दुर्गाका रुपलाई नै नवदुर्गा पनि भन्ने गरिन्छ ।बडादसैंको सातौं दिन धार्मिक विधिअनुसार फूलपाती भित्र्याइन्छ भने महाअष्टमी र महानवमीका दिन बलि पूजा गर्नेहरुले दसैं घर, कोत र शक्तिपीठमा बलिसहित विशेष पूजा गर्ने गरिन्छ । नवरात्रभर दुर्गा सप्तशती चण्डी, श्रीमद्देवीभागवत र अन्य देवी स्तोत्र एवं स्तुतिहरुको पाठ पारायण पनि गर्ने गरिन्छ ।यसवर्षको दशैंको टीकाको शुभ साइत कात्तिक १० गते विहान १०ः१९ बजे रहेको पञ्चाङ्ग निर्णायक समितिले जनाएको छ ।

READ MORE NEWS

मेरा लागि कविता

मेरा लागि कविता

म किन कविता लेख्छु भन्ने प्रश्न त्यति नै जटिल छ, जति म यो जीवन किन जिउँदै छु ! अथवा यो पनि, म यो निर्णय किन लिन्छु ? जस्तो कि आफ्नै किसिमबाट लिने गरेको छु, र कतिपटक त अरूलाई चोट पुर्याउँदा आफैं रगतपच्छे हुन्छु । यससँगै यो पनि महत्त्वपूर्ण छ कि मैले कविता नलेखेको भए अरू के गर्ने थिएँ ? या त धेरै बोल्ने थिएँ या त चुपचाप हुन्थेँ । सम्भव छ, अलिकति उत्तर यहाँ फेला पर्न सक्छ । कविता मौनताका विरुद्ध मेरा शब्द निपूर्ण वाक्पटुता हो र मेरो वाक्पटुताका विरुद्ध एउटा अर्थप्रवण मौनता । जब मलाई बोल्न मन लाग्दैन, म कविता नजिक जान्छु । जब म चुपचाप रहन सक्दिनँ, म गद्यमा जान्छु, जुन मेरो कविताको प्रेरणा हो ।वास्तवमा, मेरा सम्पूर्ण कविकर्म मेरा लागि आफैंलाई फेरि सुन्ने एउटा उपक्रम हो, र यही अपनत्वमा मेरो काव्य संसारको बसोबास छ, जुन सधैं मेरो वरिपरि रहेको हुन्छ, अथवा म तिनका वरिपरि हुने प्रयासमा रहन्छु । कविता मेरा लागि यस्तो कथा हो जसमा मेरो वरिपरि व्यथामूलक ध्वनिहरू विद्यमान छन्, जसलाई म खुलेर कवितामा मात्रै सुन्न पाउँछु । कविता नै यस कारण, किनभने त्यहाँ प्रतिध्वनिहरूका लागि पर्याप्त समय रहन्छ, जसले मलाई बारम्बार त्यो स्थितिको सम्झना गराइरहन्छ, जसमा या त यो बनेको छ या त यसैमा यो अभिव्यक्त भइरहेको हुन्छ । कविता मेरा लागि एउटा छिमेकीको कथा हो जसलाई म एउटा गीतझैँ सुन्छु । अथवा पर टाढाको गीत, जसलाई म कथाका रूपमा सुन्छु ।प्रायः भन्ने गरिन्छ, कविता दुःखी आत्माहरूको सम्बोधन हो । तर वास्तविकतामा यो विचलित आत्माहरूमा सम्बोधित हुने गर्छ । दुःखी हुनु एउटा कुरा हो भने दुःख महसुस गरिनु निःतान्त फरक कुरा हो । यस अनुभूतिबाट मात्रै खिन्नताले जन्म लिन्छ । त्यसबेला प्रतिरोधका कविताहरू लेखिन्छ, र यही अनुभूति जब भाववादी हुँदै नियतिवादी हुन जान्छ, त्यसबेलामा उत्सवका कविताहरू लेखिन्छ । यहाँ नियतिवादको अर्थ प्रदत्त अवस्थासँग सम्झौता गर्नु र आत्मलीन भएर मुक्तिको गीत गाउनु हुन जान्छ । जुन वास्तवमा कहीँ हुँदैन । मलाई खुसी लाग्छ जब मेरा कविताहरूमा विचलित चेतनाका तत्त्वहरू देखापर्छ । तर कहिलेकाहीँ यसैबीचमा भाववादका उत्सवधर्मी कविताहरू देखापर्छ, त्यस परिस्थितिमा मेरो अतिशय व्याकुल मनलाई नियन्त्रण गर्ने प्रयासका रूपमा हेरिनुपर्छ ।यसका साथै यो पनि सत्य हो कि मेरो जीवनका प्रत्येक अनुभव कवितामा नयाँ अवसरको खोजी हो र यस अवसरले मलाई ती अनुभवका हरेक राम्रा वा खराब, ऐतिहासिक तथा सामाजिक गतिशीलतासँग परिचित गराउँछ ।त्यसैले कविता लेख्दा अनुभवमा रेकर्ड भएका घटनाहरूलाई म सकारात्मक रूपमा हेर्छु, यही सकारात्मकतालाई म मेरो मुक्तिसँग पनि जोड्ने गर्छु । साँचो र वास्तविक मुक्ति, आफ्ना अनुभवहरू आफ्ना पाठकहरूसँग बाँड्नुमा निहित हुन्छ । किनकि यो अनुभवगत् साझेदारी नै हो जसले कविलाई विस्मृत हुनबाट बचाउँछ ।

तपाईं भन्न सक्नुहुन्छ, हरेक कविताले मलाई मेरा तात्कालिक अनुभवहरूबाट मुक्त गर्छ र मलाई शाश्वत चिन्तनमा जोडिने माध्यम बन्छ । जहाँ जीवनलाई फेरि एकपटक बुझ्ने मौका मलाई मिल्छ । जसलाई भोक्ताका रूपमा बाँचे, उसलाई द्रष्टाका रूपमा हेर्नु र धेरै पछिसम्म आफ्नामा हेर्नु, मूलतः आफ्नो जीवनको विकास पनि हेर्नु हो । मेरा लागि कवितामा आख्यान महत्त्वपूर्ण विशेषता हो । पहिले प्रकृतिको ध्वनि तत्त्व र रंगहरूलाई आफूभित्र ढाल्न आरम्भ गर्यो र जब यतिले पनि सन्तोष मिलेन, तब यिनको खास अर्थमा उन्न सुरु गरेँ । त्यसमा पनि चित्त नबुझे त्यही गन्धको तत्त्वतिर मोडिएँ । कवितामा गन्धको तत्त्व यतैकतै समावेश हुन्छ, जसले वस्तुतत्त्वमा निजता ल्याउँछ । रंगले कतिपटक आफ्नो समानताका कारण भ्रम पनि पैदा गर्छ परन्तु यस धराका हरेक पदार्थको गन्ध अलगअलग हुन्छ, जसबाट वस्तुको आफ्नो निजता प्रतिबिम्बित हुन्छ । यो गन्ध कुनै अतिरिक्त वा अलग उपस्थितिमा हुँदैन अपितु यो समानताभित्रको निजता नै हो । जसलाई हामी कतिपटक वस्तु भन्छौं । जबकि यो एउटा शिल्प नै हुन्छ । रंग नामक वस्तुभित्र गन्ध नामक शिल्पलाई चिन्नु मेरो कविताको अभिष्ट रहेको छ । जसको सार्थकता यसको उपलब्धिमा हैन, यसको उपक्रममा रहेको हुन्छ । तपाईं भन्न सक्नुहुन्छ, मेरो कविकर्मको समस्त सुख कविताको एउटा सुन्दर शब्दमा समाहित हुन्छ । तर दुःख यही हो कि यो आजसम्म भेटिएको छैन । भन्न हुँदैन, मेरा लागि यो शब्दको खोज नै असलमा मेरो कविता हो र यही खोजको विफलता त्यसको निरन्तरता । अन्त्यमा, म केवल यो चाहना गर्न सक्छु कि कविले सम्पूर्ण अधिकार छोडिदिन र शारीरिक भौतिकताको जडत्वकासाथ संघर्ष गर्न सक्यो, सम्पूर्ण मानवको मुक्तिको माध्यम बन्न पुग्यो । जसलाई वेदान्त, ईश्वर भन्छन्, त्यही मेरा लागि कविता हो । केवल कविता । किनकि कविता नै मेरा लागि विशेषाधिकारबाट मुक्त छ र यसका लागि सतत् संघर्षको योजनामा मेरो कविकर्म चरितार्थ हुँदै छ।

रियलविरुद्ध मेस्सीको गोल खडेरी

 


Your Views
Related News