छाती दुखेर दिल्लीस्थित अस्पताल पुगेका भारतका लिजेन्डरी क्रिकेटर कपिल देवको मुटुको शल्यक्रिया गरिएको छ । अस्पतालद्वारा जारी विज्ञप्तिमा ६१ वर्षीय देवलाई शुक्रबार अस्पताल भर्ना गरिएको र अहिले उनको अवस्था स्थिर रहेको जानकारी दिइएको छ ।देव सन् १९८३ को विश्वविजेता भारतीय टोलीका कप्तान थिए । उनलाई सन् २००२ मा विस्डेनले शताब्दीको भारतीय क्रिकेटरको उपाधि दिएको थियो । मध्यक्रमका ब्याट्सम्यान र फास्टबलर रहेका देवलाई क्रिकेटका महान् अलराउन्डरमध्ये एक मानिन्छ ।उनले टेस्ट क्रिकेटमा ४ सयभन्दा बढी विकेट लिनुका साथै ५ हजारभन्दा बढी रन बनाएका छन् । उनले टेस्ट क्रिकेटमा ४३४ विकेट लिएका छन् भने एक दिवसीय खेलमा २५३ विकेट लिएका छन् ।टेस्ट क्रिकेटमा उनले ८ शतक र २७ अर्धशतकसहित ५ हजार २४८ रन बनाएका छन् भने एक दिवसीय खेलमा उनले ३ हजार ७८३ रन बनाएका छन् । उनको सर्वोच्च स्कोर १७३ रनको रहेको छ ।

READ MORE NEWS

दसैंबजारमा कोरोनाको असर : गाउँमा खसी बिकेन, शहरमा व्यापार जागेन

८ कात्तिक, काठमाडौं । आज दसैंको महाअष्टमी लागिसकेको छ । मानिसहरुका घरघरमा खसी काटेर दूर्गापूजा गर्ने आज महत्वपूर्ण दिन हो ।  शहर बजारमा समेत मानिसका आँगनमा कराएको सुनिने खसीको आवाज भोलिदेखि सुन्न छाडिने छ ।तर, यसवर्ष खसीको ब्यापार गतवर्षको दसैंमा जस्तो भएन । कोरोनाका कारण शहरमा खसीबोका धेरै भित्रिएनन् । गाउँमा पनि कतिपय किसानका खोरमा रहेका खसी नबिकेको गुनासो सुनियो ।सुर्खेतको बराह ताल गाउँपालिकी सुजाता कँडेलको कृषि फर्ममा घटस्थापना लाग्दासम्म दसैंका लागि बिक्री गर्न तयार २० भन्दा बढी खसी थिए । अघिल्ला वर्षहरुमा त्यतिबेलासम्म उनको फर्म रित्तो भइसक्थ्यो । तर, गत वर्षजस्तो खसी खोज्दै व्यपारीहरु यस वर्ष फर्ममा नआएको सुजाता बताउँछिन् ।गत वर्ष जिउँदो खसी प्रतिकिलो पाँच सय ५० रुपैयाँभन्दा धेरैमा बिक्री भएको भए पनि यसपटक त्यतिमा बेच्न नसकिने उनको भनाइ छ । ‘आएका केही व्यापारीले कम मूल्य दिएका छन्,’ सुजाताले भनिन् । मेहनत गरेर उत्पादन गरेको वस्तु बिक्री नहुँदा नमज्जा लाग्ने उनले सुनाइन्।भोजपुरको पौवादुङमा गाउँपालिका तिवारीभञ्ज्याङमा सिंहदेवी कृषि तथा पशुपान फर्म सञ्चालन गर्ने डम्बर खनालको व्यथा पनि उस्तै छ । दसैंको मुखैमा पनि खसी बोकाको ब्यापारमा उत्साह नआएको उनले बताए ।बोयर र लोकल खसी फर्ममा पाल्दै आएका खनाल यस वर्ष कोभिडले कृषक पनि मारमा परेको बताउँछन् । ‘यसपालि एकदमै थोरै ब्यापारी गाउँ पसेका छन्, आएकाहरुले पनि कोभिडको कारण देखाएर सकेसम्म सस्तोमा खसी किन्न खोजे।’ खनालले भने ।गत वर्ष दसैंमा तराईतिर खसी बिक्री गर्ने गरिएकोमा यसपटक पहाडमा बल्ल तल्ल १० वटा खसी बिक्री गर्न सकिएको उनको अनुभव छ । कोरोनाका कारण दसैं रमाइलो हुन्छ भन्ने माहोल नै नबनेको र व्यापारीहरुमा उत्साह नहुँदा कृषकसमेत अप्ठ्यारोमा परेको खनाल बताउँछन् । कोभिडले दशंैको चहल–पहल नहुँदा गोठमा भएकै खसी बिक्री गरेर दसैं मनाउने तयारी गरिरहेकाहरु अहिले मारमा परेका छन् ।

व्यापारी भन्छन मासु नै बिक्दैन

कोरोना र लकडाउनका कारण खसीको मासुमा उपभोक्ताको आकर्षण घटेको मासु व्यापारीहरु बताउँछन् । खसीको मासुको बढ्दो मूल्य र मानिसले रोजगारी गुमाएका कारण यस वर्षको दसैंमा खसीको किनबेच प्रभावित हुने राष्ट्रिय मासु व्यवसायी संघका अध्यक्ष रमेश खड्गी बताउँछन् ।‘किलोको १३ सयमा मासु बिक्री गर्नु परेको छ, उपभोक्ता मासु किन्न नै आउँदैनन्, यही तरिकाले यसवर्षको दसैं दसैं जस्तो हुने छैन्,’ अध्यक्ष खड्गीले भने ।सामान्य अवस्थामा काठमाडौंमा दैनिक १२ सय खसी काटिने गरेकोमा लकडाउन र निषेधाज्ञाका कारण त्यो आधाभन्दा कम भएको उनले बताए । मानिसको खर्च गर्न सक्ने क्षमता कमजोर हुँदा कति पसललाई खसीको मासु बिकाउन समेत मुश्किल भएको उनले सुनाए ।कोभिडकै कारणले दसैंमा चहल पहल नहुने देखिएकाले खसी किन्न गाउँ नगएको संघका उपाध्यक्ष उमेश खड्गी बताउँछन् । ‘गत वर्ष यतिबेला खसी खोज्न पहाड तथा तराई पुगिन्थ्यो, तर यस वर्ष गएका छैनौँ, किसान वा साना व्यापारीले जे जस्तो ल्याउँछन् त्यसैबाट दसैं चल्छ,’ उपाध्यक्ष खड्गीले भने । कोभिडका कारण मानिसले मासुको खपत घटाउँदा धेरै मासु पसलहरु बन्द हुन पुगेको पनि उनले बताए ।दसैंका लागि काठमाडौं उपत्यकामा बिक्री गर्न सरकारी स्वामित्वको खाद्य व्यवस्था तथा व्यापार कम्पनीले ल्याउने च्यांग्रा र खसी बोकाको संख्या गत वर्षभन्दा घटाएको छ । यस वर्षको दसैंका लागि दुई हजार मात्रै खसी बोका तथा च्यांग्रा ल्याउने निर्णय भएको उनको भनाइ छ ।

काठमाडौंमा मासुको माग

दसैंमा धेरै मानिस उपत्यकाबाहिर जाने र कोभिडमा मासु बिक्री नभएको कारण देखाएर यस वर्ष सरकार तथा नीजी क्षेत्रका व्यवसायीहरुले खसीको जोरजाममा खासै उत्साह देखाएनन् । यसपटक विगतमा जस्तो कोभिडका कारण काठमाडौंबाट बाहिरीनेहरु भने धेरै देखिएनन् ।वाणिज्य विभागले गरेको अनुमान अनुसार उपत्यकामा सामान्य अवस्थामा दैनिक तीनदेखि तीन लाख ५० हजार किलो कुखुराको मासु खपत हुनेको गरेको छ ।यस्तै १२ सय गोटा खसी दैनिक मासुको प्रयोजनकालागि काटिने पनि विभागले जनाएको छ । आठ सयको संख्यामा राँगा र भैसी, छ सय गोटा बंगुर र पाँच हजार किलो माछा उपत्यकामा दैनिक खपत हुने गरेको छ । तर यसलाई पनि कोभिडले ५० प्रतिशत कममा खुम्च्याई दिएको व्यवसायीहरु बताउँछन् । कोभिडकै कारण बढेको अन्योलले मासु नबिक्ने आकलनमा व्यापारीहरुले कृषकको खसी किनेनन्।

खेर जाँदै सयपत्री फूल

खेर जाँदै सयपत्री फूल

काठमाडौं । काठमाडौं आसपासका क्षेत्रमा यतिबेला किसानले लगाएको सयपत्री फूल फूलिसकेको छ ।यस वर्ष अधिकमास परेका कारण दसैँ-तिहार करिब एक महिना पछाडि सरेको छ । किसानले तिहारका लागि भन्दै फूल खेती गर्दै आएका छन् । तर यसपटक फूल फूल्ने समयभन्दा तिहार पछाडि छ । जसका कारण तिहार आइपुग्दासम्म सयपत्री फूल सुकिसक्ने देखिएको छ ।फूलको माग हुने समयमा फूल फूलेर पनि सुकिसक्ने भएपछि किसानहरु चिन्तित देखिएका छन् । दसैंको समयमा फूल प्रयोग र बिक्री कम हुन्छ । काठमाडौं इचङ्गुनारायण क्षेत्रका किसानहरुले वर्षौंदेखि फूल खेती गर्दै आएका छन् । यस क्षेत्रका किसानले तिहारलक्षित गरेर उत्पादन गरेको फूल यस वर्ष त्यसै खेर जाने भएको छ । दसैँमा फूलको प्रयोग कम हुने र तिहारसम्म यो फूल रहन नसक्ने भएपछि किसानको आम्दानीसमेत घट्ने भएको छ । अहिले फूल ढकमक्क फूलिसकेको छ र बढीमा एक सातासम्म मात्र बोटमा रहन सक्छ । टिपिसकेको फूल बढीमा तीन दिन मात्र रहन सक्छ । फूलबाट हुने आम्दानी घटेपछि तिहार कसरी मनाउने भन्ने अप्ठ्यारो किसानहरुलाई परेको छ । इचङ्गु क्षेत्रका किसानहरुले फूलको माला, फूलको गुच्छा र थुँगा बिक्री गर्दै आएका छन् । अघिल्लो वर्ष एक गुच्छा फूलको १५ रुपैयाँको दरले बिक्री गरेका किसानले यो वर्ष ५ रुपैयाँले बेच्छुभन्दा पनि ग्राहक पाउन नसकेको गुनासो गरे । काठमाडौं उपत्यकामा तिहारको समयमा करिब २५ लाख फूलका माला खपत हुने गरेको छ । यसबाहेक काठमाडौंका साना-ठूला मन्दिरहरुमा चाडपर्वबाहेक दिनहुँ हुने नित्य पूजा र दर्शनार्थीले प्रयोग गर्ने फूल उपत्यकाको काँठ क्षेत्रबाट आउँदछ ।यस वर्ष कोरोना संक्रमणका कारण अधिकांश मठ-मन्दिर दर्शनार्थीका लागि बन्द हुँदा पनि फूलको व्यापारमा असर परेको छ । इचङ्गु क्षेत्रसँगै काठमाडौंको दक्षिणकाली छैमले क्षेत्रबाट पनि फूल आउने गर्छ । यस क्षेत्रको किसानको वैकल्पिक आयको स्रोत पनि फूल हो । किसानहरुले सयपत्री, मखमली र गोदावरी फूल उत्पादन गर्दै आएका छन् । व्यावसायिक रुपमा फूल खेती गर्दै आएका किसानहरु पनि फूल बिक्री नभएपछि चिन्तित छन् ।

 


Your Views
Related News