काठमाडौं । नेपालीको महान पर्व दशैंका बेला देशका विभिन्न मन्दिर र शक्तिपीठहरुमा बलि दिने प्रचलन छ । दशैंका बेला मात्र नभइ अन्य पर्व, उत्सव र धार्मिक एवं तान्त्रिक कार्यसिद्धिका लागि पशुबलि दिइँदै आएको पाइन्छ । कुनै समय मानव बलि समेत प्रचलनमा रहेकोमा हाल यो लोप भइसकेको छ ।आज (शनिवार) दशैंको आठौं दिन अर्थात् महाअष्टमीको दिन सबैभन्दा बढी बलि दिने गरिन्छ । दुर्गाभवानीको विशेष पूजा गरिने आजको दिन भगवती मन्दिर तथा शक्तिपीठहरुमा राँगा, बोका, हाँस, कुखुरालगायत पशुपंक्षीको बलि दिने गरिएको छ ।देबी देवताका नाममा आखिर बलि किन दिइन्छ त ? यसबारे विभिन्न तर्क–वितर्क र बहस पनि हुँदै आएका छन् । महाअष्टमीको दिन शास्त्रसम्मत रूपमा दशैंघर, कोतलगायत देशका विभिन्न शक्तिपीठमा पशु बलि दिइ दुर्गाभवानीको विशेष पूजाआजा गरिनाले सुख-समृद्धि र मुक्ति पाइने जनविश्वास रहिआएको छ ।खासमा बलि शब्दले प्राणीको बलिदान दिइनुलाई नै जनाउँछ । तर बलिका मुख्य ३ प्रकार रहेको यसबारे जानकारहरु बताउँछन् । ती हुन्- सात्विक, राजस र तामस बलि ।चन्दन, अक्षता, फूल, अर्घ्य, पञ्चामृत र पायस लगायत १६ सामग्रीले पूजा गर्ने विधिलाई सात्विक भनिन्छ । यसलाई षोडषोपचार पूजा पनि भनिन्छ ।पशु तथा पंक्षीको रगत, मासु चढाएर देवीदेउतालाई सन्तुष्ट गराउने विधिलाई राजस बलि भनिन्छ । यसमा सात्विक पूजाका साथै पशुबलि अर्थात् रगत चढाउनु अनिवार्य मानिन्छ ।सात्विक र राजस दुवै विधिसहित मदिरा समेत चढाएर गरिने पूजा विधिलाई तामस भनिन्छ । यी कुरा शास्त्रमा नै परिभाषित गरिएकाले पशुबलि शास्त्रसम्मत नै रहेको एकथरी विद्वानहरु तर्क गर्छन् ।काठमाडौंस्थित प्रसिद्ध गुह्येश्वरी मन्दिरमा यही तामस विधिबाट बलि दिने परम्परा छ । अन्य शक्तिपीठहरुमा भने राजस बलि दिइन्छ ।

मुक्तिका लागि बलि ?

देबी–देवताका मन्दिर र यज्ञ-यज्ञादिमा विधिपूर्वक दिइने बलि मुक्तिसँग जोडेर हेर्ने गरिन्छ । विवेकशील र अविवेकशील प्राणी दुवैले मोक्ष प्राप्तिको चाहना गर्ने हुनाले पवित्र स्थल तथा शक्तिपीठहरुमा पशुपंक्षीको बलिदान दिएर उनीहरुको मोक्षमार्ग सुरक्षित गर्नकै लागि बलि दिइने गरेको शास्त्रीय मत राख्नेहरु तर्क गर्छन् ।यसरी देबी–देवताका खातिर बलिदान चढ्ने पशुले अर्को जन्ममा माथिल्लो जुनी लिएर जन्मने शास्त्रमा वर्णन गरिएको बताइन्छ । यद्यपि यस मतको धेरैले खण्डन पनि गर्ने गरेका छन् ।पशुबलि दुर्गापक्षमा देवी स्थापना गरिएको स्थानमा विधिपूर्वक पशुमुक्तिका लागि भनेर सङ्कल्प र प्रार्थना गरी दिइने शास्त्रीय तान्त्रिक विधिका जानकारहरुको मत छ ।आसुरी प्रवृत्तिको नाश गर्न देवीलाई शक्तिशाली बनाई पशुको मुक्तिका लागि पनि पशुबलिको महत्व रहेको बताइन्छ । अहिले नेपालमा चलेको तन्त्र र वैदिक मिश्रित विधि भएकाले शक्तिपीठमा बलि दिनुपर्छ भन्ने मान्यता नै प्रबल रहेको देखिन्छ ।राज्यको सुरक्षाका लागि समेत क्षत्रीयमार्फत अनिवार्य बलि दिनुपर्ने मान्यता राखिन्छ । तर ब्राह्मणको हातबाट भने पशुबलि दिन वर्जित गरिएको छ ।राज्य सञ्चालकले प्रभु शक्ति, मन्त्र शक्ति र उत्साह शक्तिका लागि पशुबलि विधिपूर्वक दिनैपर्ने शास्त्रीय मत रहेको छ ।महाअष्टमीका दिन विशेषगरी देशैभरिका साना ठूला शक्तिपीठ तथा कुल देवता थानमा बलि दिने गर्छन् । कतिपयले त घरमै पनि बोका तथा कुखुरा काटेर बलि दिन्छन् ।मुख्यतया काठमाडौं उपत्यकाभित्रका शक्तिपीठ भद्रकाली, नक्साल भगवती, गुह्येश्वरी, मैतीदेवी, कालिकास्थान, शोभा भगवती, विजेश्वरी, इन्द्रायणी, सङ्कटा, बज्रबाराही, दक्षिणकाली, चामुण्डा, सुन्दरीमाई, रक्तकाली, बज्रयोगिनीलगायत मन्दिरहरुमा बलि दिने गरिन्छ ।सर्वसाधारणले मात्रै हैन राज्यले नै समेत बलि दिने चलन छ । हनुमानढोकाको दशैंघर, तलेजु भवनीमा महाअष्टमीका दिन राज्यका तर्फबाट ५४ बोका र ५४ राँगाको बलिसहित कालरात्री पूजा गर्ने चलन अझै पनि छ । नेपाली सेनाले समेत हातहतियारको पूजा गर्दै विभिन्न शक्तिपीठमा मौलो पूजा बलि दिने चलन छ ।देशका अन्य विभिन्न जिल्लाका प्रसिद्ध शक्तिपीठहरुमध्ने सप्तरीको छिन्नमस्ता भगवती, धनुषाको राजदेवी, डडेल्धुराको उग्रतारा, बैतडीको देहीमाडौं एवमं निंगलाशैनी भगवती, तल्लादेही, काभ्रेपलाञ्चोकका चण्डेश्वरी, नाला भगवती र पलाञ्चोक भगवती, नुवाकोटको देवीघाट र भैरवी, गोरखाको मनकामना, पर्साको गहवामाई, सिन्धुपाल्चोकको पाल्चोक भगवती, दोलखाको कालिञ्चोक भगवतीलगायत शक्तिपीठमा पनि बलिसहित पूजा गरिन्छ।

READ MORE NEWS

महाकालीपारि अचम्मका महाराज


टिहरी गढवाल भारतीय उत्तराखण्ड राज्यको पहाडी जिल्ला हो । गढवाल राज्यमा स–साना राजा थिए । महाराजा सर रनवीर सिंह राजेन्द्रबहादुर पनि तिनैमध्येका हुन् । विशेषतः उनलाई जिन्दको महाराज भनेर चिनिन्छ । जिन्द शहर पहिला पञ्जाबमा थियो तर यतिखेर हरियाणामा पर्छ । रानी ताल यहाँको प्रमुख पर्यटकीय क्षेत्र हो, जहाँ भूतेश्वर महादेव मन्दिर पनि छ ।रनवीर चार वर्षको हुँदा बाबु बलवीर सिंहको मृत्यु भयो । सन् १८८७ मा बाजे रघुवीरको पनि निधन भयो । आठ वर्षको बालक रनवीर राजा बने । उनी प्रगतिशील थिए, ब्रिटिश शासनविरोधी । स्कुल, अस्पताल धेरै खोले । विधवा र अनाथहरुको कल्याणार्थ थुप्रै काम गरे । स्थानीय जनता उनलाई भोला राजा भन्थे । नपुंशक भनेर गिज्याउँथे । आफू नपुंशक होइन भनेर देखाउन पाँचवटीलाई रानी बनाए । छोरा राजवीर जन्माए । उनका रानीमध्ये जसवन्त कौर (ओलिभ मोनालस्कु) पनि थिइन्, रोमानियाकी हजामकी छोरी । उनका पाँच छोरा र सात छोरी भए ।महाराजा रनवीर राति ढिलो सुत्थे । अनि भोलिपल्ट साँझको ४ बजे उठ्थे । निद्रा खुल्ने समय महारानीहरु खुट्टा मिचिरहेका र सानो मसिनो स्वरमा गीत गाइरहेका हुन्थे । ब्युँझनेबित्तिकै उनलाई तात्तातो चिया चाहिन्थ्यो । राति सुत्नुअगाडि भन्थे कि निद्राबाट ब्युँझने समय मेरोसामु फलाना फलाना रानी उपस्थित हुनु। उनी आफूलाई मन पर्ने रानीको अनुहार देखेपछि बाँकी दिन शुभ हुन्छ भन्ने विश्वास गर्थे । साथै अघिल्लो दिन राजज्योतिष पण्डित करनचन्दसँग घण्टौं विमर्श गर्थे– भोलि कुन–कुन नाउँ भएका व्यक्तिसँग पहिलो भेटघाट गर्ने † राज्यका प्राइम मिनिष्टर सर बिहारीलाल, गृहमन्त्री पण्डित रामरतनलगायत अन्य मन्त्रीगण र अंगरक्षक एडी कांग महाराजा निद्राबाट ब्युँझने प्रतिक्षामा शयनकक्षबाहिर घण्टौंसम्म बस्थे। उनीहरुलाई बस्ने आज्ञा हुँदैनथ्यो, उभिएरै रहन्थे । राजाको दरबारको नाउँ थियो– ‘ऋषि कुटी ।’

महाराजा रनवीरको नास्ता खाने समय टेबुलमा एउटा स्याम्पेनको बोतल तयार पारिएको हुन्थ्यो । चारैतिर दरबारियाहरु उभिएर प्रतिक्षा गरिरहन्थे र जब महाराजाको सवारी हुन्थ्यो, सबैले एकैपटक अभिवादन गर्थे । महाराजाको मन प्रसन्न छ भने अभिवादनको जवाफ फर्काउँदैनथे नत्र नदेखेजस्तो गर्थे । अभिवादन फर्काएनन् भने सबैले बुझ्थे, ‘आज महाराजा खुशी छैनन् ।’ यसको अर्थ आज कुनै पनि काम हुँदैन भनेर बुझ्थे र त्यो दिन कुनै कागजात, फाइल पेश गर्दैनथे । डायनिङ कुर्सीमा बसिसकेपछि स्याम्पेन र चिया सँगसँगै पिउँथे । त्यसपछि नरिवलको तेलले शरीर मालिस गराउँथे । त्यसपछि फ्रान्सबाट झिकाइएको विभिन्नखाले अत्तर मिसाइएको पोखरीमा डुबुल्की मार्थे । नुहाईधुवाई पछि लुगा लगाएर बैठक कोठामा प्रवेश गर्थे । बैठक कोठामा पहिल्यै उनका मन पर्ने रानी डोरोथी, उनका छोराछोरी र केही दरबारिया उपस्थित हुन्थे । उनीहरुको बीचमा बसेर दुई–चार गिलास ब्राण्डी पिउँथे ।त्यसो त महाराजा रनवीर बहिरा थिए तर बोलिरहेका मान्छेले ओंठ चलाएकै भरमा कुरा बुझ्ने खालका थिए । दरबारमा दिनहुँ उपस्थित हुने र भेट्न आउनेसँग महाराज यसरी नै वार्तालाप गर्थे । रातको साढे एघार बजे खानाको समय हुन्थ्यो । खाना घण्टौं चल्थ्यो । खाइसकेपछि राज्यका केही अधिकृत र पाहुनाहरुसित बसेर तास खेल्थे । ब्रिज र बिलियार्ड पनि खेल्थे । हरेक दिन हजारौं रुपैयाँ हार्थे । यो खेलको समय बिहान ४ बजेसम्म चल्थ्यो । प्रायः घाम उदाएपछि खेल्न बन्द गर्थे । त्यस बेलासम्ममा महाराजाले पुगनपुग २५ गिलास ब्राण्डी (रक्सी) पिइसकेका हुन्थे । उनी त्यसैले खेलकै दौरान घरिघरी शौचालय पनि जान्थे । महाराजा दिनमा एक छाक खान्थे– डिनरमात्रै ।

राज्यमा ब्रिटिश शासकका प्रतिनिधि भाइसराय वा विशेष पाहुनाहरु आएका बेलामा भने उनको दिनचर्या पूरै परिवर्तन हुन्थ्यो । यसमा उनी साह्रै दुःखी बन्थे । पाहुनाहरुसँग शिकार खेल्न गएर प्रसन्न बन्न खोज्थे । चितुवाको शिकार गर्न अत्यन्तै रुचाउँथे । साथै पालेका चितुवालाई लडाएर तमाशा पनि हेर्थे । यहाँसम्म कि आफूले पालेका चितुवालाई जंगलमा लगेर जंगली चितुवासँग लड्न लगाउँथे । मृगको बथानमा चितुवालाई छोडिदिन्थे । चितुवालाई राम्रो तालिम दिइएको हुन्थ्यो, त्यसैले शिकारपछि ती चितुवा आफैं पिँजडामा पस्थे । ३ सय ६५ दिनमा १ सय ३० दिन महाराजा यसरी नै शिकारमा समय व्यतित गर्थे । बाँकी दिन अन्य खेल, तमाशा हेर्थे । महाराजलाई कुकुर पाल्ने पनि ठूलो शोख थियो । संसारका राम्रा–नराम्रा नश्लका कुकुर झिकाएर पाल्थे ।कहिलेकाहीं दिनचर्याको प्रतिकूल बिहान आठै बजे उठ्थे र नास्ता गरिसकेपछि जंगलतिर लाग्थे । हाँस, हरिण, मयूर आदिको शिकार गर्थे । उनी जाने जंगलमा धेरै प्रकारका चराचुरुंगी हुन्थे । मध्याह्न भएपछि दरबार फर्कन्थे । नुहाईधुवाई गर्थे । खाना खान्थे र एक घण्टा आराम गर्थे । त्यसपछि फेरि राज्यका हाकिम तथा पाहुनाहरुसँग शिकारमा जान्थे । त्यस्तो बेलामा शिकारबाट फर्कंदा राति ८ बजिसकेको हुन्थ्यो । अनि राति १२–१ बजेसम्म रक्सी खाएर बस्थे । भाइसराय तथा विशेष पाहुनाहरुसित भेटघाटको समय प्रायः दिउँसोको खाना खाने समयमा मात्र मिलाइएको हुन्थ्यो । चिकित्सकले बेलुकीको खाना नखान सल्लाह दिएको बहाना बनाउँथे । किनभने राति उनको २५ पेग ब्राण्डी पिउने समय थियो, त्यो बेला पाहुनाहरुसँग भेटघाट गरेर ‘शान्ति’ नष्ट गर्न चाहन्नथे ।महाराजाको अधिकांश समय सुत्न, रक्सी पिउन र शिकार खेल्नमै बित्थ्यो । राज्यको प्रशासन चलाउन समय नै हुन्नथ्यो । यसको बाबजुद भाइसरायको सिफारिसमा बेलायतका सम्राटबाट समय–समयमा ठुल्ठूला तक्मा, पद्वी उपाधि पाउँदै गए । ‘इण्डियन एम्पायरके नाइट कमाण्डर’ जस्तो उच्च उपाधि पाए । उनको विशेषता यो थियो कि राज्यको प्रशासनमा बिल्कुल हस्तक्षेप गर्दैनथे । जीवन मस्तले बिताउँथे । राज्य चलाउने सम्पूर्ण जिम्मेवारी चिफ मिनिष्टरको हुन्थ्यो, जो अंग्रेज भाइसरायको चाकर नै हुन्थे ।उनले सन् १९४७ मा गद्दीसीन भएको ६० औं वर्षगाँठ धुमधामसित मनाए । हिरक जयन्ती मनाएको पाँच महिनापछि सन् १९४८ को मार्च ३१ मा निधन भयो । त्यसबेला ६९ वर्षका थिए । फुलकियान वंशका कुनै पनि राजा–महाराजाले उनले जस्तै ६१ वर्ष शासन गरेका थिएनन् । उनीपछि छोरा राजवीर सिंह राजा भए । उनको सन् १९५६ मा मृत्यु भयो ।


Your Views
Related News