राष्ट्रिय जनगणना–२०७८ को व्यापक तयारी थालिएको छ । यो पटक विदेशस्थित राजदूतावासमा ‘ई–सेन्सस’समेत गरिने भएको छ ।केन्द्रीय तथ्याङ्क विभागका अनुसार विदेशस्थित दूतावास र कूटनीतिक नियोगमा विद्युतीय जनगणना हुनेछ । नेपालमा भएका हरेक कूटनीतिक निकायका मानिसलाई नेपालकै मानिस मानेर जनगणना गर्न लागिएको केन्द्रीय तथ्याङ्क विभागले जनाएको छ ।यसलाई ‘ई–सेन्सस’ नाम दिइएको छ । यस्तो जनगणना पहिलो पटक गरिन लागेको हो । परराष्ट्र मन्त्रालयमार्फत इन्टरनेट कनेक्सन गरी विभागको वेबसाइटमा जोडेर जनगणना गरिने तयारी रहेको केन्द्रीय तथ्याङ्क विभागका महानिर्देशक नवीनलाल श्रेष्ठले जानकारी दिए ।“जसरी विदेशमा रहेका नेपालीलाई विदेशी कानुनअनुसार व्यवहार गरिन्छ, त्यसरी नै नेपालमा रहेका राजदूतावास र कूटनीतिक निकायका कर्मचारीलाई पनि नेपालकै कानुनअनुसार व्यवहार गर्ने गरी जनगणनामा समेट्न लागिएको हो”, विभागका निर्देशक ढुण्डीराज लामिछानेले भने।जनगणना गर्दा विभागमा रहेका कर्मचारीले ट्याब्लोइडबाट प्रश्नावली सोध्नेछन् । सफ्टवेयरमार्फत सीधै त्यो गणना डाटा सेन्टरमा प्रविष्ट गराइन्छ । सफ्टवेयर राख्ने प्रक्रिया अहिले जारी छ ।त्यसका लागि आवश्यक कर्मचारी सोही प्रक्रियामार्फत भर्ना गरिँदै छ । ई–सेन्ससमा भाग लिँदा दूतावास, वाणिज्य दूतावास र अन्य कूटनीतिक निकायमा रहेका नेपाली कर्मचारीले नै सहजीकरण गरेर भर्ने व्यवस्था मिलाइएको छ । नेपालमा २५ वटा आवासीय दूतावास तथा विदेशी कूटनीतिक नियोग र ८२ वटा अस्थायी कूटनीतिक नियोग छन् ।जनगणनाका लागि सामान खरिद प्रक्रियामा छ । “अहिलेसम्म हामी टेबल वर्कमै छौँ । माघदेखि तालिम सुरु गर्नुपर्छ”, विभागका महानिर्देशक श्रेष्ठले भन्नुभयो । प्रश्नावली अन्तिम चरणमा पुगेको जानकारी निर्देशक लामिछानेले दिए । यसका लागि अन्तिम चरणका केही छलफलमा विभाग व्यस्त छ । ती प्रश्नावली छाप्ने स्थान तय भइसकेको छ ।आउँदो चैत १ देखि जनगणनाका लागि जिल्लास्तरीय कार्यालय स्थापना गर्ने तयारी सुरु भइसकेको छ । यसका लागि घर भाडामा लिने र डाटा सेन्टरका निम्ति आवश्यक तयारी भइरहेको छ । विगतमा जनगणनाको तथ्याङ्क सार्वजनिक गर्न दुई वर्षजति लागेको थियो । यसपटक छ महिनामै सार्वजनिक गर्ने गरी काम भइरहेको उनले बताए ।जनगणनाका लागि आवश्यक कर्मचारी भर्नाको प्रक्रिया अघि बढेको छ । यही माघ र फागनुमा कर्मचारी छनोट सक्ने योजना छ । यसपालि गणक र सुपरीवेक्षक करारमा लिइने भएको छ । त्यसका लागि शिक्षक–शिक्षिकालाई करारमा लिई तालिम दिइने उनले जानकारी दिए ।

प्रविधिको उच्चतम प्रयोग
अनलाइन तालिम दिन सफ्टवेयर डिजाइन भइरहेको छ । यसको काम सकिएलगत्तै कर्मचारी भर्ना सुरु हुनेछ । यसपालि अनलाइन विधिबाट पारदर्शी ढङ्गले जनगणनाका सबै गतिविधि सार्वजनिक गरिएको छ । अहिले कोभिड–१९ सङ्क्रमणका कारण देशभर पुगेर गणक तथा सुपरभाइजरलाई तालिम दिने र पढाउन सकिने अवस्था छैन ।त्यसैले ट्युटोरियल भिडियो निर्माण गरेर पढाउने व्यवस्था गरिँदै छ । सबै सामग्री प्रविधीकरण गरेर तयार गरिँदै छ । यसलाई युट्युबमा राखेर पढाइँदै छ । सकेसम्म प्रविधिको उच्चतम सदुपयोग गरेर जनगणना हरेक वर्गका लागि फलदायी बनाउने अभ्यास विभागले गरिरहेको छ ।विभागले वेबसाइटसँगै सामाजिक सञ्जालको ​भरपूर उपयोग गर्ने सोच राखेको छ । यसमार्फत आफ्ना कर्मचारीसँग सहजै पहुँचमा रहने र देशभर भइरहेको जनगणनाको जानकारी तत्कालै लिन सक्ने गरी आवश्यक तयारी भएको छ ।महानगरमा ट्याब्लोइडबाट प्रविधिमैत्री जनगणनाको उच्चतम नमुुना काठमाडौँँ महानगरपालिका हुँदै छ । महानगरमा ट्याब्लोइडमार्फत जनगणना हुँदै छ । विगतमा जस्तो कागजी प्रश्नावली बोकेर घरघरमा गणकले सोध्ने छैनन् । सीधै प्रविधिमैत्री ट्याब्लोइडमा सोधिएका प्रश्नावलीको उत्तर डाटा सेन्टरमा प्रविष्ट हुनेछ ।यसले कागजी प्रश्नावलीलाई कम्प्युटरको डाटा सेन्टरमा प्रवेश गर्नुपर्ने झन्झट नरहने उनले बताए । “केही न केही ठाउँ त पूर्ण प्रविधिबाट जनगणना गरौँ भन्ने सोचका साथ ट्याब्लोइड प्रयोग गर्ने निधो गरेका छौँ”, उनले सुनाए । यसले करिब २५ लाख हाराहारीको जनसङ्ख्याको जनगणना छोटो समयमै सक्ने वातावरण सिर्जना गर्छ ।यति बेला निर्देशिका लगायतमा जनगणनाको कार्यालयमा पुग्नुपर्ने सामग्री धमाधम पोको पारिँदै छ । त्यसलाई सम्बन्धित जिल्लामा पु¥याउन र ढुवानी गर्न विभागमा चटारो छ ।विगतमा मुख्य–मुख्य प्रश्न सबै घरमा सोधिन्थ्यो । केही प्रश्न नमुुनाका आधारमा प्रत्येक आठ घरमध्ये एक घरमा सोधिन्थ्यो । त्यसैले त्यो नमुुना जनगणना जिल्ला स्तरभन्दा तल पुगेर गर्न सकिएन । तर अहिले सङ्घीय संरचनामा स्थानीय तह सबैभन्दा तल छ । सोहीअनुसार सबै प्रश्न सबै घरमा सोधिनेछ । यसले वडास्तर सम्मको विवरण यसपालिको जनगणनाले दिने महानिर्देशक श्रेष्ठले बताए ।

कार्यविधिमा टेकेर जनगणना

राष्ट्रिय जनगणना सञ्चालन तथा व्यवस्थापन आदेश, विविध आर्थिक मापदण्ड र कार्यविधि लगायतका विधिमा बाँधिएर जनगणना हुँदै छ । कार्यविधिमा टेकेर हुन थालेको जनगणना पनि अबको पहिलो नै हो । कार्यविधि पारित हुने चरणमा रहेको निर्देशक लामिछानेले बताए ।पहिले कार्यविधि नहुँदाको अवस्थामा जनगणना कसरी भयो भन्ने विवरण संस्थागत रूपमा छैन । सहभागी व्यक्ति व्यक्तिसँग त्यस्ता विवरण सीमित थियो । पहिलेको जनगणनाका विवरण त्यस्ता व्यक्तिसँग माग्न जानुपर्ने अवस्था थियो । अब भने सेन्सस वेबसाइटमै राखेर सार्वजनिक गरिएको छ ।पहिलो चरणमा सुपरीवेक्षकले वैशाख २६ देखि जेठ १५ सम्म जनगणना गर्नेछन् । यसले परिवारको अवस्था, घरको सङ्ख्या, तला, कृषि प्रयोगमा रहेको जग्गा, बैङ्क कारोबार, रोजगार तालिम, भूकम्पलगायत क्षतिपछि अनुदानबाट बनेका घरसहितको घरपरिवार सूचीकरण विवरण आउनेछ ।दोस्रो चरणमा जेठ २५ देखि असार ८ सम्म गणकले मूल गणना गर्नेछन् । यसले पहिले सुपरभाइजरले गणना गरेको सूचीकृतका घरघरमा पुगेर व्यक्ति–व्यक्तिको विवरण दिनेछ । पुर्खाको भाषा, रोजगारी क्षेत्र, बालबालिकाको जन्मदर्तालगायत केही नयाँ प्रश्न यस खण्डमा थपिएको महानिर्देशक श्रेष्ठले बताए ।


Your Views
Related News