प्लाज्मा दान गर्न झापा रेडक्रसको आह्वान

झापा ।
विभिन्न अस्पतालमा उपचार गरिरहेका कोभिड–१९ का सङ्क्रमितहरुको अवस्था गम्भीर रहेको जनाउँदै नेपाल रेडक्रस सोसाइटी झापा शाखाले प्लाज्मा दान गर्न आह्वान गरेको छ । शाखाका सभापति लोकराज ढकालले विराटनगरको कोशी, विराट, नोबेल अस्पताल र धरानस्थित विपी मेमोरियल अस्पतालमा उपचाररत १३ सङ्क्रमितको अवस्था गम्भीर बनेको कारण प्लाज्मा दानका लागि आह्वान गर्नुभएको हो ।उहाँले कोभिडका सङ्क्रमितहरु निको भएर आएकाले प्लाज्मा दान गर्न सक्ने जनाउँदै रेडक्रसको विर्तामोड शाखामा रहेको प्लाज्मा बैंकमा आएर निःशुल्क दान गर्न आग्रह गर्नुभयो । “सङ्क्रमितको सङ्ख्या बढेसँगै कतिपय गम्भीर अवस्थामा आइसियूमा हुनुहुन्छ”, उहाँले भन्नुभयो, “चार जनालाई तत्काल प्लाज्मा चाहियो भनेर बिरामीका आफन्तले मागिरहनुभएको छ । उहाँहरुको जीवन बचाउन कोरोना जितेकालाई अपील गर्दछौँ ।’उहाँले हालसम्म आठ जनालाई प्लाज्मा बैंकमा जम्मा भएको प्लाज्मा निःशुल्क प्रदान गरेको बताउनुभयो । बैंकमा चार पोका प्लाज्मा मौज्दात रहे पनि ब्लड ग्रुप नमिलेका कारण दिन नसकेको बताउनुभयो । सभापति ढकालले चितवन, धरान र मोरङमा रहेका बैंकबाट समेत प्लाज्मा ल्याएर सङ्क्रमितको उपचारमा सेवा दिइरहेको बताउनुभयो । जिल्लामा हालसम्म १० जनाले प्लाज्मा दान गरेका छन् ।जिल्लामा कूल सङ्क्रमित एक हजार ६५१ जनामध्ये एक हजार १०० जना निको भइसकेका छन् । होम आइसोलेसनमा ३८८ जना रहेका छन् । सङ्क्रमणबाट मुक्त भएको २० दिनपछि प्लाज्मा दान गर्न मिल्ने जिल्ला स्वास्थ्य कार्यालय झापाका फोकल पर्सन जीवन चौलागाईले बताउनुभयो ।