‘आहा! आज कस्तो राम्रो मौसम है?’ सँधै झैँ बिसाउने चौतारीमा घाँसको भारी बिसाउँदै बहिनी बोली। उनका आँखामा खुशीहरु छर्लङ देखिन्थे। हामीलाई फुलपाती र अष्टमीमा गाँउभरी गरिने पूजा र मार हान्ने दिनको रमिते बन्नलाई घाँस पुर्याउने चटारो भएको हुँदो हो बिसाइएकोे घाँसको भारी आजको हाम्रो चौथो थियो।प्रतिउत्तरमा दिदीले भनिन्–अब त दशैँ आयो नि त! मौसम यसै राम्रो हुन्छ नि। औंला तेस्र्याएर पारिपट्टिको गाँउमा देखाउँदै भनी उ त्यो खेतमा धान पाकेको याद गर त्यहाँ धान पाक्न लाग्दा यस्तै टन्टलापुर घाम लाग्छन्। दिँउसो अलिअलि गर्मी हुन्छ तर बिहान बेलुका अलिकता चिसो हुन्छ हो यस्तो मौसम अनि हरेक बर्षको यहि समयमा हाम्रोमा दशैँ आउँछ।’त्यही दिन विहान हाम्रो दशैँको कपडाको नाप काले दाइले लिएका थिए। उतिबेला हाम्रा अभिभावाकहरुको सक्रिय दृष्टिकोण हुँदो हो, त्यसैले त दशैँका लागि लुगा स्कुलको ड्रेस नै हुने गथ्र्यो। दशैँमा गाँउभरिका प्राय सबै केटाकेटीको जिउमा निलो सर्ट र कालो पाइन्ट वा फ्रक हुन्थ्यो। कसै कसैले मात्र अर्का खाले लुगा लाउँथे। कति पटक त त उनीहरुले लगाएको लुगाको नालिबेली उनीहरुलाई भन्दा हामीलाई बढी थाहा हुन्थ्यो।बिहान कपडा नाप्दा मैले काले दाइलाई सुटुक्क सटमा दुई वटा गोजी हाल्दिन भनेको थिएँ। सायद बच्चामा त्यसको महत्व बेग्लै हुन्थ्यो होला! काले दाइले आँखा तर्दै थिए, संभवत त्यो दिनको खान्की गतिलो भएन होला। काले दाइलाई खान्की राम्रो भएन भने लुगा बिगार्दिन्छन् भनेर उनलाई खुशी पार्ने जिम्मा आमाको हुन्थ्यो। काले दाइको चर्तिकला पनि गज्जबको हुन्थ्यो।कहिले मिसिनको प्वालमा धागो छिराउन मुस्किल परिरहेको हुन्थ्यो त कहिले मिसिनतिर तेलका थोपा हालिराका हुन्थे। हामी उनको काम हेरेर छक्क पथ्र्यौं अनि नयाँ कपडा आउने खुशी पनि।सबैको घरमा दशैँको जोहो पहिलेबाट नै भइसकेको हुन्थ्यो। यो वर्ष हाम्रोमा पालेको खसी गज्जबको थियो। करिब १२ धार्नीको हुँदो हो। दाजुभाइ मिलेर दशैँ आउन भन्दा एक महिना अघिबाट नै खसीलाई एक घोगा मकै सुटुक्क बढी खुवाउने गरेका थियौँ। सायद हाम्रो भन्दा अघि नै खसिको दशैँ आएको हुँदो हो।बुवाले एक घरी केरा माने गुरुङकोमा भन्नुभएको कुरा सुनेका थियौँ। यो पाली झप्री केरा मात्रै पाइयो भन्दै गर्दा आमाले बुधबारे बजारबाट तिन काँइयो थप्नुपर्छ भन्दा मन गदगद भयो। हुनसक्छ ती थप केराका काँइयोको हामी पनि केही न केही भागेदार हुने भए रै होला। हाम्रो दशैँ हामीलाई मात्र कहाँ आँउथ्यो र! हाम्रो घरलाई पनि दशैँ आउँथ्यो।

सायद वर्षमा एक पटक मात्र चम्किलो हुने मौका पाउँदो हो। रातो माटोले पोतिएका घरका भित्ताहरु अनि रेडियोमा प्रयोग भएका ब्याट्रीको कालोले टिलिक्क टल्काइएका झ्याल ढोकाहरुले दशैँ भित्र्याए जस्तो लाग्थ्यो। गाँउमा सप्तमी अघि नै सबैजसो ढिकीहरु बज्थे, सबैको पालो पालोमा चिउरा कुट्ने चलन थियो।हामी भन्दा ठूला दाईहरुले भलिबल खेल्ने चौरहरु सफा गरेका थिए र हरेक दिनको साँझ खेल्थे पनि। हामी साना केटाकेटी प्राय सबै ठाँउ र कार्यक्रमकोे दर्शक हुन्थ्यौँ नै। यो साल पनि हाम्रो पल्लो मूल घरको माथिल्लो तलामा जमरा राखेको थियो, आमाले हरेक दिन बिहान सफा लोटामा पानी भरेर जमरामा हाल्दा मन फुरुङ हुन्थ्यो। हामीलाई जमरा छोपेको थुन्चे छुन मनाही थियो। तर, आमाले थाहा नपाई सुटुक्क दिनमा एक पटक मैले जमरा हेर्ने र नाप्ने गरेको थिएँ। जति जमरा बढदै गयो उती खुशीका पलहरु थपिन्थे।कोही कोही दशैँका लागि बिदेशबाट क्यासेट घन्काँउँदै भरियासँग गाउँ आउँथे। कसै कसैले हामीलाई चकलेट पनि दिन्थे। चकलेट दिए पनि नदिए हामी उनीहरुको घरमा पुगेकै हुन्थ्यौँ। मलाइ भन्नलाई लाज छैन, मलाइ चाँहि ती विदेशीबाट चकलेटको खुब आश हुन्थ्यो।लाग्थ्यो दशैँ नै होला धेरै खसीको मासु खान पाउने, नयाँ लुगा लाउन पाउने, स्कुलको छुट्टीको सही ठाँउमा सदुपयोग हुने, अनि हर्सोल्लास र मनोरञ्जन हुने।  केही बेर चौतारीमा बिसाएपछि दिदीले नै हिँड अझै दुई–दुई भारी काट्न बाँकी छ भनिन्। मनमा रिस भए पनि खसी काटने दिनको समयका लागि हामी खट्नु नै थियो। हामी अघि लाग्यौँ अनि दिदी पछि।फुलपातीको दिन हाम्रो गाँउमा चार घरमा पूजा थियो। हामीले अघिल्दिन नै सवै दुई दिनको जोहो गरिसकेका थियौँ। फुलपाती र अष्टमीको दिन सबैको घरमा पालोपालो खसी काटे, खसी काटेपछि केटाकेटीलाई चिउरा र केरा खाजाका लागि दिने चलन थियो। अष्टमीको दिन चिउराले मेरो भुँडी फुलेर अस्टपस्ट भइसकेको थियो। खै ! अस्टपस्ट नहुन्जेल नखाए दशैँ आएको जस्तो हुने थिएन होला।आज कै दिन हाम्रो पनि खसी काट्ने दिन, हाम्रो पनि घरमा मासुका थाक भयो। एक वर्षपछि त्यति धेरै मासु घरमा भित्रिएको भएर होला मन एकदमै खुशी थियो। बुवाले ठूलो स्वरमा भन्नुभयो– कान यी दुई भाइलाई दिइहाल।’ नभन्दै हामीले खसीको कान पायौँ। हाम्रोमा सबैभन्दा बढी खसीलाई घाँस काट्नेको भागमा कान दिने चलन थियो र यसपालीको कानको भागेदार म र माइलो भयौँ।अलि टाढाबाट आउने पाहुनाका लागि आमाले मासु पक्कु लाउनुभयो अनि आर्मी भिनाजुका लागि बुवाले अलिकति सुकुटी सुकाउनु भएको थियो। काले दाइको भागमा दशैँको पुच्छर अगेनोमाथि पाटले बाँधेर झुन्ड्याइएको थियो। लाग्थ्यो, गाँउभरिको सबै पुच्छर जम्मा गर्दा दशैँमा काले दाइ जति मासुका धनी कोही हुँदैन थिए होलान्।

सायद अगेनो माथि धुँवामा झुण्डिएका हरेक सुकुटीका त्यान्द्राहरुमा घाँस काट्दा हाम्रो हातमा उठेको ठेला अनि भारी बोक्दा आएको पसिनाको अंश भएको हुँदो हो। त्यसैले कोसेलीका लागि झुन्ड्याएको सुकुटी हेर्दा मन पोल्थ्यो। तर, राम्रोसँग लुगा सिलाई दिने भएर होला काले दाइलाई दिएको मासुमा कुनै लोभ हुने थिएन।आज टीकाको दिन। मलाइ जति टीका लगाउने हतार कसैलाई थिएन होला। टीकाको साइत हुनुभन्दा करिब २ घण्टा अघि तयार भएको थिएँ म। दशैँको दिन बिहानै नुहाएर नयाँ स्कुल ड्रेस र हात्तीछाप चप्पलमा तयारी हुँदा संभवत संसारको सबैभन्दा सुकिलो र राम्रो म नै हुँ जस्तो लागेको थियो।दिदीले बुट्टावाल कुर्ता लगाँउदा सँधै चुडेल भन्दै जिस्क्याउने र त्यस्तै देखिने दिदी पनि हिरोइन भन्दा कम देखिएकी थिइन्। केटाकेटी बुद्धि हुँदो हो। त्यसैले त आजको दिन म भन्दा राम्रो यो संसारमा कोही छैन जस्तो लागेको थियो। अझ टीका र जमरा लगाएपछि अझै छाँटिएको जस्तो महशुस भएको थियो मलाइ।हाम्रोमा बुवाले सँधै दशैँका लागि नयाँ नोटको जोहो गरेर हामीलाई पनि दक्षिणा दिनुहुन्थ्यो। केटाहरुलाई प्राय दक्षिण दिने चलन थिएन तर हाम्रो बुवाले र गाउँमा २–४ जनाले सबैलाई धेर थोरे दक्षिणा दिनुहुन्थ्यो। कुनै कुनै घरमा हामीलाई दक्षिणा नदिने भएर कहिले काँही आमालाई दुखेसो पनि पोख्थ्यौं।एक हप्ता अघि बुवाले चिनी ल्याउनु भएको प्लाष्टिक दशैँको चिउरा बोक्न दाइबाट मैले हात पारेको थिएँ। हाम्रोमा हरेक घरमा दशैँको प्रसादको रुपमा चिउरा, केरा दिने र आ–आफ्नो भाग बोक्ने चलन थियो। चिउरामा भन्दा मन दक्षिणामा नै केन्द्रित हुने गथ्र्यो। कसैलाई त पैसा नदिए खुट्टा नै ढोग्दिन भन्न मन लागेको थियो तर भन्न भने कसैलाई सकिँन। गाउँमा दक्षिणा कम भएर होला आज टीका कै दिनमा मामाघर कुद्न मन थियो। तर मौका मिलेन, आमा दाइ र दिदी पहिलो दिन अनि हामी दोश्रो दिनमा जाने निर्णय भयो।अन्तत गन्ती गर्ने समय आयो। यो पाली मेरो चार कुरुवा चिउरा अनि सतसठ्ठी रुपैयाँ दाम भयो। उठेको दक्षिणाले तीन वटा चल्ला किनेँ अनि ७ रुपैयाँ नगद बाँकी रह्यो। प्राय गाउँघरमा पेवा पाल्ने चलन भएर होला मैले यो वर्षको दक्षिणा कुखुरामा लगानी गरेँ।आजभोलि दशैँको समयमा हरेक गल्लीमा मैले देखेको कुखुराहरुमा म मेरो उ बेला संकलित दक्षिणाहरु देख्छु। उ बेलाको खुशी देख्छु, अनि सम्झन्छु त्यो दशैँ। उतिबेलाको दशैँ, उतिबेलाको हर्सोउल्लास, रौनक, हरेक दशैँमा अभाव भएको महशुस हुन्छ। अहिले जति बिलासिलताका बस्तुहरु साथमा महँगा कपडा लगाए पनि त्यो स्कुल ड्रेस जत्तिको दशैँको पहिरन र उ बेलामा हुने खुशी म भएको पाउँदिन।बद्लिँदो समय र समाजले गर्दा होला, उ बेला लोभिने खसीको कान भन्दा बढी आकांक्षाहरु भएर होला, दक्षिणा भन्दा पैसाको महत्व बढी भएर होला आजभोलिको दशैँ दशैँ जस्तो लाग्दैन। समय खराब भएरै होला अहिले मसँग भएका हजारौँ प्लाष्टिकका झोलाहरुमध्ये कुनै एउटा पनि झोलाको चिउरा बोक्ने सामथ्र्य छैन जस्तो लाग्छ।हजारौँ घरी केराको थुप्रोमा कुनै पनि कोसा केरा उ बेलाको दशैँको केरा जस्तो भेट्दिन म। उ बेलाको दशैँ अभाव सहितको भय पनि त्यसमा खुसीको मात्रा बढी थियो सायद त्यो खुशी अनि त्यो दशैँ अब कहिले आउने छैन होला। त्यो बालापनमा मनाइएको दशैँ फेरि एकपटक त्यस्तैगरी मनाउन पाउने भइदिएको भए दशैँ दशैँ हुन्थ्यो होला।


Your Views
Related News